एसिया कप राइजिङमा नेपाल जितविहीन

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला टिम थाइल्यान्डमा भएको महिला एसिया कप राइजिङ स्टार्समा जितविहीन भएको छ।  नेपाल लगातार पराजित हुँदा मंगलबार सम्पन्न खेलमा नेपाललाई सात विकेटले पराजित गर्दै भारत ‘ए’ सेमिफाइनल प्रवेश गरेको हो । तीन खेल खेलेको नेपाल अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदा मात्र ७८ रन बनायो । नेपालले दिएको ७९ रनको लक्ष्य भारतल ‘ए’ ले ७.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।  भारत ‘ए’को जितमा दिनेश विन्द्राले १७ बलमा सात चौका र एक छक्काको सहयोगमा नटआउट रहँदै सर्वाधिक ३७ रन बनाइन् । तेजल हसबन्सीले १३ बलमा १८ तथा अनुष्का शर्माले १० रन जोडिन् ।

नेपालका लागि मनीष उपाध्याय, अनु कडायत र सीता रानामगरले समान एक विकेट लिए। नेपालका लागि ओपनर सम्झना खड्काले १६ बलमा चार चौकाको सहयोगमा सर्वाधिक २२ रन जोड्दै आउट भइन् । रुवी पोदार र कविता जोशीले समान १२, विन्दु रावल ११ र पूजा महतो १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

भारतका लागि तनुजा कुँवरले सर्वाधिक चार विकेट लिइन् । मिनु मानीले तीन तथा कप्तान राधा यादवले दुई विकेट लिइन् ।

नेपाललाई पराजित गरेको भारत ‘ए’ समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । युएई र पाकिस्तान ‘ए’बिच आजै हुने खेलबाट दोस्रो टोलीको टुंगो लाग्नेछ ।

सुझावित समाचार