जन्तीबस दुर्घटनामा १३ को मृत्यु, ३५ घाइते
अन्माएर दिदीलाई कर्मघर पुर्याउन हिँडेका भाइ अस्ताए । बेहुली लिन गएकाहरू पनि सबै घर फर्किन पाएनन् । जन्तीबस बैतडीको पुर्चाैडी नगरपालिका– ७, बडूगाउँको घुम्तीमा बिहीबार राति ७:५५ बजे दुर्घटना हुँदा १३ को ज्यान गयो, ३५ घाइते छन् ।
छोरी अन्माएको पुर्चौडी नगरपालिका– ७, भवनेगाउँ र बुहारी भित्र्याउन उत्सवमा रहेको बझाङको बित्थडचिर गाउँपालिका– ७, लगुनासा यतिवेला शोकमा छन् ।
बेहुला–बेहुली, बेहुलाका भाइ र बेहुलाका हजुरबुवा भने छुट्टै जिपमा थिए । जुन जिपले घुम्ती नाघिसकेको थियो । बाँकी जन्तीहरू सवार बस दुर्घटना हुँदा बेहुला माधवका सहोदर काकाहरू नरेन्द्रराज जोशी र विष्णु जोशी अनि बेहुलीका भाइ सुशील जोशी अस्ताएका छन् । नरेन्द्रराज बझाङको बित्थडचिर गाउँपालिका– ७ का वडासचिव र विष्णु बित्थडचिरमा रहेको महादेव माविका अंग्रेजी शिक्षक हुन् । बेहुलाका बुवा शंकर जोशी र माइला बुवा गजेन्द्र पनि घाइते छन्, धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
बस लगुनासा गाउँबाट बेहुली लिन बिहीबार बिहान बैतडी हिँडेको थियो । बस र जिप पुर्चौडीको गिरिजाबगर बसपार्कमा पार्किङ गरेर जन्ती पाँच मिनेट हिँड्दै बेहुलीको घर पुगेको थियो । शुभसाइतमा विवाह भयो । बेहुली लिएर जन्ती पुन: बसपार्क फर्कियो । बसपार्कबाट तीन किलोमिटर अगाडि नपुग्दै बस बडूगाउँको घुम्तीमा भिरबाट डेढ सय मिटर तल खेतमा खस्यो । अँध्यारो हुनै लाग्दा दुलही लिएर हिँडेको पवनदूत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बसमा क्षमताभन्दा अत्यधिक यात्रु थिए ।
यता, आफन्त, नातेदार, छिमेकी नाच्दै, रमाइलो गर्दै जन्ती कुरेर बसेका थिए, तर जन्ती आइपुगेनन् । जन्तीबस दुर्घटनामा परेको खबरले जोशी परिवारमा सन्नाटा छायो । गाडीमा एउटै सिटमा बसेर जन्ती हिँडेका जोशी दाजुभाइको दुर्घटनामा परेर एकैसाथ निधन भयो । उनीहरूसँगै परिवारका सदस्य, आफन्त, इस्टमित्र गरी १३ जनाले ज्यान गुमाए । बेहुला–बेहुलीतर्फका ३५ जना घाइते भए ।
दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये बित्थडचिर– ७, लगुनासाका जोशी दाजुभाइसँगै केशवराज जोशी र अशोकराज जोशी पनि छन् । उनीहरू बाबु–छोरा हुन् । ४० वर्षीय केशवसँगै उनका एक मात्र छोरा १३ वर्षीय अशोक पनि कहिल्यै नफर्किने गरी अस्ताए ।
दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि प्राविधिक पदमा कार्यरत वसन्तराज जोशी भाइ माधवको बिहेका लागि अफिसबाट बिदा लिएर घर आएका थिए । वसन्त पनि अब शैल्यशिखर फर्किनेछैनन् । वसन्तराजका भिनाजु मोहनदेव भट्ट र उनका छोरा केशवराज भट्ट पनि जन्तीमा सहभागी थिए । बझाङकै जयपृथ्वी नगरपालिका– ७ बाट बिहेमा आएका बुबाछोराले पनि सँगै ज्यान गुमाए ।
बेहुला परिवारका मात्रै होइन, दिदीलाई कर्मघर पुर्याउन हिँडेका १४ वर्षीय किशोर सुशील जोशीले पनि दुर्घटनामा ज्यान गुमाएका छन् । दुलहीलाई बिदा गरेर घर फर्किँदै गरेकी ४० वर्षीया पुष्पा अवस्थीको पनि ज्यान गएको छ । बसले दुई सय मिटर थप दूरी पार गरेर अगाडि बढ्न पाएको भए पुष्पाको ज्यान जोगिन्थ्यो, उनको घर नजिकै थियो ।
बैतडीका डिएसपी दीपककुमार रायका अनुसार दुर्घटनाग्रस्त बसमा ४९ जना सवार रहेका थिए । चालकसँगको प्रारम्भिक बयान र बसमा रहेका यात्रुको अवस्था हेर्दा ओभरलोड भएका कारण घुम्तीमा ब्याक भएर दुर्घटना भएको हुन सक्ने डिएसपी रायले बताए । ‘बसमा अत्यधिक यात्रु रहेको देखियो, उकालो घुम्तीमा ब्याक हुँदा तल खसेको देखिन्छ,’ रायले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’
बसचालक भीमदत्त नगरपालिका– ७, हल्दुखालका वीरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उकालो घुम्तीमा बस पछाडि सर्दै गएर नियन्त्रणबाहिर गएपछि चालकले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पाँच सय मिटर टाढा रहेको कोटिला स्वास्थ्यचौकीमा पुर्याउँदा थप दुईजना र डडेल्धुरा अस्पताल लैजाँदै गर्दा थप पाँचजनाको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते २३ जनाको डडेल्धुरा अस्पताल, आठजनाको निसर्ग अस्पताल धनगढी र चारजनाको प्राथमिक स्वास्थ्य केन्द्र देउलेख बझाङमा उपचार भइरहेको छ ।
खोड्पे–बझाङ सडकको ढोल्यामोडबाट पुर्चाैडी जोड्ने सडक एक दशकअघि निर्माण भएको थियो । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)बाट ढोल्यामोड–कोटिला–मल्लादेही हुँदै हाँटसम्म १९ किलोमिटर सडक निर्माण गरेको थियो । तर, मल्लादेही भएर लामो दूरी भएकाले कोटिलाबाट भिरको बाटो भएर हाँटसम्म जोडियो । जसले गर्दा दुई किलोमिटर बाटो छोटियो । तर, बडूमोड जोखिमपूर्ण बन्यो, त्यही मोडबाट बिहीबार जन्ती बोकेको गाडी खस्यो । पुर्चाैडी नगरपालिकाले शुक्रबार शोक बिदासमेत दिएको थियो ।
बस ब्याक भएर भिरमा हुत्तियो
प्रत्यक्षदर्शीका अनुसार उकालो घुम्तीमा बस अगाडि बढ्न नसकेर पछाडि आएको थियो । चालकले पिकअप बनाउँदै दुईपटक अघि बढाउने प्रयास गरेका थिए । तर, बस अगाडि नबढी पछाडि सर्दै आएर भिरमा हुत्तिन पुग्यो । बसबाट हामफालेर ज्यान जोगाउन सफल अमरराज जोशीका अनुसार पहिलो प्रयासमा चालकले बस उकालो घुम्तीमा चढाउन सकेनन् । ग्यालरीमा रहेको दुई–तीनजना यात्रुलाई उछिन्दै ढोकामा पुगेर हामफाले । अमर भुइँमा पछारिए भने गाडी भिरमा खस्यो । ‘म ग्यालरीमा थिएँ, दोस्रो प्रयासमा पनि बस अगाडि नबढी पछाडि सर्न थालेपछि मलाई डर लाग्यो,’ उनले भने, ‘हतार–हतार ढोकामा पुगेँ । बाहिर हाम्फालेँ । म भुइँमा पछारिएँ, बस भिरमा खस्यो ।’ जोशीले आफूसँगै एक वृद्धले पनि ढोकाबाट हामफालेको बताए । सडकमा पछारिएका जोशीले हत्तपत्त उठेर स्थानीय प्रहरीचौकीमा फोन गरेका थिए । सँगै स्वास्थ्यचौकीमा पनि खबर गरेको उनले बताए । दुर्घटना भएको १० मिनेटमा पुरघाट प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थल आइपुगेको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेहरू
बझाङ बित्थडचिर गाउँपालिका– ७, लगुनासाका ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १७ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । त्यस्तै, बझाङ केदारस्यु गाउँपालिका– ७ का ६० वर्षीय मोहनदेव भट्ट र २६ वर्षीय केशवराज भट्टको पनि ज्यान गएको छ । दुर्घटनामा बझाङ जयपृथ्वी नगरपालिका– ७ का ४० वर्षीय वसन्तराज रतला तथा बैतडी पुर्चाैडी नगरपालिका– ७ की ४० वर्षीया पुष्पा अवस्थी र १५ वर्षीय सुशील जोशीको ज्यान गएको छ ।
मृतकका परिवारलाई एक–एक लाख दिने प्रदेश सरकारको निर्णय
सुदूरपश्चिम सरकारले बैतडी बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई एक–एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई मानवीय सहायतास्वरूप राहत दिने निर्णय गरेको हो । दुर्घटनामा घाइते भएकाको सरकारी अस्पतालमा गरेको उपचार खर्च व्यहोर्ने निर्णयसमेत भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।
बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ गइरहेको बस बिहीबार राति पुर्चौडी नगरपालिका– ७, बडगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ३४ जना घाइते भएका छन् । २५ जनाको डडेलधुरा अस्पताल, पाँचजनाको धनगढीको निसर्ग अस्पताल र चारजनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बसबाट हामफालेर ज्यान जोगाएका अमरराज जोशी भन्छन्– बस उकालो चढेन, उल्टै ब्याक भएर भिरबाट झर्यो
मेरो घर पुर्चौडी नगरपालिका– ७, भवनेगाउँ हो । बेहुली अन्माउने वेला अँध्यारो हुन थालिसकेको थियो । हामी टर्च बालेर भवनेगाउँबाट पाँच मिनेट पैदल ओरालो झरेर गिरिजाबगरमा आइपुग्यौँ । सडक गिरिजाबगरसम्म मात्र छ । त्यहाँ राताशिला देवता छन् । देवताको मन्दिरमा पूजाआजा तथा धुपबत्ती बाल्दा १० मिनेटजति लाग्यो होला । बेहुला–बेहुलीले मन्दिरमा धुपबत्ती बाले । हामी बगरमा पर्खिएर बस्यौँ । १० मिनेटपछि त्यहाँबाट बस र जिप हिँडे । समय ठ्याक्कै याद गरिएन, साढे ७ बजेको थियो सायद । कोटेलीगाड तरेर हामी चढेको बस उकालो कच्ची सडकमा गुड्न थाल्यो । बसमा चर्को आवाजमा गीत बजिरहेको थियो । सबैजना गीत गाउँदै–नाच्दै गरिरहेका थिए । खेतको बिचैबिच बनेकोे सडकमा १० मिनेटजति हिँडेपछि बस उकालो घुम्ती रहेको बडूगाउँको मोडमा पुग्यो ।
बडूगाउँ र अवस्थीगाउँका दुलाही पक्षका मानिस बसको ग्यालरीदेखि अगाडिको भागसम्म खचाखच थिए । उनीहरू हिँडेरै पनि २० मिनेटमा घर पुग्न सक्थे । तर, बस चढेर रमाइलो गर्दै आए । बडूगाउँको उकालो मोडमा पुग्दा बस अघि बढ्न नसकेर पछाडि आयो । चालकले ब्रेक लगाए । मोसन बनाएर फेरि अगाडि बढाउन खोजे । मलाई भित्रैदेखि डर लागिरहेको थियो । मलाई थाहा थियो, यो मोडको तल ठुलो भिर छ भनेर । चालकले दोस्रो प्रयास गर्दा पनि बस अघि बढ्न नसकेर पछाडि हुत्तिन थाल्यो । म ग्यालरीको बिचमा उभिएको थिएँ । हतार–हतार ढोकातर्फ दौडिएँ । दुई–तीनजनालाई उछिनेर ढोकाबाट हामफालेँ । म सडकछेउमा पछारिँदै भिरतर्फ बत्तिएँ । बस भिरबाट खस्दै तल खेतमा पुगिसकेको थियो । एकछिन अघि गाउँदै नाचिरहेकाहरू चिच्याइरहेका थिए ।
म पाँच–सात मिटर भिरमा पुगेको रहेछु । त्यतिवेला मैले उत्तिसको रुख समातेको थिएँ । त्यहाँबाट हात र खुट्टाले टेकेर सडकमा आएँ । खल्तीबाट फोन निकालेर पुरघाट प्रहरीचौकीमा कार्यरत रामप्रसाद भट्टलाई फोन गरेर दुर्घटना भएको बताएँ । त्यसपछि स्वास्थ्यचौकीका इन्चार्ज दीपेन्द्र धामीलाई खबर गरेँ । फोन गर्दासम्म होस थियो, पछि म बेहोस भएछु । होस आउँदा उद्धार भइरहेको थियो । बेहुली पुर्याउन हिँडेको म फर्केर घर गएँ । त्यो घटनाले गर्दा अहिले पनि निदाउन सकिरहेको छैन ।