उदयपुरमा पहिलोपटक आयोजना हुन लागेको एन्फाको राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रियुगा नगरपालिका– १३ स्थित थरुहट रंगशालामा आजदेखि ‘एन्फा महिला च्याम्पियनसिप २०८२’ सुरु हुन लागेको हो । फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट प्रणालीमा हुनेछ। आज हुने उद्घाटन खेलमा आयोजक क्षेत्रको प्रतिनिधित्व गर्ने गाईघाट एफसी र चर्चित क्लब एनआरटीबिच प्रतिस्पर्धा हुनेछ ।
एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। एन्फाले खेलमैदान, प्राविधिक तयारी, आवास, सुरक्षा र प्रत्यक्ष प्रसारणसम्बन्धी सबै व्यवस्था मिलाइसकेको जानकारी छ । प्रतियोगिताका सबै खेल ‘खेलाडी डटकम’ को युट्युब तथा फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । प्रतियोगितामा गाईघाट एफसी, एनआरटी, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, संकटा एफसी, चर्च ब्वाइज युनाइटेड, एफसी रियाले, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब र छहारी एफसी गरी १० टोलीको सहभागिता रहेको छ ।
विजेता टोलीले सात लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । फेयर प्ले टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता प्रत्येकले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट एक करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
राजधानीकेन्द्रित खेल गतिविधिलाई तोड्दै उदयपुरजस्तो जिल्लामा राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता आयोजना हुनु महिला खेलकुदको प्रवर्द्धन, समावेशिता र क्षेत्रीय सन्तुलनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । लामो समयपछि ठुलो प्रतियोगिता फर्किएसँगै उदयपुरमा फुटबलप्रेमीको उत्साह पनि बढेको छ । दोस्रो दिन नेपाल पुलिस र एफसी रियालेबिच खेल हुनेछ ।