चुनाव प्रचार-प्रसारको क्रममा राजनीतिक दल र व्यक्तिमाथि लाञ्छना लगाउने गतिविधि नगर्न गृह मन्त्रालयले ध्यानाकर्षण गराएको छ। आइतबार बसेको गृह मन्त्रालयको बैठकले त्यस्ता गतिविधिले निर्वाचनको वातावरणमा खलल पुर्याउने भन्दै कारबाही गर्ने चेतावनी दिएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको नियमित बैठकले निर्वाचनविरोधी गतिविधि गर्ने, अर्कालाई लाञ्छना लगाउने, जुलुस निकाल्ने, टायर बाल्नेजस्ता गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता कार्य दण्डनीय भएकाले सचेत गराएको छ। ‘नेपालको संविधानमा सार्वसभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्यलाई कानुनद्वारा निषेध गरेको छ,’ गृह मन्त्रालयका सहायक प्रवक्ता रमा आचार्य भन्छिन्, ‘साथै, मुलुकी अपराध संहिता, २०७४ को दफा ७० मा कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक तथा प्रादेशिक अखण्डा वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नगरेको अफवाह फैलाउन, प्रचार-प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन भनी व्यवस्था गरेको छ ।’