आयरल्यान्डले समूह ‘बी’मा ओमानमाथि ९६ रनको फराकिलो जित निकालेको छ । जितसँगै आयरल्यान्डले पनि अंकगणितीय आधारमा सुपर एटको सम्भावना कायम राखेको छ । हारले ओमान भने भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिने पहिलो राष्ट्र बनेको छ । कोलम्बोको प्रेमादासा रंगशालामा आयरल्यान्डले पहिलो ब्याटिङ गरी पाँच विकेट गुमाएर २३५ रनको विशाल योगफल खडा गर्यो । प्रत्युत्तरमा ओमान १८ ओभरमा १३९ रनमा समेटियो । ओमानले तीनवटै खेल गुमाएको छ ।
लोर्कानको नटआउट ९४ रन
आयरल्यान्डले ओमानविरुद्ध गतिलो ओपनिङ गर्न सकेन । ओपनिङबाहेक अन्य विकेटका लागि आयरल्यान्डको ब्याटिङ प्रदर्शन अब्बल रह्यो । ओपनर टिम टेक्टरले पाँच रन तथा रोस आदिरले १४ रन बटुलेका थिए । ह्यारी टेक्टरले १४ रन जोडे । आयरल्यान्डले पहिलो तीन विकेट ४.६ ओभरमा ४५ रनमा गुमाएको थियो । त्यसपछि कप्तान लोर्कान टकर र गेराथ डेलानीले पाँचौँ विकेटका लगि १०१ रनको शतकीय साझेदारी गर्दै आयरल्यान्डलाई १६५–५ को बलियो स्थितिमा राखे । इनिङ्समा नटआउट रहेका लोर्कानले ५१ बलमा १० चौका र चार छक्का प्रहार गरी सर्वाधिक ९४ रन जोडे । गेराथले ३० बलमा चार छक्का र तीन चौका प्रहार गरी ५६ रन जोडे । यसैगरी, डक्रेलले केवल नौ बलमा पाँच छक्काको सहयोगमा ३५ रन जोड्दा आयरल्यान्डले ओमानविरुद्ध २३६ रनको लक्ष्य प्रस्तुत गर्यो ।
प्रत्युत्तरमा ओमानका लागि केवल दुई ब्याट्सम्यानले मात्र उत्कृष्ट प्रदर्शन गरेका थिए । ओपनर अमिर कालिमले २९ बलमा दुई छक्का र र पाँच चौकाको सहयोगमा ५० रनको योगदान दिए । चौथो क्रमका खेलाडी हमिद मिर्जाले २७ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ४६ रन जोडेका थिए । ओमानका सात ब्याट्सम्यानले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । आयरल्यान्डका लागि जोस लिटलले १६ रन खर्चेर तीन विकेट हात पारे ।
इंग्ल्यान्ड दोस्रो स्थानमा उक्लियो
दुईपटकको विजेता इंग्ल्यान्ड समूह ‘सी’को दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताको शनिबार इर्डन गार्डेन रंगशालामा इंग्ल्यान्डले छिमेकी राष्ट्र स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै दोस्रो स्थान रक्षा गरेको हो । पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाएर १५२ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा इंग्ल्यान्डले १८.२ ओभरमा पाँच विकेटको क्षतिमा १५५ रन जोड्दै दुई अंक जोड्यो ।
इंग्ल्यान्डले तीन खेलबाट चार अंक जोड्दा दुई जित र एक हारको सामना गरेको छ । स्कटल्यान्डले तीन खेलमा एक जित र दुई हार निकाली दुई अंक जोडेको छ । स्कटल्यान्ड तेस्रो र दुई अंक जोडेको इटाली चौथो स्थानमा छ । इंग्ल्यान्डको जितमा जाकोब वेथल र टोम बन्टोनले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । जाकोबले २८ बलमा ३२ रन बनाए । टोमले ४१ बलमा चार चौका र तीन छक्का हिर्काएर सर्वाधिक ६३ रन जोडेका थिए ।
स्कटल्यान्डको कसिलो बलिङमा इंग्ल्यान्ड मध्यक्रममा धैर्यतापूर्वक ब्याटिङ गरेको थियो । साम कुरानले २० बलमा २८ रन तथा विल ज्याक्सले १० बलमा १६ रन जोडे ।
यसअघि पहिलो ब्याटिङ गरेको स्कटल्यान्डविरुद्ध आदिल रसिदले तीन विकेट लिएका थिए र फास्टबलर जोफ्रा आर्चर र लिआम ड्वासनले समान दुई विकेट हात पारे । स्कटल्यान्डको ब्याटिङमा दोस्रो ओपनर माइकल जोनेसले २० बलमा पाँच चौकार एक छक्का प्रहार गरी ३३ रन बनाए । कप्तान रिचिए बेरिंटनले ३२ बमला ४९ रनको योगदान दिए ।