आगामी २१ फागुनको निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री घोषित कांग्रेस सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह मधेशको चुनावी अभियानमा छन् । मोरङको विराटनगर ओर्लिएर सुनसरीको चारवटै निर्वाचन क्षेत्रका उम्मेदवार र कार्यकर्ता भेटघाट गर्दै सभापति थापा मंगलबार दिउँसो सप्तरीको १, २, ३ र ४ नम्बर क्षेत्रका उम्मेदवारसहित कार्यकर्ता र स्थानीय बासिन्दालाई सम्बोधन गरेपछि अपराह्न करिब ४ बजेतिर लहान आइपुगेका थिए ।
कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवका अनुसार थापा सिरहा १ मा पर्ने लहानमा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाटपछि २ नं. क्षेत्रको जिरोमाइल, ३ नं. को गोलबजार र ४ नं. को मिर्चैयामा संक्षिप्त कार्यक्रमपछि महोत्तरीको बर्दिवासतर्फ लागेका छन् । महोत्तरीको चारवटा निर्वाचन क्षेत्रका नेता, कार्यकर्तासँग भेटघाट गर्दै सभापति थापा बुधबार अपराह्नसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा पुग्ने कार्यक्रम रहेको उनले बताए ।
कांग्रेसका सभापति थापाले लहानस्थित पुरानो बजारमा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टीले सबैलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी बहन गर्ने गरी चुनावमा होमिएको बताए । ‘हामी नयाँ सोच र संकल्पसहित आएका छौँ,’ उनले भने, ‘२३ र २४ भदौको आन्दोलनलाई घुसपैठ मात्र देख्ने र आगोमा घिउ थप्ने दुवै प्रवृत्ति गलत र घातक छ । कांग्रेसको चरित्र, संस्कृतिको कारणले आफूहरू गल्ती कमजोरी सच्याउँदै अघि बढेको हो ।’ त्यसअघि सभापति थापाले लहान चोकमा रहेको मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोलगायतको प्रतिमामा माल्यार्पण गरेका थिए ।
कांग्रेस सभापति थापा पूर्व–पश्चिम लोकमार्ग हुँदै चुनावी कार्यक्रममा सरिक भइरहेका वेला रास्वपा वरिष्ठ नेता बालेन भने हुलाकी सडककेन्द्रित जनसम्पर्क तथा घन्टी अभिवादन कार्यक्रममा सरिक भइरहेका थिए । सुनसरी हुँदै सप्तरीको पूर्वउत्तरी क्षेत्रमा पर्ने सप्तकोशी नगरपालिका क्षेत्रमा मंगलबार बिहान साढे ८ बजे प्रवेश गरेका उनी बिहान पौने १२ बजेसम्म कञ्चनरुप, हनुमाननगर, राजविराज, डाकनेश्वरी, बोदेबर्साइन र सिरहाको भगवानपुर, नवराजपुर, बरियारपट्टि र औरही आइपुगेको रास्वपाका मधेश प्रदेश सभापति तपेश्वर यादवले बताए ।
उनका अनुसार त्यसपछि बालेन सुखीपुर, जिरोमाइल, गोलबजार, चोहर्वा, मिर्चैया, कल्याणपुर, सिरहा बजारमा स्थानीय समर्थकलाई अभिवादन गर्दै कमला नदी पार गरी धनुषाको यदुकुहा, जलेश्वर हुँदै पुर्ख्यौली गाउँ एकडारा पुगेर बलावा, सरपल्लो हुँदै बर्दिवासमा रहने कार्यक्रम तय भएको छ । बालेन मंगलबार सिरहा, सप्तरी, धनुषा र महोत्तरीका १० वटा निर्वाचन क्षेत्रस्थित घन्टीघर पुगेको र बाँकी ठाउँमा समर्थक र स्थानीयसँग अभिावादन गरेको उनले बताए । प्राय: सबै ठाउँमा उनले घन्टी हल्लाएर अभिवादन गर्नुबाहेक कतै पनि सम्बोधन गरेनन् ।
‘तराईमा उम्मेदवारी : गगन र बालेनको साहस’
कुल ३६ लाख ३५ हजार बढी मतदाता र ३२ वटा निर्वाचन क्षेत्र रहेको मधेशबाट निर्वाचनपछि प्रधानमन्त्री बन्ने गरी थापा र बालेन अघि बढ्नुलाई साहसको रूपमा लिइनुपर्ने मधेश मामिलाका जानकार प्राध्यापक डा. विजयप्रसाद मिश्रले बताए । ‘गगन मैथिली भाषा बोल्न जान्दैनन्, तर सामान्य बुझ्छन्, सहज जित निकाल्न सकिने काठमाडौं छाडेर गगन मधेश झरे,’ उनले भने, ‘बालेन भने भाषण गर्दैनन्, तर नयाँ पुस्तासहित हजारौँको संख्या देखाएर उत्साह थपिरहेका छन् ।’
माओवादी शान्ति प्रक्रियामा आएपछि र मधेश विद्रोहपछि मधेशकेन्द्रित दलका अनुहारसमेत नदेखिएका उम्मेदवारलाई पनि जनताले मत दिएर जिताएको विगतको प्र्रवृत्तिलाई हेर्ने हो भने बालेनको मधेश यात्राले प्रधानमन्त्री बन्ने ढोका नखोल्लान् भन्न नसकिने उनले बताए । ‘कांग्रेस संगठित जनाधार रहेको पार्टी भएकाले गगनलाई पनि कम आँक्न हुँदैन,’ उनले भने ।
पुर्ख्यौली घर पुगे बालेन
रास्वपा वरिष्ठ नेता बालेन महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घरमा पुगेका छन् । चुनावलक्षित यात्रामा रहेका बालेन जनकपुरबाट जलेश्वर हुँदै सिधा गाउँको घर पुगेका हुन् । सुरुमा जनकपुरबाट धनुषाकै नगराइन र महोत्तरीको मटिहानी हुँदै जलेश्वर र एकडारा पुग्ने कार्यक्रम रहे पनि रुट परिवर्तनपछि उनी जनकपुरबाट जलेश्वरको बाटो गाउँ पुगेका हुन् । महोत्तरी ३ मा पार्टीका उम्मेदवार उज्ज्वल झाको घरअगाडि गाडीबाटै उनले घन्टी बजाउँदै मतदातालाई अभिवादन गरेका थिए । यद्यपि उनले कुनै सम्बोधन गरेनन् । त्यसपछि आफ्नो घर पुगेर कुल देउता ढोगेर उनी अघि बढे। गाउँपालिका कार्यालय रहेको घरको दुईवटा कोठा बालेनकै परिवारले प्रयोग गर्दै आएका छन् । सम्सीको बाटो हुँदै गौशाला पुगको बालेन मंगलबार बर्दिवास पुग्ने कार्यक्रम रहेको रास्वपाको महोत्तरी जिल्ला सभापति शुभम्कुमार यादवले बताए । उनी बुधबार सर्लाहीका निर्वाचन क्षेत्र पुग्ने कार्यतालिका छ ।