आयरल्यान्डलाई ६७ रनले हराउँदै एकपटकको च्याम्पियन अस्ट्रेलियाले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। बुधबार कोलम्बोको प्रेमादाशा रंगशालामा भएको यो खेलसँगै विश्वकपमा सबै २० टिमले समान एक खेल खेलेका छन्।
टस जितेर सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा आयरल्यान्डले १६.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ११५ रन बनाउन सक्यो।
प्रतियोगितामा पहिलो खेल खेलेको अस्ट्रेलियाले पहिलो खेलमै जित निकाल्यो। आयरल्यान्ड भने पहिलो खेलमै पराजित भएको छ। अस्ट्रेलियाले सन् २०२१ मा पहिलोपटक उपाधि जितेको थियो। सन् २०१० मा भने उपविजेता भएको थियो।
आयरल्यान्डका लागि जर्ज डक्रेलले सर्वाधिक ४१ रन बनाए। उनले २९ बलमा ३ चौका र दुई छक्का हिर्काएका थिए। लोर्कान टक्टरले २७ बलमा २४ रन बनाए।
अस्ट्रेलियाका लागि नाथन एलिस र एडाम जाम्पाले समान दुई विकेट लिए। म्याथ्यु कुन्नेम्यानले एक विकेट हात पारे।
यसअघि अस्ट्रेलियाको लागि मार्कुस स्टोइनिसले २९ बलमा ४५ रन बनाएका थिए। उनले दुई चौका र एक छक्का हाने। यस्तै, जस इंग्लिस र म्याट रेन्सवाले समान ३७ रन बनाए। क्यामरुन ग्रिनले ११ बलमा २१ रन जोडे। यसअघि कप्तान ट्राभिस हेडले मात्र ६ रन जोडेका थिए।
केहीबेरपछि वानखेडे रंगशालामा हुने खेलमा दुईपटकको च्याम्पियनद्वय वेस्ट इन्डिज र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन्।