महाशिवरात्रिमा करिब सात लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । आइतबार बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी र भक्तजनको घुइँचो थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवास जोशीका अनुसार यकिन तथ्यांक नभए पनि यसपटक शिवरात्रिमा सात लाखले दर्शन र पूजाआजा गरेको अनुमान छ । ‘ठ्याक्कै अंक त भन्न सकिने अवस्था भएन, तर सात लाखले पशुपतिनाथको दर्शन गरेको अनुमान कोषको छ,’ कोषका कार्यकारी निर्देशक जोशीले नयाँ पत्रिकासँग भने ।
दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की पनि पशुपतिनाथ पुगेका थिए । करिब पाँच बजे राष्ट्रपति पौडेल र लगत्तै प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शन गरे । यसपटकको शिवरात्रिमा भारतबाट करिब तीन हजार पाँच सय साधुसन्त र बाबा आएका थिए ।
कोषले दर्शनार्थीको अत्यधिक भिड व्यवस्थापनका लागि केही सातादेखि नै तयारी गरेको थियो । मन्दिरपरिसरमा रंगरोगनदेखि जनशक्ति व्यवस्थापनको कार्य गरिएको थियो । शिवरात्रिमा करिब आठ हजार सुरक्षाकर्मी परिचालन थिए । कोषकै करिब चार सय कर्मचारी पनि पर्व व्यवस्थापनमा खटिएका थिए ।