आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

सोमबार पाहुना टोली भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा पाहुना टोली भने पहिलो खेलबाटै घर फर्केको छ। जितसँगै मनाङले फाइनल प्रवेशका लागि ७ गते आयोजक सहारा क्लबसँगको भेट पक्का गरेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि निर्णयका लागि थपिएको ३० मिनेटको समयमा मनाङले गरेको एक मात्र गोल जितका लागि पर्याप्त बन्यो। थपिएको समयमा मनाङका आशिष श्रेष्ठले गोल गरेका हुन्। कर्नरबाट पाएको बलललाई डी–बक्सभित्रबाट हेडमार्फत आशिषले पोस्टको दिशा दिन सफल भए। उनी नै प्लेयर अफ दी म्याच बने।

प्रतिस्पर्धात्मक खेलमा सुरुदेखि नै दुवै टिम आक्रामक रूपमा प्रस्तुत भएका थिए। खेलमा थन्डरबोल्ट केही हाबी भएको थियो। दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने चुकेका थिए।

प्रतियोगिताअन्तर्गत अन्तिम क्वार्टरफाइनलको खेलमा मंगलबार प्लानिङ ब्वाइज युनाइटेड र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ।

सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिता ९ फागुनसम्म चल्नेछ।

सुझावित समाचार