जारी एन्फा महिला च्याम्पियनसिपको आज शनिबार दुई खेल सम्पन्न भएको छ । उदयपुरको थरुहट रंगशालामा सम्पन्न भएको एन्फा महिला च्याम्पियनसिप–२०८२ अन्तर्गत भएका खेलहरूमा नेपाल पुलिस फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड महिला टोलीले जित निकालेको छ ।
विभागीय टोली पुलिसले एफसी रियालेमाथि १०–० को फराकिलो जित निकाल्दा चर्च ब्वाइजले छहारी युवा क्लबलाई १–० ले पराजित गर्यो।
रेखाको ह्याट्रिकमा पुलिसको सहज जित
शनिबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले एफसी रियलको टोलीलाई पूर्ण रूपमा दबाबमा राखेको थियो । पुलिसको जितमा स्टार स्ट्राइकर रेखा पौडेल नायक बनिन् । उनले खेलको ११औँ, १२औँ, ४५औँ, थप गरिएको ४५ २औँ, ७२औँ र ७७ औँ मिनेटमा गरी कुल ६ गोल गर्दै डबल ह्याट्रिक’ पूरा गरिन्।
पुलिसका लागि मीना देउवाले १८ औँ र ४९ औँ मिनेटमा दुई गोल थपिन् भने पुजा रानाले १४औँ र विर्सना चौधरीले ६७ औँ मिनेटमा एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शन गरेकी रेखा पौडेल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले छहारी युवा क्लबमाथि १–० को कठिन जित हात पार्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको यस प्रतिस्पर्धात्मक खेलमा ७८औँ मिनेटमा वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो ।
उक्त खेलमा निर्णायक गोल गरेकी वर्षा ओली नै ‘प्लेयर अफ द म्याच’ चुनिएकी छन् ।
हिजो भएको एन्फा महिला च्याम्पियनसिपको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले सशक्त प्रदर्शन गर्दै गाईघाट एफसीलाई २–० गोलले पराजित गरी विजयी सुरुवात गरेको छ । अब भोलि एपीएफ फुटबल क्लब र आरएस रिसोर्टबीच हुने छ । फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउटको आधारमा खेलाइएको छ ।