जिम्बावे पहिलोपटक सुपर ८ मा, पूर्वविजेता अस्ट्रेलिया बाहिरियो

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण
  • आयरल्यान्डसँगको खेल रद्द हुँदा जिम्बावे पाँच अंकका साथ सुपर ८ मा पुग्यो । तीन खेलबाट दुई अंक मात्र जोडेको अस्ट्रेलिया समूह ‘बी’बाट बाहिरियो 

आयरल्यान्डसँग वर्षाका कारण खेल रद्द भएपछि पाँच अंकसहित जिम्बावे आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ । जिम्बावे सुपर ८ मा पुग्दा पूर्वविजेता अस्ट्रेलिया एक खेलअगाडि नै प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बावेले चार खेलमा पाँच अंक जोडेको हो । अस्ट्रेलियाले अर्को खेलमा जित निकाल्दा पनि चार अंक हुनेछ । यो अंकमा जिम्बावेलाई भेटाउन सक्दैन ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा मंगलबार जिम्बावे र आइरल्यान्डबिच खेलमा टस नै हुन सकेन । वर्षा नरोकिएपछि खेल सम्भव नहुँदा दुवैले अंक बाँडे । आयरल्यान्ड पनि चार खेलमा तीन अंक मात्र जोडेर बाहिरिएको छ । ओमान यसअघि नै बाहिरिसकेको छ । 

योसँगै सुपर ८ खेल्ने सात टोलीको टुंगो लागेको छ । अब समूह ‘ए’बाट पाकिस्तान, अमेरिका र नेदरल्यान्ड्समध्ये एक टोली सुपर ८ मा पुग्नेछ । समूह ‘ए’बाट भारत यसअघि नै सुपर ८ मा पुगिसकेको छ । समूह ‘बी’बाट श्रीलंका, समूह ‘सी’बाट इंग्ल्यान्ड र वेस्ट इन्डिज अनि समूह ‘डी’बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर ८ मा पुगिसकेका छन् । अस्ट्रेलिया विश्वकपबाट बाहिरिनुको पछाडि जिम्बावेसँगको २३ रनको हार पनि नै मुख्य रह्यो । समूह ‘बी’बाट श्रीलंका र अस्ट्रेलिया अगाडि बढ्ने राष्ट्रका रूपमा लिइएको थियो ।

जिम्बावेले १९ वर्षपछि अस्ट्रेलियालाई हराएको थियो । टी–२० विश्वकपमा अस्ट्रेलियाले जिम्बावेसँग दुईपटक प्रतिस्पर्धा गर्दा हारको सामना गरेको छ । सुपर ८ को आशा जीवितै बनाउन अस्ट्रेलियाले श्रीलंकालाई सोमबारको खेलमा हराउनुपर्ने थियो । तर, श्रीलंकाले अस्ट्रेलियामाथि ८ विकेटको सानदार जित निकाल्यो । यस हारले पनि अस्ट्रेलियाको सुपर ८ मा पुग्ने सम्भावना धर्मराएको थियो । अस्ट्रेलिया पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले हराएको थियो । आयरल्यान्डसँग जिम्बावे हारे मात्रै अस्ट्रेलियाको सुपर ८ मा पुग्ने सम्भावना यथावत् रहन्थ्यो । 

दंग जिम्बावेली क्रिकेटर
यसअघि जिम्बावेले विश्वकपमा सुपर ८ को स्थान बनाउन सकेको थिएन । पहिलोपटक समूह चरण पार गर्दा जिम्बावेका खेलाडी दंग छन् । कप्तान सिकन्दर राजाले सबै खेलाडीले अगाडि चरण स्थान बनाउन मिहिनेत गरेको बताएका छन् । ‘हामीले योपटकको विश्वकपमा इतिहास बनाएका छौँ । यसका लागि सबैले उत्तिकै योगदान गरेका छन्,’ राजाले भने, ‘अब सुपर ८ का खेलमा केन्द्रित हुनुपर्छ ।’ उनले खेलाडीहरूले डे«सिङ रुममा सामान्य किसिमको मनोरञ्जन गरेको बताए । ‘अवश्य पनि सुपर ८ मा पुग्नु हाम्रा लागि ठुलो उपलब्धि हो । डे«सिङरुममा खेलाडीहरू दंग थिए, हामीले सामान्य रूपमा सफलताको खुसी मनायौँ ।’ 

इतिहासमै अस्ट्रेलिया दोस्रोपटक समूह चरणमै सीमित 
टी–२० विश्वकप इतिहासमा अस्ट्रेलिया दोस्रोपटक समूह चरणबाटै बाहिरिएको हो । सन् २००९ को संस्करणमा रिकी पोन्टिङको कप्तानीमा रहेको अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको थियो । 

त्यसपछि अस्ट्रेलिया एकैपटक १०औँ संस्करणको समूह चरणमै सीमित भयो । विश्वकप इतिहासमा अहिलेसम्म आठ खेल रद्द भएका छन् । चालू विश्वकपमा आयरल्यान्ड र जिम्बावेबिच रद्द भएको पहिलोपटक हो । सन् २०१६ को संस्करणमा दुई खेलमा टस नै भएन । यसैगरी, सन् २००७, ०१२, २०२२ र ०२४ को संस्करणमा समान एक खेल रद्द भएका थिए ।

See More On

सुझावित समाचार