सरकारले जिटुजी प्रक्रियामार्फत नेपाली कामदार पठाउँदै आएको दक्षिण कोरिया र इजरायलमा चाँडै एक सय ७० युवा पठाउने गरी रोस्टर सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १०, ११ र १३ फागुनमा कोरियामा कुल एक सय ५५ युवा पठाउन लागिएको छ । त्यस्तै, केयर गिभरको रोजगारीका लागि इजरायलमा १५ युवा पठाउन लागिएको हो ।
इपिएस शाखाका अनुसार १० फागुनमा ९५, ११ फागुनमा ५० र १३ फागुनमा १० युवालाई रोजगारीका लागि कोरिया पठाउने निश्चित भएको छ । उनीहरूको नामसमेत सार्वजनिक गरेर शाखाले श्रम स्वीकृति लिई आवश्यक कागजातसमेत तयार गर्न सूचित गरेको छ ।
शाखाका अनुसार कोरिया जानका लागि छनोटमा परेका युवाले ४६.२० डलरबराबरको नेपाली रुपैयाँ सम्बन्धित बैंक खातामा जम्मा गर्नुपर्नेछ । त्यस्तै, कम्तीमा ६ वर्षको वैदेशिक रोजगार आवधिक जीवन बिमा गर्नुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा २५ सय रुपैयाँ दाखिला गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा न्यूनतम २५ सय ९६ रुपैयाँ राख्नुपर्ने, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट पूर्वअभिमुखीकरण तालिमको प्रमाणपत्र लिनुपर्ने, स्वास्थ्य परीक्षण गराउनुपर्नेलगायतका सबै काम सक्न शाखाले जानकारी गराएको छ ।
वैदेशिक रोजगार विभागले १० जनाको नाम सार्वजनिक गर्दै केयर गिभर रोजगारीका लागि इजरायलन जान छनोट भएकाले करार सम्झौता गर्न सूचित गरेको छ । इजरायलस्थित रोजगारदाता कम्पनीबाटै छनोटमा परिसकेकाले विभागमा सोमबार उपस्थित भई करार सम्झौता गर्न बोलाइएको हो । कामदार र विभागबिच करार सम्झौता भएपछि भिसा सहजीकरणको प्रक्रिया सरकारले नै सुरु गर्नेछ । विभागमा करार सम्झौता गर्न आउँदा म्याद रहेको प्रहरी रिपोर्ट, राहदानी, स्वास्थ्य परीक्षण रिपोर्टलगायतका कागजात साथमै ल्याउन पनि सूचित गरिएको छ ।