केही साताअघि बालेन–रविको नेतृत्वमा जनकपुरमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनसभापछि देशको राजनीतिको भावी कोर्ससमेत प्रभावित हुने सम्भावना देखिँदै छ । सो जानसभापछि बालेन नेपालका विभिन्न भागमा पुग्दा जुन किसिमको जनलहर देखापर्यो, यसले आमनागरिक एवं नवयुवामा अभूतपूर्व उत्साह, उमंग र रक्तसञ्चार पैदा गरेको छ ।
विगतमा सेलाउँदै गएको जेन–जी पुस्ताको परिवर्तनको आकांक्षालाई बालेन रास्वपामा प्रवेश गरेपछि सो पार्टीको चुनावी माहोल र गतिविधि उचाइमा पुगेको देखिँदै छ । विकृत राजनीतिबाट आक्रान्त नेपाली जनताले लामो समयपछि परिवर्तनको पक्षमा यति ठुलो जनलहरसहितको जनसभा देख्ने मौका पाए । पहाडी हावापानी र संस्कारमा हुर्किएका पहाडी मूलका नेता र सदियौँदेखि शोषित, पीडित मधेशी संस्कारमा हुर्केका नेताबिचको अभूतपूर्व ‘फ्युजन’ हुनु आफैँमा नौलो अभ्यास हो । पहाडी मूलको नेताबाट स्थापित राजनीतिक पार्टीले मधेशी मूलका बालेनलाई आउँदो प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिनु आफैँमा सामान्य विषय होइन ।
रास्वपा ०७९ को निर्वाचनमा २१ सिट जितेर संसद्को चौथो ठुलो दलका रूपमा उदाएको पार्टी हो । रास्वपा युवा पुस्ताको समर्थन र विश्वास प्राप्त गरेरै संसद्मा चौथो ठुलो दलका रूपमा उभिन सकेको हो । प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने गृहमन्त्री हुँदा ठुला भ्रष्टाचार मुद्दाका पुराना फाइलमा छानबिन गरी कारबाही बढाउँदै गर्दा कांग्रेसका केही नेता अनुसन्धानको दायरामा आउने सम्भावना देखेर उसले रातारात केपी ओलीसँग गठबन्धन गरी नयाँ सरकार गरेको हो ।
लोकतन्त्रमा घोषणापत्र केवल मत तान्ने साधन होइन, जनतासँग गरिएको सामाजिक सम्झौता पनि हो । जब त्यो सम्झौता पूरा हुँदैन, जनविश्वास कमजोर हुन्छ ।
ओली सरकार गठनपछि रवि लामिछानेविरूद्ध पाँच जिल्लामा सहकारी ठगी र संगठित अपराधका मुद्दा दायर गरिएको हो । त्यसमध्ये रुपन्देहीमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरी निजलाई थुनामा राखी अनुसन्धान तहकिकातसमेत गरियो । पुर्पक्षका लागि धरौटी रहेको अवस्थामा पनि सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ लगाई निजको सांसद पद पनि निलम्बन गरिएको थियो । तर, २३ र २४ भदौको जेन–जी विद्रोहपछिको परिस्थितिमा रास्वपाले आफ्नो हैसियतलाई नयाँ उचाइमा पुर्याउने अवसर पायो । बालेनको रास्वपा प्रवेशले सो पार्टीमा नया रक्तसञ्चार प्रवाह गरेको छ ।
२३ र २४ भदौपछिको आन्दोलनको अर्को उपलब्धि भनेको कांग्रेसमा भएको रूपान्तरण पनि हो । यसबाट गगन थापा कांग्रेस सभापतिमा स्थापित भए । थापा र विश्वप्रकाश शर्माले कांग्रेसभित्र नयाँ रक्तसञ्चार, उत्साह र उमंग पैदा गरेका छन् । युवापुस्ताको भावना, चाहना र आकांक्षालाई समेट्ने र प्रतिनिधित्व गर्ने एक मात्र पार्टीका रूपमा स्थापित हुन खोजिरहेको रास्वपालाई कांग्रेसमा गगन–विश्वको उदयले एउटा झट्का लागेको देखिन्छ । किनभने गगन–विश्व प्रकाशले अब कांग्रेसलाई नयाँ पुस्ताको चाहनाअनुसार परिवर्तन गर्ने उद्घोष गरेका छन् ।
पार्टीमा पुराना पुस्ताको वर्चस्व समाप्त पारी युवापुस्तासँग हातेमालो गरेर देशमा स्थिरता र सुशासन ल्याई भ्रष्टाचार अन्त्य गरी प्रगति र समृद्धिको दिशामा देशलाई अघि बढाउने संकल्प गरेका छन् । यही जोश र नाराका साथ कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगरी एक्लै निर्वाचनमा भाग लिने अठोट गरेबाट एउटा कांग्रेसमा ऊर्जा, उत्साह र उमंग पैदा भएको छ । यसबाट परिवर्तनका नायक युवापुस्तालाई कांग्रेसले केही हदसम्म आफूतर्फ तान्न सफल भएको छ ।
यसले रास्वपाले युवावर्गलाई आफूतर्फ आकर्षित गर्दै आएको गति र शक्तिमा केही शिथिलता आई आगामी निर्वाचनमा कांग्रेस र रास्वपाविच स्वस्थ, सकारात्मक र प्रभावकारी प्रतिस्पर्धा पैदा हुन सक्ने स्थिति सिर्जना भएको छ । यी दुई पार्टीबिच स्वस्थ, सकारात्मक र प्रभावकारी राजनीतिक प्रतिस्पर्धा हुनु समग्र मुलुकका लागि उपलब्धिमूलक नै हुनेछ । किनकि यी दवै दलको चाहना र उद्देश्य एकै छन्– सुशासन, भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र विकास ।
यो लक्ष्यप्राप्ति यस निर्वाचनपछिको प्रतिनिधिसभाले वर्तमान संविधान र निर्वाचन कानुनमा संशोधन गर्न सकेको अवस्थामा मात्र सम्भव देखिन्छ । त्यसका लागि वास्तविक परिवर्तनकारी युवा समूहलाई प्रतिनिधित्व गर्न सक्ने यी दुई दल मात्र हुने देखिन्छ । संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यकता पर्छ र त्यसका लागि कांग्रेस र रास्वपाबिच सहकार्यको आवश्यकता पर्छ । त्यसैगरी, प्रतिनिधिसभालाई प्रभाकारी र उत्तरदायी बनाउन पनि यी दुई दलमध्ये एउटा सरकारमा रहन र अर्को सशक्त प्रतिपक्षको भूमिका वहन गर्न संसद्मा बलियो शक्तिका साथ उपस्थित हुन आवश्यक छ । यस्तो अवस्था सिर्जना भएमा मात्र मुलुकमा सुशासन, कानुनी व्यवस्था, भ्रष्टाचारमुक्त शासन व्यवस्थासहितको समृद्ध र विकसित मुलुकमा नेपाललाई रूपान्तरण गर्न सकिन्छ । त्यस अर्थमा कांग्रेस र रास्वपाले यस निर्वाचनमा एक–अर्काप्रति आरोप–प्रत्यारोप लगाउनुको साटो स्वस्थ प्रतिस्पर्धामा उत्रिनु अहिलेको मूल आवश्यकता हो ।
यस निर्वाचनमा रास्वपाजस्ता नयाँ दल वा सुधारिएर आएका कांग्रेसजस्ता दलको लक्ष्य र उद्देश्य भनेको पुराना सत्ताविरुद्ध वैचारिक रूपमा आक्रमण गर्नु र नयाँ परिवर्तनको वाहकका रूपमा शंखनाद गर्नु हो । जेन–जी आन्दोलनले नेपालको राजनीतिमा रूपान्तरण र परिवर्तनको आकांक्षा राख्ने पक्षधरलाई एउटा उत्साह र नवीन ऊर्जा प्राप्त भएको छ । जसका कारण कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले सडक, गल्ली, गाउँगाउँ र चियापसलमा व्यापक विरोध र प्रतिरोध सामना गर्नुपरिरहेको छ । जसका कारण पुराना दलका नेतामा एक किसिमको आन्तरिक, मानसिक र मनोवैज्ञानिक दबाब बढेको छ ।
पुराना नेताको मुख्य चुनौती भनेको समाज र गाउँगाउँमा सर्वसाधारण जानतासमक्ष भोट माग्न जाँदा एकातर्फ नयाँ एजेन्डासहित के, कसरी र किन तिनै पुराना दललाई नै भोट दिनुपर्ने हो भन्ने जनताको टड्कारो प्रश्न आफूतिर तेर्सिन्छ भने अर्कातर्फ आमजनताका आक्रोश, आलोचना र प्रतिरोधलाई कसरी सामना गर्ने भन्ने अवस्था छ । यस्तो विषम एवं परिवर्तित राजनीतिक माहोलमा जनतासमक्ष गई चुनावमा पराजित हुनुभन्दा राजनीतिबाट सम्मानजनक वहिर्गमन भई नयाँ पुस्तालाई राजनीतिक विरासत सुम्पिनु नै बुद्धिमत्ता हुन्थ्यो । त्यस्तो, अवस्थामा उनीहरू सम्मानित र विगतको योगदानका लागि कदरयोग्य पात्रका रूपमा नेपालको इतिहासमा स्थापित हुन सक्थे । तर, त्यस्तो हुन नसकेकाले यो निर्वाचन पुरानो र नयाँ पुस्ताबिचको प्रतिस्पर्धाका रूपमा स्थापित हुनपुगेको छ ।
२३ र २४ भदौको आन्दोलनमार्फत नेपालको राजनीतिलाई नयाँ पुस्ताले नवीन मोडमा प्रवेश गराएका छन् । पुराना र नयाँ पार्टीबिच तीव्र चुनावी बहसको थालनी एवं भोलिका दिनमा नयाँ वा पुराना पुस्तामध्ये कसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने विषयमा समाजको ध्यान केन्द्रित हुनपुगेको छ । कांग्रेसमा भएको नेतृत्व परिवर्तन, रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्नु र एमालेले निवर्तमान प्रधानमन्त्री केपी ओलीकै नेतृत्व स्विकारेर निर्वाचनमा होमिँदा यसले आगामी चुनावमा कौतुहल एवं चुनावी सरगर्मी पैदा गरेको छ । मूलतः यसपटक सबै दल भावी सरकारको लक्ष्य, नीति र कार्यक्रम प्रस्तुत गरेरभन्दा बढी क्षेत्रीयता, व्यक्ति र पुस्ताकेन्द्रित भई निर्वाचनमा होमिएका छन् ।
कांग्रेसले सभापति गगन थापालाई, रास्वपाले बालेन शाहलाई र एमालेले केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरी निर्वाचनमा भाग लिएका कारणले नै यो निर्वाचनलाई पुराना भर्सेस नयाँ पुस्ताबिचको प्रतिस्पर्धाका रूपमा लिनुपर्ने देखिन्छ । आगामी निर्वाचन नेपाली मतदाताका लागि चुनौती र अवसर दुवै हुन् । यस निर्वाचनबाट मतदाताले पुराना दलको निरन्तरता वा नयाँ दलको नेतृत्वमध्ये कसलाई रूचाउँछन् भन्ने पुष्टि हुनेछ ।
यस निर्वाचनले केवल पुराना दलबाट नयाँ दलमा राजनीतिक हस्तान्तरण वा पुस्तान्तरण गर्ने मात्र होइन, यसले देशको भावी गन्तव्य कता बढ्नुपर्छ भन्ने पनी निक्र्योल गर्नेछ । २३ र २४ भदौको जेन–जी आन्दोलनले नेपाली जनतालाई मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, बेथिति एवं अस्थिरताको जड भनेको वर्तमान संविधान र निर्वाचन कानुनमा विद्यमान क्षिद्र एवं पुराना दलका नेतामा रहेको विकृत सोच र संस्कार नै हो र त्यस्ता विकृति र बेथितिलाई जरैदेखि निर्मूल नगर्दासम्म मुलुक सही दिशामा अगाडि बढ्न सक्दैन भन्ने पाठ सिकाएको छ ।
समृद्धि, सुशासन, स्थिरता, विधि र पद्धति अनुसरण गरी मुलुकलाई अग्रगमनतर्फ बढ्ने हो भने वैकल्पिक र सुधारमुखी राजनीतिक सोच राख्ने युवापुस्ताले पत्याएको नयाँ राजनीतिक दलले निर्वाचन जित्नु आवश्यक देखिन्छ । अहिलेको आवश्यकता र मूल प्रश्न भनेको के नेपाली मतदाताले शुद्ध छवि र सोच भएका तथा मुलुकलाई अग्रगमनतर्फ हाँक्न सक्ने आँट र क्षमता भएका व्यक्तिलाई अघि सारेर निर्वाचनमा भाग लिने दललाई अत्यधिक बहुमत दिलाएर निर्वाचित गर्छन् वा गर्दैनन् भन्ने नै हो ।
दलहरू साँच्चिकै वैकल्पिक र सुधारमुखी राजनीति गर्न चाहन्छन् भने प्रधानमन्त्रीको नाममा भन्दा पहिले तिनले ‘के गर्ने, कसरी गर्ने र संसद्लाई कसरी सुदृढ बनाउने भन्ने स्पष्ट एजेन्डा प्रस्तुत गरी तिनको स्पष्ट र विश्वसनीय जवाफ दिन सक्नुपर्छ । कुनै एक दलले आफ्नो प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दैमा संसदीय प्रणाली कमजोर हुन्छ वा त्यस्तो प्रधानमन्त्री उम्मेदवार घोषणा नगर्दैमा चुनाव हार्छ भन्ने होइन । तर, त्यसको अर्थ संसद्भन्दा माथि व्यक्ति होइन भन्ने स्पष्ट संस्थागत प्रतिबद्धता पनि उत्तिकै आवश्यक हुन्छ । किनभने एक व्यक्तिले चुनाव जित्दैमा वा एकजनालाई पार्टी नेताका रूपमा देवत्वकरण गर्दैमा देशको मुहार परिवर्तन हुन सक्दैन । त्यसका लागि कुनै नेताको हैसियत जति नै माथि वा जति नै ‘पपुलर’ भए पनि प्रधानमन्त्री हुन त संसद्मा १३८ प्रतिनिधिसभा सदस्यको समर्थन आवश्यक पर्छ । यस अर्थमा आगामी निर्वाचनको गन्तव्य भनेको व्यक्तिकेन्द्रित नभई एजेडाकेन्द्रित हुनुपर्छ ।
अन्त्यमा, देशको राजनीतिमा आमूल परिवर्तन ल्याउने वाहकका रूपमा हेरिएको आगामी निर्वाचनलाई सफलीभूत पार्न आममतदाताको पनि ठुलो भुमिका रहनेछ । राजनीतिमा आमूल परिवर्तन गर्न संविधान संशोधन आजको मूल आवश्यकता हो भने त्यसका लागि कुनै एक दलले संसद्मा बहुमत ल्याउन आवश्यक देखिन्छ जसका लागि मतदाताले विभिन्न दललाई छरिने गरी मतदान गर्नुको सट्टा कुनै एक दलले बहुमत पाउने गरी मतदान गरिदिएको अवस्थामा मात्र स्थायी सरकार र सो सरकारले युवावर्गको चाहनाअनुरूप संविधान संशोधन र सुशासनका एजेन्डालाई कर्यरूप दिन सम्भव हुन्छ । यस अर्थमा नयाँ वा परिवर्तनकारी एजेन्डा बोकी निर्वाचनमा होमिएका दललाई मतदान गरेर मुलुकलाई सुधार र अग्रगमनको दिशामा अगाडि बढ्न सहयोग गर्नु आजको आवश्यकता हो ।
(पण्डित वरिष्ठ अधिवक्ता हुन्)