ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीमा ५० प्रतिशत छुट दिने भएको छ । बैंकले शैक्षिक प्रयोजनार्थ अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्कका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएको हो ।
यो योजनाबाट बैंकले नेपाली विद्यार्थीलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरू जस्तै : आइइएलटिएस, टोफल, स्याट, जी–म्याट, पिटिई, एसिटी, एसिसिए, युएसएमएलई, कलेज फी, भिसा शुल्क, बिमा शुल्कलगायतका विभिन्न सेवाबापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा उक्त छुट प्रदान गर्ने जनाएको छ । छुट ३१ जुलाई २०२६ सम्म लागू हुनेछ । यसका लागि बैंकले एक सय १७ वटा शाखामार्फत सेवा विस्तार गरेको जनाएको छ । छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालयसम्बन्धी विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।
बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित भइसकेको छ । बैंकले देशभरका तीन सय ५२ शाखा कार्यालय, तीन सय ८५ एटिएम, एक सय ४७ शाखारहित बैंकिङ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।