दुई एसोसिएट भिडन्तमा अमेरिका विजयी

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

 अमेरिकाले समूह ‘ए’को आफ्नो अन्तिम खेलमा अर्को एसोसिएट राष्ट्र नामिबियालाई ३१ रनले हराएको छ । जितसँगै अमेरिकाले चार खेलबाट ४ अंक जोडेको छ । नामिबियाले तीनवटै खेल गुमाएको छ । विश्वकपको समूह चरणबाटै बाहिरिने नामिबिया तेस्रो राष्ट्र बनेको छ । अमेरिकाको भने गणितीय आधारमा सुपर एटको सम्भावना छ । प्रतियोगितामा ओमान पहिलो तथा नेपाल दोस्रो राष्ट्रका रूपमा बाहिरिएका हुन् । 

चेन्नईमा भएको प्रतिस्पर्धामा अमेरिकाले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाएर १९९ को बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नामिबियाले ६ विकेट गुमाएर १६८ रन जोड्दा अमेरिका ३१ रनले विजयी भयो । अमेरिकाको ब्याटिङमा दुई ब्याट्सम्यानले अर्धशतकीय योगदान दिएका थिए । ओपनर मोनांक पटेलले ३० बलमा समान तीन छक्का र चौका प्रहार गरी ५२ रन जोडेका थिए । सञ्जय कृष्णमुर्थीले ३३ बलमा ६ छक्का र चार चौका प्रहार गरी सर्वाधिक ६८ रनको योगदान दिए । 

अमेरिकाले पहिलो विकेटका लागि ६.५ ओभरमा ६८ रनको साझेदारी गरेको थियो । त्यसपछि मिलिन्द कुमार र र सञ्जयले चौथो विकेटका लागि ४७ बलमा ८७ रनको साझेदारी गर्दै अमेरिकालाई १९०–४ को बलियो स्थितिमा पु¥याए । मिलिन्दले २० बलमा समान एक चौका र छक्काको सहयोगमा २८ रन जोडे । नामिबियाका सबैजसो बलर खर्चिला देखिए । 

नामिबियाको मध्यक्रम कमजोर
नामिबियाले कीर्तिमानी दुई सय रनको लक्ष्य पछ्याएको थियो । अमेरिकामाथि जित निकाल्न प्रतिओभर १० रन बनाउनुपर्ने थियो । ओपनर लोरेन्स स्टिकाम्प र जान फ्रायनले पहिलो विकेटका लागि ५.२ ओभरमा ५४ रन जोडे । जानले १६ बलमा समान एक चौका र एक छक्का हिर्काएर १९ रन जोडे । त्यसपछि जान निकोल र लाउरेनले दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । जान निकोल आउट हुँदा नामिबिया १०.३ ओभरमा ९९–२ को अवस्थामा थियो । 
इनिङ्सको १०औँ ओभरसम्म नामिबियाले आवश्यक रनरेटअनुसार ब्याटिङ गरी अमेरिकामाथि दबाब राखेको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा नामिबियाको रनरेट बिस्तारै ओरालो लाग्यो । लाउरेन इनिङ्सको १२.३ ओभरमा आउट भए । उनले ३९ बलमा तीन छक्का र पाँच चौकाको सहयोगमा ५८ रनको योगदान दिए । 

सुझावित समाचार