नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्ना उम्मेदवार र पार्टी संरचनालाई चुनावी अभियानमा आर्थिक व्यवस्थापन पारदर्शी, संयमित र कानुनी दायराभित्र राख्न स्पष्ट निर्देशन दिएको छ।
पार्टीले हालै प्रकाशित ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२’ शीर्षकको ३४ बुँदे परिपत्रमार्फत अभियान सञ्चालनका क्रममा स्रोत व्यवस्थापन गर्दा स्वैच्छिक सहयोग स्वीकार गर्न सकिने, तर कुनै व्यवसायी वा व्यक्तिमाथि दबाब नपर्नुपर्ने कुरा स्पष्ट पारेको छ।
निर्देशिकामा भनिएको छ कि अभियानलाई ‘साझा दायित्व र साझा स्वामित्व’को अवधारणाअनुसार अघि बढाउन सदस्यहरूको सहभागितामा निश्चित कोष खडा गरी खर्च गर्न, अनावश्यक व्यय नगर्न र मतदान सम्पन्न भएपछिका १५ दिनभित्र खर्च विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ।
पार्टीले पूर्वशिक्षक, पूर्वसैनिक, पूर्वप्रहरी र अन्य अवकाशप्राप्त व्यक्तिहरूको अनुभवलाई सामाजिक उपयोगमा ल्याउने रणनीति अघि सारेको छ। प्रत्येक निर्वाचन क्षेत्र, पालिका र वडामा उनीहरूसँग समन्वय र परिचालनका लागि निश्चित संयन्त्र निर्माण गरिनेछ।
त्यसैगरी, विदेशबाट फर्किएका युवाहरूको स्थानीय समाजमा रहेको प्रभाव र सञ्जाललाई ध्यानमा राख्दै उनीहरूलाई पार्टी गतिविधिमा समेट्ने कार्ययोजना पनि कार्यान्वयन गर्न भनिएको छ। विगतमा गठन गरिएको पूर्वआप्रवासी विभागमार्फत स्थानीय तहसम्म समन्वय, सम्पर्क र परिचालन सुदृढ बनाउने निर्देशन दिइएको छ।
पार्टीले आन्तरिक मतभेद र असमझदारीलाई निर्वाचन तयारीमा बाधक बन्न नदिन सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ। ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने सन्देश प्रभावकारी रूपमा प्रस्तुत गर्दै विश्वास निर्माणमा केन्द्रित अभियान सञ्चालन गर्न भनिएको छ।
परिपत्रमार्फत सभापति गगन थापालाई प्रधानमन्त्री पदका उम्मेदवारको रूपमा अघि सारिएको जानकारी दिइएको छ। साथै, पार्टीको प्रतिज्ञापत्रमा समेटिएको ‘भिजन १०’ लाई भावी दिशा, दायित्व र लक्ष्यको रूपमा अघि राख्दै सोही आधारमा निर्वाचन अभियान केन्द्रित गर्न निर्देशन दिइएको छ।