विगतका निर्वाचनमा उद्योगी–व्यवसायीको उम्मेदवारी नगन्य हुने गरेको थियो । यसपटक भने दलहरूले यस क्षेत्रबाट पनि उल्लेख संख्यामा प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन् । संसद्मा राम्रो उपस्थिति हुँदा आर्थिक मुद्दा उठानका लागि सघाउ पुग्ने उद्योगी–व्यवसायीको भनाइ छ ।
फोर्ब्सको सूचीमा सूचीकृत एक मात्र नेपाली अर्बपति विनोद चौधरीदेखि, पूर्वबैंकर र मझौला तथा साना उद्योगी–व्यापारी विभिन्न दलबाट उम्मेदवार बनेका छन् । चौधरी समूहका अध्यक्षसमेत रहेका चौधरी कांग्रेसका तर्फबाट नवलपरासी १ मा उम्मेदवार बनेका छन् । उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन् । ०७९ को चुनावमा पनि उनी यही क्षेत्रबाट विजयी बनेका थिए ।
०७९ मा रसुवाबाट निर्वाचित निर्माण व्यवसायी मोहन आचार्य अहिले पनि उम्मेदवार बनेका छन् । त्यस्तै, ऊर्जा तथा मेडिकल व्यवसायी डा. सुनीलकुमार शर्माले मोरङ ३ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनीहरू दुवै कांग्रेस केन्द्रीय सदस्य हुन् ।
कांग्रेसबाटै जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक अनिलकुमार रुंगटा पर्सा १, यशोदा फुड्सका मालिक चुन्नप्रसाद शर्मा रुपन्देही २, नेपाल अलैँची व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरे झापा ३, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर कैलाली २, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेशप्रसाद धमला धादिङ २ बाट र पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण रिजाल धादिङ १ बाट चुनावी मैदानमा छन् ।
मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका पूर्वअध्यक्ष भरतराज ढकाल स्याङ्जा १, घरजग्गा व्यवसायी प्रेमकुमार खत्री गोरखा १, कुरिअर तथा कार्गाे व्यवसायी प्रकाशसिंह कार्की सोलुखुम्बु, वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाट कास्की १, म्यानपावर व्यवसायी किरणकिशोर घिमिरे दाङ २, भन्सार एजेन्ट तथा व्यवसायी केशव पाण्डे झापा १ र व्यवसायी भुवन श्रेष्ठ गुल्मी २ का उम्मेदवार बनेका छन् । उनीहरू सबैलाई कांग्रेसले अघि सारेको हो ।
एमालेबाट पनि दर्जनभन्दा बढी उम्मेदवार
एमालेले पनि दर्जनभन्दा धेरै उद्योगी–व्यवसायीलाई चुनावी मैदानमा उतारेको छ । लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया कपिलवस्तु ३, व्यवसायी उमाशंकर अरगरिया धनुषा २, उद्योगपति दिलीप अग्रवाल मोरङ २, मनाङ वाइनका मालिक पोल्देन छोपाङ गुरुङ मनाङ, पूर्वबैंकर मीनप्रसाद गुरुङ स्याङ्जा १, व्यवसायी मनोज अग्रवाल मोरङ ५ का एमाले उम्मेदवार बनेका छन् ।
त्यस्तै, झापा १ मा दुग्ध व्यवसायी रामचन्द्र उप्रेती, स्याङ्जा २ मा व्यवसायी खिम थापा, झापा ४ मा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बू, नवलपुर १ मा उद्योगी भगीरथ सापकोटा र काभ्रे १ मा पर्यटन व्यवसायी अमित लामालाई एमालेले चुनावी मैदानमा उतारेको छ । बारा ४ बाट उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठ पनि व्यवसायी हुन् । यसअघि पनि सांसद र मन्त्री भइसकेका उनले होटेल, अपार्टमेन्ट र निर्माण सामग्रीमा लगानी गरेका छन् ।
रास्वपाबाट उम्मेदवारी दिएका व्यवसायी
भक्तपुर १ मा रास्वपाले भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जितलाई उम्मेदवार बनाएको छ । त्यस्तै, रास्वपाबाटै स्याङ्जा १ मा पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसिइओ धनञ्जय रेग्मी, सिन्धुपाल्चोक १ मा ऊर्जा व्यवसायी भरतप्रसाद पराजुली, बारा ३ मा भुक्तानी सेवाप्रदायक आइएमईका लगानीकर्ता अरविन्द साह र उदयपुर १ मा व्यवसायी पारसमणि गेलाल चुनावी मैदानमा उत्रिएका छन् ।
व्यवसायी डा. वीरेन्द्रप्रसाद महतो जनमत पार्टीका तर्फबाट सिराहा ४ मा उम्मेदवार बनेका छन् । ०७९ मा जसपाबाट उम्मेदवार बनेका उनी यही क्षेत्रबाट विजयी भएका थिए । उनी माछापुच्छ«े बैंकका पूर्वअध्यक्ष हुन् ।
पर्यटन व्यवसायी ज्योत्सना सैँजू उज्यालो नेपाल पार्टीबाट काभ्रे २ मा उम्मेदवार छिन् । राइड सेयरिङ एप पठाओका सञ्चालक असीममानसिंह बस्नेतले काठमाडौैंं १ बाट स्वतन्त्र उम्मदेवारी दिएका छन् ।
दलहरूले उद्योगी–व्यवसायीलाई समानुपातिक उम्मेदवार पनि बनाएका छन् । त्यसैले यसपटक संसद्मा यस क्षेत्रबाट विगतका भन्दा राम्रो उपस्थिति रहने जानकारहरू बताउँछन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले दलहरूले उद्योगी–व्यवसायीलाई उम्मेदवार बनाउनु सकारात्मक भएको बताए । ‘संसद्मा उद्योगी–व्यवसायी साथीहरूको राम्रो उपस्थिति भयो भने आन्तरिक उत्पादन तथा रोजगारी बढाउने गरी नीति निर्माण गर्न सहयोग पुग्छ । अर्थतन्त्रका विभिन्न मुद्दा उठानका लागि पनि सघाउ हुने अपेक्षा गर्न सकिन्छ,’ उनले भने, ‘विगतमा राजनीतिक प्रणालीमा अर्थतन्त्रका मुद्दाले प्राथमिकता पाएनन् । अब उद्योगी साथीहरू नै संसद्मा पुगेपछि यस्ता मुद्दाले प्राथमिकता पाउनेछन् ।’