१३ जनाको ज्यान जाने गरी बैतडीमा जन्तीबस दुर्घटना भएको ६ दिनमै फेरि रामेछापमा यात्रुबस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । काठमाडौंको चाबहिलबाट ओखलढुंगाको पोल्थरीका लागि छुटेको बस मंगलबार बिहान १०:४० बजे रामेछापको मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित त्रिवेणी मन्दिरनजिकै लिलितीको भिरबाट तामाकोशी नदीमा खस्दा बसधनीसहित सात पुरुष र पाँच महिलाको घटनास्थलमै ज्यान गएको हो ।
मृतकमध्ये १० जनाको मात्रै सनाखत भएको छ । शव मन्थली अस्पतालमा राखिएको छ । आठ घाइते भएकामा सातजनाको धुलिखेलमा उपचार भएको छ भने एकजनालाई काठमाडौं रेफर गरिएको छ । बा.प्र.००१–०५ ख ९९७५ नम्बरको पूर्वी अरनिको यातायात सेवाको यात्रुवाहक बस काठमाडौंको चाबहिलबाट पुष्पलाल सडक हुँदै रामेछापको सिरीषे–ढाँडे हुँदै ओखलढुंगाको पोल्थलीका लागि छुटेको थियो ।
प्रत्यक्षदर्शीले तीव्र गतिका कारण बस दुर्घटनामा परेको बताएका छन् । त्यसै क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेका निर्माण व्यवसायी दीपककुमार थापाले भने, ‘तामाकोशी नदीपारि साइटमा काम भइरहेको ठाउँमा थियौँ । खुर्कोटबाट बस मन्थलीतिर तीव्र गतिमा थियो । विपरीत दिशाबाट एउटा बोलेरो खुर्कोटतर्फ तीव्र गतिमा हुइँकिँदै गएको थियो । साँघुरो सडकमा बस नियन्त्रणमा आउन सकेन र सडकछेउका डिभाइडर हान्दै एकैछिनमा हेर्दाहेर्दै नदीमा खस्यो ।’
चालक सुशान्त थापामगरले गाडीको स्टेरिङ नकाटिँदा दुर्घटना भएको प्रारम्भिक बयान दिएको प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए । ‘साँघुरो सडकमा गाडी दुर्घटना भएको देखिन्छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आशंका छ,’ उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’
दुर्घटनाग्रस्त गाडीमा कति यात्रु थिए भन्ने निश्चित छैन । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार २१ देखि २३ यात्रु रहेको अनुमान छ । मृतकका आफन्तले पूर्व–अरनिको यातायात सेवा समितिका पदाधिकारीलाई रामेछाप झिकाउनुपर्ने माग गरेका छन् । अरनिको यातायात सेवा समितिका जिल्ला इन्जार्च सुवास फुयाँलले मृतकका आफन्तले समितिका पदाधिकारी झिकाएपछि मात्रै क्षतिपूर्तिको विषयमा कुरा गर्ने अडान राखेको बताए ।
बस दुर्घटनामा घाइते भएका चालकबाहेक सातजनालाई काठमाडौं र धुलिखेल रेफर गरिएको छ । खाँडादेवी गाउँपालिका– ३ का २१ वर्षीय समीर श्रेष्ठ, मन्थली नगरपालिका– १२ की ३३ वर्षीया देवकी खड्का, उमाकुण्ड गाउँपालिका– ७ की निष्मा शेर्पा र सोही वडाका ५२ वर्षीय सोम देण्डी शेर्पा, लिखु तामाकोशी गाउँपालिका– ४ का ५१ वर्षीय ओलकबहादुर थापा घाइते छन् । त्यस्तै, ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका– २ का ४५ वर्षीय जयबहादुर तामाङ र दोलखा भीमेश्वर नगरपालिका– ७ की १६ वर्षीया निलिमा तामाङ पनि घाइते छन् । घाइतेमध्ये गाडीचालक सुशान्त थापामगरलाई मन्थलीस्थित तामाकोशी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएसँगै प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपचार गराएर फर्किएका दम्पती घर पुग्न पाएनन्, एउटै पालिकाका सातको मृत्यु
काठमाडौंमा पेटको उपचारपछि घर फर्कंदै गरेका दम्पती घर पुग्न पाएनन् । लिखु तामाकोशी गाउँपालिका– ७ तिल्पुङका ३६ वर्षीय भीमबहादुर तामाङ र ३५ वर्षीया सानुुमाया उपचार गराएर काठमाडौंबाट फर्किएका थिए । तर, घर पुग्न नपाउँदै बस दुर्घटनामा परेर अस्ताए । तामाङ दम्पतीका दुई छोरा रोजगारीको सिलसिलामा काठमाडौंमा छन् । भीमबहादुरकै फुपू नाता पर्ने ३१ वर्षीया तारा तामाङ र ताराकी भाइबुहारी १६ वर्षीया रमिता तामाङको समेत ज्यान गएको छ । उपचारका लागि काठमाडौं गएका भीमबहादुर दम्पती, उनका फुपू र छोरी गाउँले आफन्तको विवाहपछि घर फर्किएका थिए ।
दुर्घटनामा रामेछापका मात्र आठजनाको ज्यान गएको छ । त्यसमा पनि लिखु तामाकोशी गाउँपालिकाको मात्रै सातजना छन् । तामाङ परिवारका चार तथा बसधनी लिखु तामाकोशी– ४, कोटगाउँका २५ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी– ६, खिम्तीका २८ वर्षीय दीपेश बस्नेत र ४५ वर्षीया मानकुमारी बरुवालको ज्यान गएको प्रहरीले जनाएको छ । यति ठुलो मानवीय क्षतिका कारण सिंगो गाउँपालिका नै शोकमा डुबेको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताए ।
दुर्घटनामा दोलखाको भीमेश्वर नगरपालिका– ७ की २५ वर्षीया बबी तामाङ र सोही नगरपालिका– ८ का ६० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको छ । त्यस्तै, सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ६ का ३४ वर्षीय शिव श्रेष्ठको पनि मृत्यु भएको छ । दुई मृतकको सनाखत हुन बाँकी छ ।
आठ घाइते, सातजना धुलिखेल र एक काठमाडौं रेफर
बस दुर्घटनामा घाइते भएका चालकबाहेक सातजनालाई काठमाडौं र धुलिखेल रेफर गरिएको छ । खाँडादेवी गाउँपालिका– ३ का २१ वर्षीय समीर श्रेष्ठ, मन्थली नगरपालिका– १२ की ३३ वर्षीया देवकी खड्का, उमाकुण्ड गाउँपालिका– ७ की निष्मा शेर्पा र सोही वडाका ५२ वर्षीय सोम देण्डी शेर्पा, लिखु तामाकोशी गाउँपालिका– ४ का ५१ वर्षीय ओलकबहादुर थापा घाइते छन् । त्यस्तै, ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका– २ का ४५ वर्षीय जयबहादुर तामाङ र दोलखा भीमेश्वर नगरपालिका– ७ की १६ वर्षीया निलिमा तामाङ पनि घाइते छन् । घाइतेमध्ये गाडीचालक सुशान्त थापामगरलाई मन्थलीस्थित तामाकोशी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएसँगै प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसधनीको पनि गयो ज्यान, ६ महिनाअघि मात्र किनेका थिए बस
दुर्घटनामा बसधनी लिखु तामाकोशी– ४, बिजुलीकोट कोटगाउँका दीपेन्द्र बस्नेतको पनि ज्यान गएको छ । बस्नेतले ६ महिनाअघि मात्र बस किनेका थिए । त्यसअघि उनी वैदेशिक रोजगारका लागि कतारमा थिए । उनी परिवारसहित काठमाडौंमा बस्दै आएका थिए ।
बारम्बार किन भइरहन्छ दुर्घटना ?
नेपाल प्रहरीका पूर्वडिआइजी केशव अधिकारी नेपालमा दुर्घटना दर अत्यधिक हुनुमा विभिन्न कारण औँल्याउँछन् । सडकको तुलनामा सवारीको चाप बढी हुनेदेखि जस्तोसुकै सडकमा जुनसुकै गाडी गुड्नेलगायत कारण दुर्घटना बढी हुने गरेको उनको विश्लेषण छ ।
‘नेपालमा सवारी आयात नीति वैज्ञानिक छैन । सडकको तुलनामा अत्यधिक मात्रामा सवारीसाधन आयात गरिन्छ । व्यापारिकको स्वार्थपूर्तिका लागि यी काम हुन्छन् । सडकको क्षमताभन्दा सवारीसाधन धेरै छन् । यसले दुर्घटना निम्त्याउँछ,’ उनले भने, ‘कस्तो सडकमा कस्तो सवारीसाधन चलाउने भन्ने नीति पनि छैन । जुनसुकै सडकमा जस्तोसुकै सवारीसाधन गुड्छन् । यसले पनि दुर्घटना निम्त्याएको छ ।’
ट्राफिक प्रहरीसँग जनशक्ति कम हुनु पनि दुर्घटनाको अर्को कारण भएको अधिकारी बताउँछन् । ‘ट्राफिक प्रहरीसँग जनशक्ति कम छ । एउटै ट्राफिकले दैनिक पाँच सयभन्दा धेरै सवारीसाधन हेर्नुपर्छ । यसले कानुन कार्यान्वयनमा बाधा पुर्याइरहेको छ । कैयौँ जोखिमपूर्ण सडकमा त ट्राफिकको उपस्थिति नै छैन । यसकारण पनि दुर्घटना बढी हुने गरेको छ,’ उनी भन्छन् ।