कप्तान रोहितकुमार पौडेल र आसिफ सेखले अर्धशतकी इनिङ्सको योगदानमा शनिबार एपिएफले जय ट्रफी पुरुष इलिट द्विदिवसीय क्रिकेटमा बागमती प्रदेशलाई आठ विकेटले हराएको छ । मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धाको दोस्रो दिन शनिबार एक सय ३७ रनको लक्ष्य एपिएफले दोस्रो इनिङ्समा २१.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । जितसँगै एपिएफले २६.५ र बागमतीले १२ अंक जोडेका छन् ।
एपिएफको जितमा कप्तान रोहितले ५६ रनको नटआउट योगदान दिए । आसिफले ५९ बलमा ५९ रन बनाएका थिए । म्यान अफ दी म्याच रोहितले पहिलो इनिङ्समा ८७ रन तथा दुई विकेट लिएका थिए । उनले दोस्रो इनिङ्समा २८ रन खर्चेर दुई विकेट हात पारेका थिए । उनले दोस्रो इनिङ्समा ४३ बलमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । एपिएफका लागि लोकेश बमले विजयी चौका प्रहार गरेका थिए ।
यसअघि बागमतीले पहिलो इनिङ्स २०७–९ को स्थितिमा समाप्त गरेको थियो । प्रत्युत्तरमा एपिएफले पहिलो इनिङ्समा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो । दोस्रो इनिङ्समा बागमती १६८ रनमै अलआउट हुँदा एपिएफले १३७ रनको सहज लक्ष्य प्राप्त गर्यो । बागमती शुक्रबार पहिलो दिनको समाप्तिमा ३१ रनले पछाडि रहेको थियो । बागमतीले शनिबार त्यही अवस्थाबाट ब्याटिङ थालेको गर्यो । बागमतीका लागि दोस्रो इनिङमा कप्तान ईशान पान्डेले सर्वाधिक ८४ रनको योगदान दिए । उनले १०७ बलमा १२ चौका र दुई छक्का प्रहार गरेका थिए । यसैगरी, शुभ कंसाकारले २६ रन र आशुतोष घिरैयाले २१ रन बनाए ।
इर्सादको पाँच विकेट
बागमतीको दोस्रो इनिङ्स कमजोर हुनुपछाडि एपिएफका इर्साद अहमदले घातक बलिङ गरेका थिए । उनले सर्वाधिक पाँच विकेट हात पारे । इर्सादले पहिलो इनिङ्समा तीन विकेट लिएका थिए । एपिएफका अभिशेष गौतम र रोहित पौडेलले दोस्रो इनिङ्समा समान दुई विकेट लिए । एपिएफ पहिलो इनिङ्समा ४९.२ ओभरमा दुई सय ३९ रनमा अलआउट हुँदै ३२ रनको अग्रता लिएको थियो । बागमतीका लागि रिजनले तीन विकेट हात पारे ।
पुलिसमाथि आर्मी नौ विकेटले विजयी
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले जय ट्रफी क्रिकेटमा साबिक विजेता नेपाल पुलिस क्लबलाई नौ विकेट हराएको छ । पुलिसले आर्मीलाई जितका लागि झिनो ४२ रनको लक्ष्य दिएको थियो । आर्मीले ५.१ ओभरमा एक विकेटको क्षतिमा जित निकाल्यो । जितसँगै आर्मीले २४ र पुलिसले १० अंक जोडेको छ ।आर्मीको जितमा कुशल मल्लले २४ बलमा ४२ रनको योगदान दिएका थिए । उनले ६ चौका र दुई छक्का प्रहार गरेका थिए । पहिलो इनिङ्समा पुलिसले १८७–८ को स्थितिमा समाप्त गरेको थियो । प्रत्युत्तरमा आर्मीले २३४–९ को अवस्थामा इनिङ्स समाप्त गरी ४७ रनको अग्रता लियो । पुलिस दोस्रो इनिङ्समा ३८.२ ओभरमा ८८ रनमा अलआउट हुँदा पुलिसले जितका लागि ४२ रनको लक्ष्य पायो ।
आर्मीका बसिर अहमदले नौ ओभरमा १६ रन खर्चेर चार विकेट लिए । कुशल मल्लले चार ओभरमा तीन विकेट लिन पाँच रन खर्चिएका थिए । पुलिस ८८ रनमा अलआउट भएपछि ४१ रनको अग्रता बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४८ रन बनाए । आर्मीको दोस्रो इनिङ्समा भीम सार्की १०५ रनको शतकीय योगदान दिएका थिए । उनले एक सय १३ बलमा १४ चौका र एक छक्का प्रहार गरेका थिए । पुलिसका लागि सागर ढकालले ६ विकेट लिएका थिए ।