शुक्रबार १० बजेसम्मका १० मुख्य समाचार

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारलाई बैंक खाता खोल्न ढिलाइ नगर्न आग्रह

निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरूलाई बैंक खाता खोल्ने कार्यमा ढिलाइ नगर्न  निर्देशन दिएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचारप्रसारसम्बन्धी सम्पूर्ण खर्च अनिवार्य रूपमा छुट्टै बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी उम्मेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक बिदाका कारण केही उम्मेदवारलाई खाता खोल्न असहज भएको हुन सक्ने उल्लेख गर्दै अब यसलाई थप ढिलाइ नगर्न आग्रह गरिन्। उनले उम्मेदवारलाई सहज सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूसँग पनि आयोगले समन्वय गरिसकेको जानकारी दिइन्।

बागी उम्मेदवारलाई कारबाही गर्ने नेपाली कांग्रेसको तयारी

नेपाली कांग्रेसले बागी उम्मेदवारी दिने नेता–कार्यकर्तालाई कारबाहीको तयारी गरेको छ। शुक्रबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा यससम्बन्धी छलफल भएको छ । 

समितिका सभापति तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, उनीहरूका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासनविपरीतका क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

झन्डा जलाउने रास्वपाको चरित्र होइन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको झन्डा जलाउने जोकोेही भए पनि कारबाही हुने बताएका छन् ।

दाङको घोराहीमा शुक्रबार भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले रास्वपाको कोही–कसैले झन्डा जलाएको भए पनि कारबाही हुने बताएका हुन् । ‘झन्डा जलाउने रास्वपाको चरित्र होइन,’ उनले भनेका छन्, ‘यदि रास्वपाको कोही कसैले झन्डा जलाएको रहेछ भने पनि कारबाही हुन्छ ।’

तर, उनले त्यो कार्यमा घुसपैठ भएको हुन सक्ने आशंका गरेका छन् । ‘आफैँ घुसपैठ गरेको हो भने होसियार, काँक्रो खाएर बियाँ टाँसेको हो भने होसियार,’ उनले भने, ‘बिथाेल्न पाइने रहेछ भन्ने लागेर आँखा चम्काएको रहेछ भने नचम्काए हुन्छ ।’

‘हिमाली जिल्लामा मौसम प्रतिकूलताको पूर्वानुमान नगरिएकाले २१ फागुनमै निर्वाचन’

प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेश पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएकी छिन्। मुस्ताङ र कास्की पुगेर उनले शुक्रबार ब्रिफिङ लिएकी हुन्। 

सुरक्षा र मौसमले निर्वाचनमा समस्या नभएको सरकारी अधिकारीहरूले उनलाई जानकारी गराएका छन् । हाल मौसम अनुकूल रहेको र मौसमविद्हरूले प्रतिकूलताको पूर्वानुमान नगरेकाले तोकिएको मिति फागुन २१ गते एकै दिन निर्वाचन सम्पन्न गर्न सकिने ब्रिफिङका क्रममा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । 

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विवादमुक्त रूपमा सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी तथा सुरक्षा निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।  राष्ट्रलाई निकास दिने माध्यमका रूपमा यस निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएर सबैले मिलेर दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो।

सिराहामा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक पक्राउ

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– ५, औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एकजना  पक्राउ परेका छन् ।

बरियारपट्टी बजारबाट हुलाकी सडकमा पर्ने दरहिया चोक हुँदै स.१० प ४०५ नम्बरको मेटरसाइकल चढेर आइरहेका बरियारपट्टी गाउँपालिका– ३ शिवनगर गाउँका करिब २१ वर्षीय सञ्जीवकुमार यादवलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने सातचालक नागढुंगाबाट पक्राउ

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने सातजना पक्राउ परेका छन्। काठमाडौँको नागढुंगामा शुक्रबार गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने सातजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । जसमा हाइस चालक तीनजना, बसचालक दुईजना, ट्रकचालक एकजना र पिकअप भ्यानचालक एकजना रहेका छन् । 

निर्वाचनका लागि मधेशमा चारवटै सुरक्षा निकायबाट ६० हजारभन्दा बढी प्ररिचालन

आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि मधेश प्रदेशमा ६० हजार प्रहरी खटाइने भएको छ ।

मधेशको आठवटै जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी ६० हजारभन्दा वढी सुरक्षाकर्मीहरू परिचालन गरिने भएको छ। 

रास्वपाको वाचापत्रले युवा अपेक्षामा सानो आशा जगायो : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले हालको निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेको घोषणापत्रहरूको गुणस्तर विगतको तुलनामा वृद्धि भएको बताएका छन्।

उनले भनेका छन्– विशेष गरी युवाहरूको बढ्दो आकांक्षालाई सम्बोधन गर्ने दृष्टिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्र अपेक्षाअनुसार संक्षिप्त तर प्रभावकारी भएको देखिन्छ।

एमालेको झन्डा जलाएको आरोपमा एकजना पक्राउ

दाङको तुलसीपुरमा एमालेको झन्डा जलाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार झन्डा जलाएको आरोपमा शुक्रबार तुलसीपुर– ७, कालाखोलानिवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको हो । 

प्रधानमन्त्री कार्कीले गरिन् मुक्तिनाथको दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले यहाँको बारागुङ मुक्तिक्षेत्र १ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । 

नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् । 

सुझावित समाचार