काठमाडौंमा ६० लाख रुपैयाँ डकैती गर्ने थप दुईजना पक्राउ परेका छन्। प्रहरीले सुर्खेतका रमेश बुढामगर र इलामका दीपक राईलाई झापाबाट पक्राउ गरेको हो।
सो घटनामा संलग्न प्रहरीसहित चारजना यसअघि नै पक्राउ परिसकेका छन्।
सो समूहले गत १४ माघमा ललितपुरका एक सुन पसलेलाई कीर्तिपुरनजिकै भेट्न बोलाएर सस्तोमा सुन बिक्री गर्ने भन्दै पैसा लुटेका थिए। आफूहरू सिआइबीको प्रहरी भएको भन्दै उनीहरूले लुटपाट गरेका थिए। गिरोहमा मिलेका प्रहरी हवल्दार कर्णबहादुर सुनारसहितलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । हवल्दार सुनार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । उनी योजनाकार समूहमै रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा काभ्रेपलाञ्चोकका दीपक आलेमगर, रसुवाका विक्रम तामाङ, नुवाकोटका जीवन तामाङलगायत छन् । उनीहरूले बिलसहितको सुन सस्तोमा बिक्री गर्ने भन्दै बोलाएर सुन पसलेले ल्याएको पैसा लुटेका थिए । आफूहरू प्रहरी भएको भन्दै लुटेका थिए । त्यसको भोलिपल्ट पीडित प्रहरीमा गएपछि अनुसन्धान सुरु भएको थियो । अवैध सुन किन्ने भन्दै धम्क्याएर पैसाका साथसाथै उनको मोबाइलसमेत उनीहरूले लुटेका थिए ।