पोखराका थप पाँच विद्यालयका चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको छ । सोमबार पाँच विद्यालयका चालक मापसे गरेको भेटिएकोमा मंगलबार थप पाँच विद्यालयका बसचालक मापसे गरी सवारी चलाएको अवस्थामा प्रहरीसहितको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहानको विद्याथी लिन हिँडेको अवस्थामा पोखरा महानगरपालिका– १ सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) माध्यमिक विद्यालय, पोखरा– ७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कुल, पोखरा– ९, नयाँबजारस्थित गुरुकुल विद्यासदन बोर्डिङ स्कुल, पोखरा– २१, बागमारास्थित इमानुयल बोर्डिङ स्कुल र पोखरा– १६, लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका बसचालकले मादक पदार्थ सेवन गरी चालएको अवस्थामा चालकसहित बसलाई खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका विद्यालयका सवारीसाधनका चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदै आएको भन्ने गुनासोपछि पोखरामा चेकिङलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । पोखरा महानगरपालिकाका प्रतिनिधि, जिप्रका कास्की र मातहतका कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीबाट संयुक्त रूपमा खटिएको चेकिङ टोलीले चेकजाँचका क्रममा पाँच विद्यालयका बस र चालकलाई नियन्त्रण लिएको बस्नेतले बताए ।
बस्नेतका अनुसार मंगलबार करुणनिधिको ग.१क ४७६३ नम्बरको बस र चालक सर्वजित रेग्मी, रत्नज्योतिको ग.१क ५९६२ नम्बरको बस र चालक गोविन्द क्षेत्री, गुरुकुलको ग.१क १९५७ नम्बरको बस र चालक दलबहादुर सुनार, इमानुयलको ग.१क ५००८ नम्बरको बस र चालक मनबहादुर तामाङ तथा गण्डकीको ग.१क ६६२३ नम्बरको बस र चालक रोनिश खनाल छन् । पक्राउ परेका चालकलाई सार्वजनिक मुद्दा चलाउने र विद्यालयलाई समेत आवश्यक कारबाही गरिने बस्नेतले बताए ।