- दक्षिण अफ्रिकासँगको खेलमा नियम तोडेका मोहमद नाबीलाई आइसिसीले १५ प्रतिशत म्याच फी जरिवाना गराएको छ
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अफगानिस्तानका खेलाडीले खेल भावनाविपरीत कार्य गरेकामा दण्डित गरेको छ । भारत र श्रीलंकामा चलिरहेको १०औँ संस्करणको टी–२० विश्वकपअन्तर्गत बुधबार भएको दक्षिण अफ्रिकासँगको प्रतिस्पर्धामा अफगानी पूर्वकप्तान मोहमद नाबीले दोस्रो सुपर ओभरमा नियम तोडेका थिए । दक्षिण अफ्रिकाले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हराएको थियो । दोस्रो सुपर ओभरमा नाबी शून्यमा आउट भएका थिए । उनी सुपर ओभरको दोस्रो बलमै पेभेलियन फर्केका थिए । आउट हुँदा उनी दु:खी देखिए । क्रिजबाट बाहिरिने क्रममा उनले दक्षिण अफ्रिकी खेलाडीलाई अपशब्द प्रयोग गरेको आइसिसीले जनाएको छ ।
आइसिसीले नाबीलाई आचारसंहिताको लेभल १ अनुसार कारबाही गरेको छ । यो नियमअनुसार नाबीले १५ प्रतिशत म्याच रकम जरिवना तिर्नुपर्नेछ । यसैगरी खेलका दौरान अफगानी खेलाडीले दक्षिण अफ्रिकी टोलीका सदस्यलाई बारम्बार जिस्काइरहेको आइसिसीको भनाइ छ ।
आइसिसीले अन्य खेलाडी र अफगानिस्तान टोलीलाई कोड अफ कन्डक्टअनुसार आर्टिकल २.४ को नियम तोडेको उल्लेख गरेको छ । यो नियमअनुसार अफगानिस्तान टोलीले म्याच खेलेबापत पाउने रकमको केही प्रतिशत जरिवना तिर्नुपर्नेछ ।
खेलाडीको हकमा १५ प्रतिशत म्याच फी तिर्नुपर्ने आइसिसीले जनाएको छ । ‘प्रतिस्पर्धामा धेरैपटक अफगानिस्तानका खेलाडीले नियम भंग गरेको पायौँ । अम्पायरको रिपोर्टमा पनि यस्तै उल्लेख छ,’ आइसिसीको प्रतिवेदनमा भनिएको छ, ‘खेलाडीमध्ये नाबीले सुपर ओभरमा लेभल १ भन्दा बाहिर गएर कार्य गरेका थिए ।’
आइसिसीले प्रतिस्पर्धामा खेल सन्तुलन राख्न खेलाडीलाई नियममा राखेको बताएको छ । ‘खेलमा हार वा जित हुन्छ । तर, पराजित भएको वेलामा खेल भवनाविपरीत कुनै पनि खेलाडी जान मिल्दैन,’ आइसिसीले भन्यो, ‘यो नियम सबैमा लागू हुनेछ ।’
अफगानिस्तानले ब्याटिङ इनिङ्सको १४औँ ओभरमा नाबीले दक्षिण अफ्रिकी बलर एन्डिगीविरुद्ध अपशब्द प्रयोग गरेका थिए । यद्यपि, एन्डिगीले सुरुवातमै झगडा गरेको दाबी नाबीले गरे । फिल्ड अम्पायरले दुवै गतिविधि नजिकबाट नहेरेका होइनन्, तर नाबी सुरुवातमै विपक्षी बलरविरुद्ध शब्द प्रयोगमा हाबी हुन खोजेका थिए ।