आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । सहभागी २० टोलीले प्रतियोगिताका लागि अन्तिम १५ सदस्यीय टोली घोषणा गरिसकेका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा केही चर्चित क्रिकेटर चोटकै कारण विश्वकपबाट बाहिरिएका छन् ।
प्याट कमिन्स (अस्ट्रेलिया)
अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्स ढाडको समस्याका कारण प्रतियोगिताबाट बाहिरिए । गत महिना इंग्ल्यान्डविरुद्धको एसेज सिरिजमा पनि उनले एक खेल मात्र खेलेका थिए । एसेज दौरान उनलाई ढाडको समस्या आइसकेको थियो । पूर्ण रूपले फिट नभएपछि उनले विश्वकपमा स्थान बनाउन सकेनन् ।
एडम मिल्ने (न्युजिल्यान्ड)
न्युजिल्यान्डका फास्ट बलर एडम मिल्ने ह्यामस्ट्रिङ चोटका कारण विश्वकपबाट बाहिरिए । ह्यामस्ट्रिङमा गम्भीर चोट देखिएपछि विश्वकपमा उपलब्ध हुन नसक्ने न्युजिल्यान्ड क्रिकेटले जनाएको छ । उनको स्थान जेमिसनले लिएका छन् ।
जोस हेजलउड (अस्ट्रेलिया)
विश्वकप सुरु हुनु एक दिनअगाडि उपाधि दाबेदार अस्ट्रेलियाले ठुलो झट्का सामना गरेको छ । भेट्रान फास्ट बलर जोस हेजलउड चोटका कारण शुक्रबार बाहिरिएका छन् । विश्वकपअगाडि चोट निको हुने सम्भावनाका कारण उनलाई अस्ट्रेलियन छनोटकर्ताले टोलीमा समावेश गरेका थिए ।