रौतहट सदरमुकाम गौरमा दुई समुदायबिच भएको विवाद झडपको स्थितिमा पुगेपछि चुनावका वेला सामाजिक सद्भाव बिथोलिने चिन्ता बढेको छ । स्थितिलाई सामान्य अवस्थामै फर्काउन जिल्ला प्रशासन कार्यालयले गौरमा कर्फ्यु लगाएको छ भने सडकमा सेनासमेत परिचालन गरिएको छ । सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमसेदलाई पक्राउसमेत गरेको छ । शेख गौर नगरपालिका– ६ का पूर्वअध्यक्षसमेत हुन् ।
बिहीबार राति पौने १० बजेतिर विवाहको जन्ती बौधिमाई नगरपालिका– ९, सरमुजवाबाट गौर– ६, सबगढातर्फ मस्जिदको बाटो हुँदै बाजा बजाउँदै जानेक्रममा स्थानीय दुई समुदायबिच विवाद भएको थियो । त्यतिवेलै ढुंगा हानाहान हुँदा ६ जना घाइते भएका थिए । भोलिपल्ट शुक्रबार दिनभर पनि झडप भएपछि प्रशासनले दुवै पक्षलाई राखेर ६ बुँदे सहमति गराएको थियो । तर, शनिबार पनि बिहानैबाट पुनः झडप निम्तिएपछि प्रशासनले कफ्र्यु लगाएको हो ।
सद्भाव बिथोल्न जमसेदले भूमिका खेलेका केही प्रमाण भेटिएपछि
उनलाई घरबाटै प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको छ । शनिबार कर्फ्युअघिसम्म झडपमा दुई प्रहरीसहित आठजना घाइते भएको तथा सात मोटरसाइकल र एक जिप आगजनीबाट नष्ट भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । झडप नियन्त्रणमा लिन प्रहरीले ५० थानभन्दा बढी अश्रुग्यास र दर्जनौँ राउन्ड हवाई फायर गरेको थियो । ‘अवस्था थप नबिग्रियोस् भनेर कर्फ्यु जारी गरेका छौँ,’ प्रजिअ भुसालले भने, ‘व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको छ ।’
मधेशमा सुरक्षा चुनौती बढेको निष्कर्ष
एआइजी उमाप्रसाद चतुर्वेदीलाई समन्वयको जिम्मेवारी
केन्द्रीय सुरक्षा समितिको शनिबारको बैठकले सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेसँगै गृहले मधेशमा समन्वय गर्न एआइजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय गरेको छ । चतुर्वेदीले चुनाव अवधिभर सुरक्षा संयन्त्रबिच समन्वय गर्ने, आवश्यक सूचना संकलन गर्ने र सोहीअनुसार रणनीति बनाएर काम गर्नेछन् । चतुर्वेदी मधेशलाई बुझेका सुरक्षा अधिकारी मानिन्छन् ।