स्कटल्यान्डविरुद्ध प्रतिष्ठाको लडाइँमा नेपाल

एक खेलअगाडि नै बाहिरिएको नेपाल आज समूह ‘सी’को अन्तिम खेलमा स्कटल्यान्डको सामना गर्दै

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी पुरुष टी–२० विश्वकप २०२६

१०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा खेल्नुअघि नेपालले एउटा लक्ष्य राखेको थियो । टेस्ट राष्ट्रलाई हराएर नेपालले सुपर एट स्थान बनाउने योजना बनाएको थियो । समूह ‘सी’को सोमबार नेपालले चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डको सामना गर्दै छ । स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहँदा नेपाल प्रतिष्ठाको लडाइँमा सीमित भएको छ । लगातार तीन खेलमा पराजित भएको नेपाल समूहको एक खेलअगाडि नै बाहिरिसकेको छ । 

इंग्ल्यान्डविरुद्ध सनसनी प्रदर्शन गरी वाहवाही कमाएको नेपाल त्यसपछि नवप्रवेशी इटालीबाट १० तथा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भयो । इटालीसँग अप्रत्याशित रूपमा पराजित हुँदा नेपालको अर्को चरणमा पुग्ने सम्भावना कमजोर बनेको थियो । मुम्बईको वानखेडे रंगशालामा नेपालले स्कटल्यान्डविरुद्ध डे–नाइट खेलमा खेल्नेछ । यो नेपालको पहिलो अनुभव हुनेछ । 

नेपालले कम्तीमा चालू विश्वकपमा एक जितका साथ यात्रा सकाउने योजनामा खेल्नेछ । त्यहीँ नै स्कटल्यान्डले पनि आफ्नो अन्तिम खेलमा नेपाललाई हराएर समूहमा तेस्रो स्थान रक्षा गरी विश्वकप यात्रा समाप्त पार्ने लक्ष्य बनाएको छ । १०औँ विश्वकपमा स्कटल्यान्ड भाग्यमानी टोलीका रूपमा रहेको छ । बंगलादेशले भारतमा गएर विश्वकप नखेल्ने भनेपछि आइसिसीले स्कटल्यान्डलाई वरीयताका आधारमा स्थान दिएको हो । समूह ‘सी’मा नेपाल मात्र अंकविहीन छ । इटाली र स्कटल्यान्डले समान तीन खेलमा दुई अंक जोडेका छन् । 

स्कटल्यान्डसँगको खेलअगाडि सोमबार आयोजित प्रिपोस्ट म्याचमा नेपालका मुख्य प्रशिक्षक स्टुवार्ट लको स्थानमा कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले पछिल्ला तीन खेलमा खेलाडीले गल्ती गरेको बताए । स्कटल्यान्डविरुद्ध त्यही गल्ती सच्याएर खेल्ने उनले बताए । ‘हामीले पछिल्लो खेलमा गर्नैनहुने गल्ती गर्यौँ । यो स्टेजमा त्यस्ता सामान्य गल्तीले नै नसोचेको नतिजा व्यहोर्नुपर्ने हुन्छ,’ पोथसले भने, ‘स्कटल्यान्डविरुद्ध हामीले त्यही गल्ती दोहोर्याउनुहुँदैन । त्यसपछि मात्रै हामी विश्वकपमा सुखद अन्त्य गर्नेछौँ ।’

यसैगरी, स्कटल्यान्डका ब्याट्सम्यान टम ब्रुसले नेपालको खेल योजनासँगै खेलाडीका बारेमा राम्रो जानकार भएको बताए । ‘हामीले नेपालसँग खेलिरहेका छौँ । यसकारण उनीहरूको खेलबारे हामी परिचित छौँ,’ ब्रसले भने । गत वर्षको जुनमा नेपाल र स्कटल्यान्डबिच टी–२० आई खेल भएको थियो । त्यो सिरिज बराबरीमा सकिएको थियो । 

१२ वर्षदेखि जितविहीन नेपाल
नेपालले समग्रमा तीन तथा लगातार दोस्रोपटक टी–२० विश्वकप खेलिरहेको छ । सन् २०१४ मा नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको थियो । बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपालको टी–२० आई डेब्युसमेत थियो । नेपालले डेब्यु विश्वकपमै सनसनी रूपमा हङकङ र अफगानिस्तानमाथि जित निकालेको थियो । तत्काल कप्तान पारस खड्काको नेतृत्वमा नेपालले विश्वकपमा दुई जित निकालेको थियो । बंगलादेशमा भएको विश्वकपपछि नेपाल जितविहीन छ । 

सन् २०१४ को विश्वकपमै नेपालले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध समूह चरण छनोटमा प्रतिस्पर्धा गर्दा हारको सामना गर्यो । त्यसपछि नेपालले विश्वकपमा दोस्रोपटक स्थान बनाउन १२ वर्ष प्रतीक्षा गर्यो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपाल दोस्रोपटक छनोट भयो । कप्तान रोहितकुमार पौडेलको कप्तानीमा नेपालले नवौँ संस्करणमा दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । दक्षिण अफ्रिकासँग नेपाल केवल एक रनले चुकेको थियो । समूह ‘डी’मा रहेको नेपाल नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । बंगलादेशविरुद्धको खेलमा नेपाल २१ रनले पराजित भयो । श्रीलंकासँगको प्रतिस्पर्धा वर्षाका कारण रद्द भएको थियो । चालू विश्वकपमा नेपाल तीन खेलमा पराजित भइसकेको छ । समग्रमा नेपालले विश्वकपमा नौ खेल खेल्दा सातमा हार सामना गरेको छ । विश्वकपको इतिहासमा नेपालले लगातार सात खेल विपक्षीलाई सुम्पिएको छ । 

पछिल्लो दुई खेल बराबर
नेपाल र स्कटल्यान्डबिच टी–२० आईमा आधिकारिक दुई खेल भएका छन् । उनीहरूबिच समान एक जित र हार खेल भएका छन् । सन् २०२५ मा भएको पहिलो टी–२० आईमा नेपाल दुई विकेटले विजयी भएको थियो । ९७ रनको लक्ष्य पाएको नेपालले आठ विकेट गुमाउँदा जित निकाल्यो । यो खेल खेलेका रूपेश सिंह, करण ठगुन्ना र अनिलकुमार साह यो टोलीमा समावेश छैनन् । दोस्रो खेलमा स्कटल्यान्डले नेपालविरुद्ध ३४ रनको जित हात पार्यो । स्कटल्यान्डले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदा एक सय ५९ रनमा सीमित भयो । यसअघि सन् २०१३ मा नेपाल र स्कटल्यान्डबिचको खेलमा स्कटल्यान्ड आठ विकेटले विजयी भएको थियो । नेपालले सन् २०१४ मा मात्रै टी–२० आई मान्यता पाएकाले त्यो खेल आधिकारिक मानिएन । 

न्युजिल्यान्डका पूर्वखेलाडी ब्रुस 
स्कटल्यान्डका भरपर्दा खेलाडीका रूपमा ब्रस हुन् । उनले आइसिसीले आयोजना गर्ने बृहत् प्रतियोगिता खेलिसकेका छन् । दुई वर्षअघि स्कटल्यान्डबाट खेलिरहेका ब्रुस यसअघि न्युजिल्यान्डका राष्ट्रिय टोलीका खेलाडी थिए । उनले न्युजिल्यान्डबाट प्रतिनिधित्व गर्दै खेल्दा भारत र दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । सन् २०२५ मा उनी स्कटल्यान्डबाट खेल्न थालेका हुन् । उनको अनुभवको कारण पनि स्कटल्यान्डको मनोबल उच्च छ । ‘म पहिलोपटक नेपालविरुद्ध खेल्दै छु । नेपाली समर्थक निकै आउनुहुन्छ । त्यसका लागि पनि उत्साहित छु,’ ब्रुसले भने । स्कटल्यान्डले पहिलोपटक चालू विश्वकपमा वानखेडे रंगशालामा खेल्न लागेको हो । यसअघि स्कटल्यान्डका सबै खेल कोलकाताको इडेन गार्डेनमा थियो । 
 

सुझावित समाचार