बंगलादेशको निर्वाचनमा यसरी चुक्यो एनसिपी

विद्यार्थी आन्दोलनबाट जन्मिएको नयाँ राजनीतिक दल नेसनल सिटिजन पार्टी (एनसिपी)ले बिहीबारको निर्वाचनमा अपेक्षा गरेअनुसारको परिणाम ल्याउन सकेन

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

फेब्रुअरी १२ बंगलादेशका लागि केवल आमचुनाव मात्र थिएन । नतिजाले बंगलादेश नेसनल पार्टी (बिएनपी) नेतृत्वको गठबन्धनले २१० सिटमा विजय हासिल गरेको देखाएको छ । परिणामले पार्टी अध्यक्ष तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठनका लागि आधार तयार पारेको छ र देशले लगभग ३५ वर्षमा पहिलो पुरुष प्रधानमन्त्री पाउँदै छ ।

सन् २०२४ को जनविद्रोहपछि भएको पहिलो राष्ट्रिय निर्वाचनले परिवर्तित अवस्थाको पुनर्गठन, संसद्मा विपक्षीको पुनव्र्यवस्था र संवैधानिक संक्रमणको परीक्षाको रूपमा एकैसाथ काम गर्यो । नागरिकहरूले आफ्ना प्रतिनिधि मात्र नभई जनमतसंग्रहमार्फत व्यापक सुधार एजेन्डा कार्यान्वयन गर्नेबारे पनि मतदान गरे । सुधार प्याकेजको कार्यान्वयनमा राष्ट्रिय जनमतसंग्रह भएको थियो, जसमा ६०.२६ प्रतिशत मतदाताको ‘हुन्छ’ मतले स्पष्ट बहुमत प्राप्त गरेको छ । चुनाव र जनमतसंग्रहले संक्रमणको स्थायित्वको परीक्षण गरेको छ र संवैधानिक सुधारले नयाँ व्यवस्थालाई स्थिर बनाउने अपेक्षा गरिएको छ । 

विद्यार्थी आन्दोलनबाट जन्मिएको नयाँ राजनीतिक दल नेसनल सिटिजन पार्टी (एनसिपी)ले आन्तरिक असहमति, विशेषगरी महिलामाथि जमात–ए–इस्लामीको भेदभावपूर्ण अडानका बाबजुद उक्त पार्टीसँग गठबन्धन गरेर चुनावमा भाग लिएको थियो । एनसिपीसँग औपचारिक रूपमा सम्बद्ध नभएका व्यक्ति र अन्य प्रबुद्ध वर्गले पनि पार्टीलाई स्वतन्त्र रूपमा चुनाव लड्न आग्रह गरेका थिए । यी दबाबलाई बेवास्ता गर्दै एनसिपी गठबन्धनमा सामेल भयो र ३० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्यो । एनसिपीले केवल ६ सिटमा विजयी गर्यो भने गठबन्धन साझेदार जमातले ६८ सिट जित्यो ।

विशेषगरी महिलामाथि जमात–ए–इस्लामीको भेदभावपूर्ण अडानका बाबजुद उक्त पार्टीसँग गठबन्धन गरेर एनसिपीले चुनावमा भाग लिएको थियो । एनसिपीसँग औपचारिक रूपमा सम्बद्ध नभएका व्यक्ति र अन्य प्रबुद्ध वर्गले पनि पार्टीलाई स्वतन्त्र रूपमा चुनाव लड्न आग्रह गरेका थिए । यी दबाबलाई बेवास्ता गर्दै पार्टी गठबन्धनमा सामेल भयो ।

मैले व्यक्तिगत रूपमा देखेको छु कि त्यहाँ केही मतदाता थिए जसले एनसिपीलाई समर्थन गर्ने उद्देश्य राखेका थिए । तर रुढीवादी पार्टीसँग उसको गठबन्धनका कारण उनीहरू भड्किए । यी मतदाताहरूमध्ये धेरैले विभिन्न कारणले बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी)लाई पनि समर्थन गरेनन् । सीमित विकल्प बाँकी रहँदा, एक उल्लेखनीय संख्याले राजनीतिक रूपमा निराश महसुस गरे । केही पूर्णरूपमा मतदान गर्नबाट टाढा रहे भने जमातविरोधी भावना भएका अन्यले बिएनपीलाई मतदान गरे । स्वतन्त्र रूपमा चुनाव नलडेर एनसिपीले राष्ट्रव्यापी रूपमा आफ्नो राजनीतिक पूर्वाधार निर्माण गर्ने अवसर गुमायो, जसले लामो समयसम्म यसलाई फाइदा पुर्याउन सक्थ्यो ।

अब एनसिपीले जमातको छायाँबाट बाहिर निस्कन द्रुतगतिमा अघि बढ्नुपर्छ । यसको पहिचान र सार्वजनिक छविमा पहिले नै उल्लेखनीय क्षति भइसकेको छ, गठबन्धनविना भाग लिएको भए गुमेको विश्वास प्राप्त गर्न गाह्रो हुने थिएन । वर्तमान ‘क्रोधित राजनीति’को अभ्यासबाट टाढा जाँदै परिवर्तित रचनात्मक राजनीतितर्फ अगाडी बढ्दा एनसिपीले पुनः विश्वसनीयता प्राप्त गर्न सक्नेछ ।

बंगलादेशी राजनीतिको अग्रपंक्तिमा फर्कने सम्भावना रहेको एउटा मुद्दा स्वतन्त्रताको प्रश्न हो, जसले कहिल्यै राजनीतिक प्रासंगिकता गुमाएको छैन । अवामी लिगको अपदस्थपछि १९७१ को भावनाका लागि स्पष्ट आवाज उठाउने र त्यस अडानका लागि विपक्षीहरूले आलोचना गर्ने व्यक्तित्व किशोरगन्जका मोहम्मद फजलुर रहमानको चुनावी विजयले यो स्थायी विशेषतालाई चित्रण गर्दछ । उनको विजयको ठुलो अन्तरले मुक्ति युद्धको कथाको निरन्तर राजनीतिक शक्तिलाई संकेत गर्दछ ।

वास्तवमा, अन्य प्रमुख दलहरूको तुलनामा १९७१ को भावनासँग बिएनपीको स्पष्ट र तुलनात्मक रूपमा बलियो आत्मीयताले आंशिक रूपमा २१० सिटको भारी विजयमा योगदान पुर्यायो । बिएनपीले आफ्नो सन्देशमा १९७१ र २०२४ दुवैको भावनालाई सन्तुलनमा राख्न सफल भयो जबकि केही अन्य दलहरूले २०२४ को क्रान्तिलाई मात्र जोड दिए र १९७१ को स्वतन्त्रतालाई कम महत्व दिए । यसो गर्दा, बिनएपीले सही रूपमा बुझ्यो कि राजनीति भनेको जनमत प्रतिबिम्बित गर्ने मात्र होइन, बरु यसलाई आकार दिने पनि हो र यसको विजयको मापनले त्यो रणनीतिको सार्वजनिक समर्थनलाई संकेत गर्दछ ।

अर्कोतर्फ, मुख्य प्रतिपक्षी दल जमातका प्रमुख अमिरले अलजजिरासँगको अन्तर्वार्तापछि महिला नेतृत्वमाथिको आफ्नो अडानलाई लिएर तीव्र आलोचनाको सामना गर्नुपरेको थियो । धेरैले यो अडानलाई बहिष्कारवादी र महिलाविरोधीको रूपमा बुझेका थिए र यसले प्राप्त गरेको कुल सिटले आंशिक रूपमा यस विवादमा सार्वजनिक प्रतिक्रियालाई प्रतिबिम्बित गर्न सक्छ । यद्यपि, यसअघिको निर्वाचनमा १८ भन्दा बढी सिट सुरक्षित गर्न संघर्ष गरिरहेको पार्टीका लागि पर्याप्त महिला मतदाता समर्थनविना यसको हालको स्थितिमा पुग्न असम्भव हुने थियो । अवामी लिगको राजनीतिक गतिविधिमा प्रतिबन्धका कारणले बिएनपीको विकल्प नदेखेका मतदाताबाट वा व्यापक विपक्षी शून्यताभित्र उसले केही हदसम्म सफलता हासिले गरेको छ ।

सामाजिक नैतिकताका प्रश्न बिएनपी नेतृत्वको भावी सरकारको विभिन्न दायित्वमध्ये एउटा दायित्वसँग जोडिएका छन्, विगत डेढ दशकदेखि समाजमा बल्झिएको घाउमा मलम लगाउने काम । अन्तरिम सरकारले अवामी लिग शासनले गरेको केही क्षतिलाई उल्टाउने अपेक्षा गरिएको थियो । तर, परिणाम उल्टो निस्कियो । प्रायः भिडले नै हिंसा बढाउन र कानुन व्यवस्था बिग्रन दिएर अस्थिरतालाई अझ गहिरो बनाउँदै गएको देखिन्थ्यो । समाजमा अमनचयन र शान्तिसुरक्षा कायम गर्नुको सट्टा भिडले नै शासन गर्न थालेको थियो । केही भिडले त धम्की दिएर मनपरी रकमसमेत उठाएको थियो, जसले जनताको विश्वासलाई कमजोर बनायो । त्यसकारण, सुरक्षा पुनस्र्थापना गर्नु आगामी सरकारको प्राथमिक उद्देश्य हुनुपर्छ, साथै राष्ट्रव्यापी जबर्जस्ती रकम असुल्ने सञ्जालविरुद्ध निर्णायक कारबाही पनि हुनुपर्छ ।

नयाँ सरकारलाई २०२४ को जनविद्रोहको आकांक्षालाई सम्मान गर्ने जिम्मेवारी पनि दिइनेछ । जनमतसंग्रहको नतिजाले प्रमुख संवैधानिक सुधारका प्रस्ताव पारित हुने सम्भावना देखाएको छ । यहाँ सम्भवतः नतिजामुखी शासन व्यवस्था कायम गर्नु र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु सबैभन्दा ठुलो चुनौती रहेको छ ।जुलाई बडापत्रका धेरै प्रावधानमा बिएनपी पार्टीको अडान जमात र एनसिपीको भन्दा फरक छ । जुलाई राष्ट्रिय बडापत्र (संवैधानिक सुधार) कार्यान्वयन आदेश, २०२५ मार्फत संरचित जनमतसंग्रह ढाँचाले बिएनपीको आपत्तिलाई संस्थागत महत्व दिएको देखिन्छ, जसले प्रारम्भिक संवैधानिक द्वन्द्वलाई संकेत गर्दछ । सुधार प्रक्रिया संवैधानिक संक्रमणलाई ट्र्याकबाट नहटाइकन असहमति व्यवस्थापन गर्न डिजाइन गरिएको थियो ।

जुलाई बडापत्रलाई मतदाताहरूलाई सामूहिक सुधार सम्झौताको रूपमा प्रस्तुत गरिएको थियो, यद्यपि त्यो सम्झौताका सबै तत्व भविष्यको राजनीतिक संशोधनबाट अलग थिएनन् । जनमतसंग्रहको अनुमोदनले संवैधानिक असहमतिलाई निर्णायक रूपमा समाधान गर्दैन । यसले द्वन्द्वको सम्भावना पनि निम्त्याउन सक्छ । त्यसैले आगामी महिनामा देखापर्ने कुनै पनि अस्थिरता केवल पक्षपाती प्रतिद्वन्द्विताबाट मात्र उत्पन्न हुने सम्भावना कम छ । यो सुधार प्रक्रियाको डिजाइनबाट नै प्रवाहित हुन सक्छ ।
 डा. काजी एएसएम नुरुल हुडा ढाका विश्वविद्यालयमा दर्शनशास्त्रका सहप्राध्यापक हुन् ।(डेलि स्टारबाट) 

सुझावित समाचार