थाइल्यान्डबाट मलेसिया हुँदै ल्याइएको ११ किलो गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

थाइल्यान्डबाट मलेसिया हुँदै ल्याइएको गाँजासहित भारतीयहरू विमानस्थलमा पक्राउ परेका छन्। प्रहरीले शुक्रबार ११ किलो २७० ग्राम गाँजासहित भारतीय नागरिकहरू समिरा मिर्जा, मोहम्मद जुनैद र अफसाना शेखलाई पक्राउ गरेको हो। 

उनीहरूमध्ये मिर्जा र जुनैदको साथबाट तीन किलो ८७० ग्राम र शेखको साथबाट सात किलो चार सय ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरीका प्रवक्ता एसपी राजकुमार सिलवालले बताए। 

सो गाँजा थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल ल्याइएको थियो। पक्राउ परेका भारतीयहरू नयाँदिल्लीबाट लिन काठमाडौं आएका थिए। गाँजा रहेको लगेज लिएर निस्कँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको एसपी सिलवालले बताए । 

दिल्लीबाट आएर मलेसियाबाट आएको लगेज लिएर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन्। दिल्लीबाट आएका यात्रुमाथि प्रहरीले निगरानी नगर्ने ठानेर तस्करी गिरोहले यस्तो शैली अपनाएको प्रहरी आकलन छ । पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान अघि बढाएको छ। 
चार दिनअघि पनि यसैगरी मलेसियाबाट तस्करी गरिएको गाँजासहित चार भारतीय विमानस्थलमा पक्राउ परेका थिए। 
 

सुझावित समाचार