अमेरिकाको तेल प्रतिबन्धले संकट झेलेको क्युबा

क्युबा निर्यात हुने तेलमाथि अमेरिकाको कठोर नाकाबन्दीको असर विश्वले अनुमान गरेभन्दा भयावह छ

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

क्युबा अहिले चौतर्फी संकटमा छ । चार वर्षदेखि आर्थिक मन्दीले घेरिएको सो देशका झन्डै २० प्रतिशत जनसंख्या उच्च महँगीबाट बच्न देश छाडिसकेको तथ्यांकले देखाउँछ । ६७ वर्षदेखि कम्युनिस्ट सरकार रहेको क्युबा अहिले आफ्नो स्थापनापछि सबैभन्दा कमजोर अवस्थामा छ । जनवरीको सुरुमा क्युबाको सहयोगी भेनेजुएली सरकारविरुद्ध वासिङटनले सफल सैन्य कारबाही गरेयता ट्रम्प सरकारले त्यस्तै प्रयास हभानामा पनि गर्ने आशंका बढेको छ । 

अमेरिकाको दबाबबिच दुई देशबिच उच्चस्तरमा वार्ता पनि चलिरहेको छ । अमेरिकी अधिकारीसँग उच्चस्तरीय वार्ताका लागि क्युबाली सरकारका प्रतिनिधिका रूपमा पूर्वराष्ट्रपति राउल क्यास्ट्रोका छोरा जनरल अलेजेन्ड्रो क्यास्ट्रो एस्पिन मेक्सिकोमा रहेको चर्चा छ । तथापि अहिलेसम्म प्रगतिको कुनै संकेत भने देखिएको छैन । बरु, हवानामा रहेका विभिन्न देशका कूटनीतिज्ञहरू भावी दिनमा अपनाउने विकल्पमाथि सोच्न थालेका छन् । अमेरिकी दबाबले उनीहरूकै कार्यालय तथा कार्यक्रमसमेत प्रभावित हुने देखिन्छ । 

इन्धनको चरम अभावका कारण गत वर्ष मेलिसा आँधीबाट पीडितहरूलाई राहत दिन खटिएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को प्रयास प्रभावित भएको छ । यस टापु राष्ट्रमा न्यून उपस्थिति राख्दै आएको विश्व खाद्य कार्यक्रमले हालको इन्धन अभावका कारण थप ठुलो संकट आउन सक्ने आकलन गरेको छ । ‘सहरबजारमा अहिले ताजा खाने कुराको उपलब्धता प्रभावित हुन थालिकेको छ,’ डब्लुपिएफका क्युबा निर्देशक एटिएन लाबान्डेले भने । कूटनीति नियोगका कर्मचारीहरूले पनि इन्धन अभावका कारण बिजुली, पानी र खाद्यान्न ढुवानी छिट्टै प्रभावित हुनेप्रति चिन्ता व्यक्त गरे । ‘केही हप्तामै अवस्था भयावह हुन सक्छ । आफ्नै उब्जनीमा भरपर्ने भएकाले ग्रामीण क्षेत्रमा त खाद्यान्न तथा पानीको अभाव नहोला, तर सहरबजारमा बस्नेहरू उच्च जोखिममा छन्,’ एकजना कूटनीतिज्ञले नाम नबताउने सर्तमा द गार्जियनलाई भने । 

क्युबाको पछिल्लो संकट जनवरीमा डोनाल्ड ट्रम्पले क्युबालाई तेल आपूर्ति गर्ने जुनसुकै देशमाथि भारी भन्सार शुल्क लगाउने कार्यकारी अध्यादेशमा हस्ताक्षर गरेदेखि सुरु भएको हो । क्युबाका परम्परागत सहयोगी चीन र रुसले ट्रम्पको त्यस कदमप्रति आक्रोश व्यक्त गरे पनि अमेरिकी धम्कीपछि तेल आपूर्ति रोकेका छन् । 

क्युबाको पछिल्लो संकट जनवरीमा डोनाल्ड ट्रम्पले क्युबालाई तेल आपूर्ति गर्ने जुनसुकै देशमाथि भारी भन्सार शुल्क लगाउने कार्यकारी अध्यादेशमा हस्ताक्षर गरेदेखि सुरु भएको हो । क्युबाका परम्परागत सहयोगी चीन र रुसले ट्रम्पको त्यस कदमप्रति आक्रोश त व्यक्त गरे । तथापि, तिनले पनि अमेरिकी धम्कीपछि तेल आपूर्ति रोकेका छन् । 

गत वर्ष भेनेजुएलालाई उछिनेर सो टापु मुलुकको सबैभन्दा ठुलो तेल आपूर्तिकर्ता बनेको मेक्सिकोले तेल ट्यांकर पठाउन बन्द गरेको छ । तथापि, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले टापुमा मानवीय विपत्ति आउन सक्ने चेतावनी दिइरहेकी छिन् । ‘अमेरिकाले अत्यन्त अनुचित तरिकाले लगाएको प्रतिबन्धका कारण क्युबाली जनताले अहिले भोगिरहेको अवस्थालाई कसैले पनि बेवास्ता गर्नुहुँदैन,’ मंगलबार मात्रै सेनबाउमले भनिन् । यसबिच मेक्सिकोले क्युबामा ८०० टन सहायता सामाग्री पठाएको छ । 

उता २८ जनवरीमा क्युबाका लागि अमेरिकी चार्ज डि’अफेर माइक ह्यामरले टापुमा ६८ वर्षको अमेरिकी प्रतिबन्धको उल्लेख गर्दै भने, ‘क्युबालीहरूले वर्षौँदेखि नाकाबन्दी भन्दै आएका छन् नि । उनीहरूले वास्तविक नाकाबन्दी के हो अब थाहा पाउनेछन् ।’ क्युबामै रहेका ह्यामरले उक्त अभिव्यक्ति दिएरको केही समयपछि पूर्वी क्युबाको भ्रमण सुरु गरे । त्यसक्रममा उनले अमेरिकी सहायता वितरण गरे । त्यही भ्रमणमा सरकार समर्थित प्रदर्शनकारीहरूको समूहले उनको दुव्र्यवहार गरेको समाचार आएको थियो । त्यसपछि उनी भ्याटिकन गएका छन् । क्याथोलिक बहुल जनसंख्या रहेको टापुमा भ्याटिकनको प्रभाव रहेको मानिन्छ ।
क्युबाको अमेरिकी दूतावासका एक प्रवक्ताले आफूहरूले अन्य कूटनीतिक नियोगका सहकर्मीसँग नियमित भेटघाट हुने गरेको बताउँदै भनिन्, ‘ती भेटमा भएका कुराकानी भने बताउन मिल्दैन ।’ क्युबा निर्यात हुने तेलमाथि अमेरिकी नाकाबन्दीको असर धेरैले सोचेभन्दा छिटो देखिएको छ । यसैले पनि कूटनीतिक नियोगका कर्मचारी थप चिन्तित बनेका छन् । 

क्यानडादेखि क्युबा पर्यटक उडान गर्ने तीनवटा विमान सेवाले भर्खरै उडान इन्धनको अभावका कारण यसै हप्तादेखि आफ्नो सेवा निलम्बन गरेको छ । त्यस कदमलाई दुई रुसी वायुसेवाले पनि पछ्याए । पाँचै वायुसेवाले यात्रुहरूलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् । सन् २०२५ मा साढे सात लाख क्यानेडियनहरूले क्युबाको भ्रमण गरेका थिए, जुन अहिलेसम्मकै सबैभन्दा ठुलो संख्या हो । क्यानेडियनपछि क्युबामा आउनेमा विदेशमा बसोवास गर्ने क्युबाली प्रवासी र तेस्रो स्थानमा रुसी पर्यटक थिए । 

बुधबार, बेलायतको विदेश मन्त्रालयले क्युबामा अत्यावश्यक भ्रमणबाहेकको यात्रा रद्द गर्न सिफारिस गरेको छ । तेल आपूर्तिमाथिको नाकाबन्दीले क्युबाली सरकारको विदेशी मुद्रा कमाउने क्षमतामा कमजोर बनाइरहेको समयमा क्युबालीहरूले इन्धनविना जीवनको तयारी सुरु गरेका छन् । ‘अहिलेको अवस्था सन् १९६२ को क्षेप्यास्त्र संकटजस्तै महसुस हुन थालेको छ । त्यतिवेला मानिसहरू मनमा चिन्ता लिएर आफ्नो जीवन गुजार्न बाध्य भएका थिए,’ एकजना क्युबाली नागरिकले भने । क्युबा सरकारले यसअघि नै विश्वविद्यालय, माध्यमिक विद्यालय र अत्यन्त जरुरीबाहेकका सरकारी कार्यालय बन्द गरिसकेको छ । भएको इन्धन बचाउन सार्वजनिक यातायातको प्रयोगमा रोक लगाइएको छ । 

हवाना विश्वविद्यालयमा आणविक भौतिकशास्त्र पढिरहेका २२ वर्षीय एड्रियन रोड्रिगेज सुआरेज पूर्वी सहर होल्गुइनका हुन् । हाल विश्वविद्यालयको होस्टेल बसिरहेका सुआरेजलाई अब आफ्नै सहर फर्किएर अनलाइन कक्षा लिन भनिएको छ । ‘बिहीबार हामीलाई यो खबर सुनाइएदेखि सक्नेजति घर फर्किसकेका छन् । तर, मलाई भने घरतिरकै अवस्थाले पनि चिन्ता लागेको छ । घरमा जान रमाइलै हुन्छ, तर त्यहाँबाट अध्ययन गर्न गाह्रो हुनेवाला छ । हवानाबाहिर बिजुलीको उपलब्धता उल्लेख्य कम छ,’ सुआरेजले भने । 

धेरैले सुआरेजजस्तै चिन्ता सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् । एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘मार्चमा मेरो विवाह हुँदै छ । तर, अहिले आएर सो महिनाका सबै विवाह रद्द गर्न भनिँदै छ । होइन, के हँुदैछ ? कसैलाई केही थाहा छ ?’ केहीले आवश्यक पर्नेहरूलाई मद्दत गर्ने प्रयास गरेको पनि देखिन्छ । ‘हभानाकोे क्यालिस्टो अस्पतालमा केमोथेरापी, डायलाइसिस र आपत्कालीन अवस्थाका मानिसहरूलाई मेरो गाडीमा निःशुल्क यात्राको सुविधा दिनेछु,’ एकजना मोटरसाइकल ट्याक्सी चलाउने व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गरे । केही व्यक्तिलाई भने संकटबाट पनि फाइदा भइरहेको छ । जस्तो हवानाको ला लिसा बस्तीमा बस्ने एक व्यक्तिको दाउराबाट खाना पकाउन मिल्ने आलमुनियम र ग्याल्भेनाइज्ड जिंक बर्नरहरूको बिक्री ह्वात्तै बढेको छ । ‘मेरी आमाले कोइलाबाट खाना पकाउन थालेकी छन्,’ ग्रामीण नगर सान्क्टी स्पिरिटसनिवासी एकजना महिलाले भनिन् । 

उता यसैबिच, कूटनीतिक नियोगहरूले परिस्थिति थप बिग्रियो भने देश छाड्नेसम्म योजना बनाइरहेका छन् । ‘यदि हामी काम गर्न सक्दैनौँ भने हामी यहाँ हुनुको के अर्थ ?’ एकजना कूटनीतिज्ञले नाम नलेख्ने सर्तमा भने, ‘हामी परिस्थितिमाथि नजर राखेर बसेका छौँ ।’हवाना सहरका सबैभन्दा चर्चित पर्यटकीय गन्तव्यमा पनि चहलपहल घट्न थालेको छ । यारिनी त्यस्तै एक चर्चित रुफटप बारहरूमध्ये एक हो, । प्रायः भरिभराउ हुने बार खाली थियो । कुनाका दुई टेबलमा मात्र ग्राहक थिए । तर, उनीहरू न त स्थानीय थिए, न त पर्यटक नै । उनीहरू थिए, विश्वको अन्तिम कम्युनिस्ट राज्यमध्ये एक क्युबाली सरकारको सम्भावित पतनको कभर गर्ने आशामा देश नछाडेका पत्रकार ।
(द गार्जियनबाट)

सुझावित समाचार