- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको माघ २४ गते शनिबारदेखि फागुन १ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साता रमाइलो र उत्साहपूर्ण रहनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्व र आफन्तसँग सुमधुर सम्बन्ध कायम हुनेछ । आर्थिक पक्ष सबल रहनुका साथै अड्किएका समस्या समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने योग छ । किनमेलका लागि समयअनुकूल छ । सानो प्रयत्नले ठुला काम बन्ने समय छ । मनपर्ने वस्त्र वा सरसामान उपहार पाइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको सुरुवात हाँसखेल र मनोरञ्जनमा बित्नेछ । लामो समयदेखिका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा काम पूरा हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक सुधार देखिनेछ । आध्यात्मिक र सामाजिक कार्यमा सक्रियता बढ्नेछ । वादविवादमा विजयप्राप्त हुनेछ । आयमूलक काम तथा सेयरबजारमा सोचेजस्तै सफलता मिल्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सुरुमा सामाजिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुन सक्छ । कामप्रति लगनशीलता बढ्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिनेछ । बुधबार गरेका काममा अवरोध आउने सम्भावना छ । घरायसी प्रयोजनका विषयमा खर्चवृद्धि र तनाव हुन सक्छ । बिहीबार र शुक्रबार भने काममा बाधा होला, व्यवसायबाट घाटा हुने योग देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोखिमयुक्त कार्यबाट टाढा रहनु बुद्धिमानी हुनेछ । सामाजिक क्षेत्रमा मान–सम्मानप्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले असर पार्न सक्छ । वाचा पूरा गर्न संघर्ष गर्नुपर्नेछ । मातापिताको आशीर्वादले काममा सफलता दिलाउनेछ । पारिवारिक धार्मिक भ्रमणको योग रहेको छ । अरूका काममा जुट्नुपरे पनि फाइदा आफैँलाई हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षित हुनेछ । लामो दूरीको यात्राका लागि समयअनुकूल छ । दाम्पत्य जीवन, प्रेमसम्बन्ध र पारिवारिक वातावरणमा सुधार आउनेछ । आत्मविश्वास बढ्नेछ । मातापिता तथा अभिभावकबाट महत्वपूर्ण सल्लाह प्राप्त हुनेछ । परिवारसित धार्मिक यात्राको शुभ योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताको प्रारम्भमा समय मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो यात्रा गर्ने अवसर आउनेछ । शैक्षिक क्षेत्रबाट सोचेअनुसार सफलता मिल्नेछ । नयाँ कामको जिम्मेवारी मिल्नेछ । सामाजिक काममा मन जाला । धार्मिक यात्राको योग रहेको छ । अचानक मन हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नुपर्नेछ । स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्नेछ, रोकिएका काम पुन: बन्न थाल्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भूमिका रहनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल समय रहेको छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझाबलाई पालना गर्दा लाभ हुन सक्छ । बन्द–व्यापारबाट फाइदा हुनेछ । साताको अन्त्यमा सानातिना घरायसी समस्या देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साताको सुरुवात शुभग्रहको प्रभावमा रहनेछ । लामो समयदेखि अड्किएका काम पुन: सुरु हुने समय रहेको छ । स्वास्थ्यमा सामान्य समस्या देखिए पनि काममा असर पर्नेछैन । मन प्रफुल्ल रहनेछ । नयाँ सम्बन्ध स्थापित हुने योग छ । खानपान, घुमघाम र भेटघाटको समय हो । सामाजिक काममा मन जाला । धार्मिक यात्राको योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा दिन बित्नेछ, घरपरिवार र सन्ततिबाट सहयोग मिल्नेछ । ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भए पनि बुधबारबाट प्रतिकूल समय सुरु हुने भएकाले खर्च बढ्न सक्छ । रिसको कारणले आर्थिक समस्याले संकट उत्पन्न गर्न सक्छ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । साताको अन्त्यमा कीर्तिमानी काम गर्ने मौका मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताको प्रारम्भमा सानातिना घरायसी समस्यामा दौडधुप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउन सक्छ । साताको अन्त्यमा रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रतिस्पर्धामा फाइदा उठाउने समय रहेको छ । बुधबार र बिहीबार भने निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैले लिन सक्नेछन् । कर्मयोगका थप बाटा अवश्य खुल्नेछन् । नयाँ जिम्मेवारीका साथ कामको थालनी हुनेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सामाजिक काममा दौडधुप हुन सक्छ र धार्मिक–सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइनेछ । व्यावसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँ–नयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यअनुकूल रहनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिनेछ ।