लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री तिमिल्सिनाको आचारसंहिताविपरीत विद्यालयमा चुनावी प्रचारप्रसार

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आचारसंहिताविपरीत विद्यालयमा चुनावी प्रचारप्रसार गरेका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ रहेको चुरे माध्यमिक विद्यालयमा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आचारसंहिताविपरीत विद्यालयमा चुनावी प्रचारप्रसार गरेका हुन् । 

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको आयोजनामा भएको प्रजातन्त्र दिवसको अवसरमा विद्यार्थी तथा युवाकेन्द्रित चुनावी अन्तर्क्रिया कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार किशोरसिंह राठोरको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट, ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालसमेत सहभागी थिए । 

निर्वाचन आचारसंहिता, २०८२ अनुसार स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा र भेला गर्न नहुने व्यवस्था रहेको छ ।  
ठाकुरबाबा नगरपालिकाकी उपप्रमख विना भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाट विद्यालयपरिसरमा विद्यार्थीलाई  प्रयोग गरेर गरिएको गतिविधि शोभनीय नभएको धारणा व्यक्त गरिन् । उनले ठाकुरबाबा नगरपालिकाभित्र रहेका सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षकलाई विद्यालयपरिसरमा कुनै पनि चुनावी गतिविधि नगराउन निर्देशनसमेत दिएकी छिन् । 

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले नेपाल विद्यार्थी संघका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले बोलाएको हुँदा आफू गएको बताए  । उनले भने, ‘नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा विद्यार्थी साथीहरूले बिदाकाे दिन भएकोले आजको समयमा  विद्यार्थी र युवाहरू प्रविधिसँग जोडिनुपर्छ भन्ने विषयमा बोल्नका लागि बोलाएको हुँदा त्यहाँ गएको थिएँ । कार्यक्रमको बिचमा उम्मेदवार आएर एकछिन बसेर जानुभएको हो ।’ 
 

सुझावित समाचार