सामाजिक सञ्जालमा राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सा प्रहरीले एकजना प्रहरीलाई नियन्त्रणमा लिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानलाई सामाजिक सञ्जालमार्फत प्रचार गरेको आरोपमा प्रहरी हवल्दार श्यामनारायण पटेललाई नियन्त्रणमा लिइएको हो।
केही दिनदेखि उनले आफ्नो सामाजिक सञ्जालमा उक्त पार्टीको प्रचार तथा टिप्पणी गर्दै आएको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरी हवल्दार पटेललाई केही घण्टाअघि नेसनल मेडिकल कलेजबाट नियन्त्रणमा लिई आन्तरिक अनुसन्धान थालिएको नायब उपरीक्षक बस्नेतले बताए।
उनका अनुसार प्रहरी आचरणविपरीतको कार्य गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय पर्सामै कार्यरत रहेकाले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।
प्रहरी ऐन तथा नियमावलीअनुसार कुनै पनि व्यक्ति वा राजनीतिक दलको प्रचार–प्रसार गर्नु प्रहरी आचरणविपरीत मानिने भएकाले यस्तो गतिविधि गर्न नपाइने व्यवस्था रहेको छ।