अफगानिस्तानले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा जितका साथ यात्रा समाप्त गरेको छ । चेन्नईमा समूह ‘डी’को प्रतिस्पर्धामा अफगानिस्तानले क्यानडालाई ८२ रनले हराउँदै तेस्रो स्थान रक्षा गरेको छ । यस समूहमा अफगानिस्तानले युएईलाई पनि हराएको थियो । दक्षिण अफ्रिका र न्युजिल्यान्डसँग पराजित भएको थियो । अफगानिस्तानले चार खेलमा समान दुई जित र हार सामना गरी ४ अंक बटुल्यो । दोस्रोपटक विश्वकप खेलेको क्यानडा जितविहीन भयो । क्यानडाले चारै खेल गुमाएको छ ।
चेन्नई रंगशालामा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले चार विकेट गुमाएर २ सय रन बनाएको थियो । प्रत्युत्तरमा खराब सुरुवात गरेको क्यानडा २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनायो । अफगानिस्तानका लागि मोहमद नैवले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए ।
शतक बनाउन चुके इब्राहिम
पहिलो ब्याटिङ गरेको अफगानिस्तानका लागि तीन खेलाडीले विस्फोटक ब्याटिङ गरेका थिए । ओपनर रहमानुल्लाह गुर्बाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि ५.३ ओभरमा ४७ रनको साझेदारी गरेका थिए । गुर्बाजले २० बलमा पाँच चौका प्रहार गरी ३० रन जोडे । गुल्बदिन नैब १ रनमै आउट हुँदा अफगानिस्तान ४९–२ को स्थितिमा रह्यो । इब्राहिम र सिद्दिकिलाहले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै टोलीलाई १५.५ ओभरमा १४४–३ को बलियो स्थितिमा पु¥याए ।
अफगानिस्तानका लागि सिद्दिकिलाहले ३२ बलमा समान दुई चौका र छक्का प्रहार गरी ४४ रन बनाए । अजमातुल्लाह ओमाजी र इब्राहिमले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरी टोलीलाई १८.१ ओभरमा १७५–५ को बलियो अवस्थामा राखे । इनिङ्सको अन्तिमसम्म नटआउट रहेका इब्राहिम विश्वकपमा शतकीय इनिङ्स खेल्न चुके । उनले ५६ बल सामना गरी सर्वाधिक ९५ रन बनाएका थिए । उनले सात चौका र पाँच छक्का प्रहार गरेका थिए । बलिङमा क्यानडाका लागि जसकरण सिंहले ५२ रन खर्चेर तीन विकेट हात पारे ।
वेस्ट इन्डिज चारै खेलमा विजयी
दुईपटकको विजेता वेस्ट इन्डिजले समूह ‘सी’मा शतप्रतिशत जित निकालेको छ । बिहीबार भएको खेलमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हरायो । इडेन गार्डेनमा पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोड्यो । प्रत्युत्तरमा इटालीले १८ ओभरमा सबै विकेट गुमाएर १२३ रन जोड्दा वेस्ट इन्डिज ४२ रनले विजयी भएको हो । वेस्ट इन्डिजले आफ्नो समूहमा चार खेलमै जित निकाली सर्वाधिक ८ अंक बटुल्यो ।
वेस्ट इन्डिजका लागि साई होपले ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलका म्यान अफ दी म्याचसमेत उनले ब्याटिङमा ४६ बलमा ७६ रन तथा दुई क्याच लिएका थिए । होपले ६ चौका र चार छक्का प्रहार गरे । रोस्टन चेजले २५ बलमा २४ तथा सेफान रुथफोर्डले १५ बलमा २४ रन बनाए । इटालीको ब्याटिङमा वेन मानेटीले २१ बलमा २६ तथा जे स्मुट्सले २७ बलमा २४ रन बटुलेका थिए । बलिङमा वेस्ट इन्डिजका सामार जोसेफले ३० रन खर्चेर चार विकेट हात पारे ।