पोखरा पुगेर रविले भने– पार्टी सदस्यता पूजा कोठामा राखेर रास्वपालाई भोट दिनुस्

बुधबार, २८ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै चुनावी अभियानमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार पोखरा आइपुगेका छन्।

सडक मार्ग हुँदै पोखरा आएका लामिछानेलाई पोखराको तालचोकमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारणलगायतले भव्य रूपमा स्वागत गरेका थिए।

घाइते अवस्थामै आफ्नो निर्वाचन क्षेत्र चितवन २ बाट चुनावी अभियान सुरु गरेका लामिछाने पश्चिम क्षेत्रका विभिन्न जिल्लाको भ्रमणपछि पोखरा आइपुगेका हुन्। कास्की आइपुगेका उनले क्षेत्र नम्बर १ मा पर्ने तालचोक हुँदै क्षेत्र नम्बर ३ मा पर्ने पोखरा– २५ हेम्जास्थित मिलनचोक र २ मा पर्ने पोखरा– ४ स्थित चिप्लेढुंगासम्म पुगेर भेटघाट गरेका छन्। 

लामिछाने पुगेका पोखराका हरेक ठाउँमा मानिसहरूको ठुलो भिड लागेको छ। लामिछाने प्रसिद्ध धार्मिक शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शनका लागिसमेत पुगेका थिए।

सो क्रममा उनले यसपटक आफू भोट माग्न नभई यस क्षेत्रका मतदाता, शुभेच्छुक र सर्वसाधारणहरूको कुरा र भावना बुझ्न आएको बताए। चुनावी सभाका लागि केही दिनपछि पोखरा आउने बताउँदै उपस्थित शुभेच्छुक, सर्वसाधारणलाई पार्टीको सदस्यता लिएको भए यसपटकको निर्वाचनमा त्यो सदस्यतालाई पूजा कोठामा राखेर रास्वपालाई भोट दिन आग्रह गरे।

यसपटक आफूहरुलाई मौका दिएर परीक्षण गर्न आग्रह गर्दै लामिछानेले रास्वपाप्रतिको आशा र भरोसालाई पूरा गरेर देखाउने प्रस्ट पारे। देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण र कुशासनको अन्त्यका लागि असफल पुराना दलहरूको विकल्पको रूपमा रास्वपा आएको उनको भनाइ थियो।

सुझावित समाचार