- दुईपटकका विश्वकप च्याम्पियन इंग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध सनसनी नतिजा निकालेर समूह चरण पार गर्ने नेपाली टोलीका कप्तान रोहित पौडेलको आत्मविश्वास
एकपटक १२ वर्षअघिको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता स्मरण गरौँ न । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपालले पहिलोपटक सहभागिता जनाएको छ । नेपालले विश्वकपमा डेब्यु गरेको ठ्याक्कै १२ वर्ष भइसकेको छ । सन् २०१४ देखि २०२६ सम्म नेपालले केवल तीनपटक मात्र विश्वकपमा स्थान बनाएको छ ।
डेब्यु विश्वकपमा नेपालले समूह चरणको छनोट खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यसबाहेक हङकङ र अफगानिस्तानसँग पनि नेपालले खेल्यो । बंगलादेशसँग झिनो रनरेटले पछि पर्दा नेपालले समूह चरणमा स्थान बनाउन सकेन । तर, नेपालले बंगलादेशले आयोजना गरेको विश्वकपमा छाप राख्न सफल भयो ।
धेरैलाई यो विश्वास थियो, अब नेपालले लगातार टी–२० विश्वकप खेल्नेछ । त्यसवेला नेपाली क्रिकेटको माहोल यस्तै थियो । तर, दुभाग्र्यवश नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकप नेपालको दोस्रो यात्रा हो । दुई वर्षअघिको संस्करणमा नेपाल एसोसिएट राष्ट्र भए पनि एक फरक टोलीका रूपमा देखियो । नेपालले दक्षिण अफ्रिकालाई लगभग हराइसकेको थियो । अन्तर्राष्ट्रिय खेलमा अनुभवी टोली दक्षिण अफ्रिकले नेपाललाई १ रनको झिनो अन्तरले हरायो ।
अघिल्लो संस्करणमा नेपालले बंगलादेशलाई पनि अन्तिम समयसम्म चुनौती दिएको थियो । टेस्ट राष्ट्र बंगलादेशले नेपाललाई हराउन धेरै मिहिनेत गरेको थियो । श्रीलंकासँगको खेल वर्षाका कारण हुन सकेन । नवौँ संस्करणमा जितविहीन हुँदै घर फर्किएको नेपालले विश्व क्रिकेटमा एसोसिएट राष्ट्रमध्ये एक शक्तिशालीका रूपमा आफूलाई परिचित गराउन सफल भयो । यही थियो अघिल्लो दुई विश्वकपको यात्रामा नेपालको प्रदर्शन । सन् २०१४ मा डेब्यु गरेको र लगातार दोस्रोपटक विश्वकप खेल्ने तयारीमा रहेको नेपाल बिल्कुल फरक छ । युवा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाली टोली विश्वकपका लागि मुम्बईमा छ । नेपाली टोलीमा एकजनाले तीनपटक, नौजनाले दुईपटक र पाँचजनाले पहिलो विश्वकप खेल्दै छन् । अनुभवी तथा युवा खेलाडीले भरिएको नेपालले १०औँ संस्करणमा एउटा योजना बनाइसकेको छ ।
वानखेडे रंगशालामा इतिहास कोर्ने योजना
नेपालको अहिलेको लक्ष्य नै दुई टेस्ट राष्ट्र इंग्ल्यान्ड र वेस्ट इन्डिजलाई स्तब्ध पार्दै सुपर आठमा स्थान बनाउनु नै हो । कप्तान रोहितले नेपालले आगामी शनिबारदेखि सुरु हुने विश्वकपमा यस्तै इतिहास कोर्ने दाबी गर्दै सफलताको यात्रा नरोकिने बताएका छन् । ‘पछिल्लो वर्षहरूमा टेस्ट राष्ट्रसँग खेलिसकेका छौँ । यति मात्रै होइन, वेस्ट इन्डिजविरुद्धको सिरिज नै जित्यौँ,’ रोहितले नयाँ पत्रिकासँग भने, ‘हामी अब खेल्ने मात्रै होइन, अगाडि पनि बढ्छौँ ।’
समूह ‘सी’मा रहेको नेपालले आफ्नो सबै खेल मुम्बईस्थित विश्व चर्चित वानखेडे रंगशालामा खेल्नेछ । सन् २०११ को आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता यही रंगशालामा भएको थियो । जहाँ भारतले श्रीलंकालाई हराउँदै उपाधि हात पारेको थियो । वानखेडे रंगशालामा थुप्रै इतिहास कोरिएका छन् । यसै पृष्ठभूमिमा आफूहरू पनि यही मैदानमा नयाँ कथा कोर्ने दाउमा रहेको कप्तान रोहितको भनाइ छ । ‘सम्भवत: हामी पनि यही विश्वप्रसिद्ध रंगशालामा एउटा नयाँ इतिहास बनाएर फर्कनेछौँ । हाम्रो लक्ष्य नै सुपर एट पुग्ने हो,’ रोहितले भने । नेपालले आइसिसीले मुख्य स्पर्धाअगाडि प्रबन्ध गरेको दुईवटै अभ्यास खेल जितेको छ । बिहीबार नेपालले क्यानडामाथि ६ विकेटको सहज जित निकालेको छ । चेन्नईमा भएको अभ्यास खेलपछि मुम्बई फर्किएका रोहितले भने, ‘यसअघिका संस्करणमा समूह चरणबाटै बाहिरियौँ । अब त्यो दोहोरिनेछैन ।’
नयाँ खेलाडीलाई अवसर
वानखेडे रंगशालास्थित बिसिसिआईको भवनमा बिहीबार भएको पत्रकार सम्मेलनमा रोहित अन्य कप्तानभन्दा केही ढिला पुगे । वेस्ट इन्डिज, इंग्ल्यान्ड, इटाली, स्कटल्यान्डका कप्तान एकै रोहमा थिए । रोहित त्यो ड्यासमा बसेकामध्ये कान्छा कप्तान हुन् । सन् २०१४ मा रोहित सानै हुँदा त्यही विपक्षी कप्तानहरूलाई टिभीमा हेरेका थिए । त्यही खेलाडीसँग रोहितले अहिले मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । रोहित नयाँ पिँढीका लागि यस्तै अवसर रहेको बताउँछन् । ‘सन् २०१४ मा नेपालले विश्वकप खेल्दा मैले टिभीमै हेरेँ । अहिले हामी विश्वकप खेल्दै छौँ । नयाँ पिँढीका लागि यो अवसर हो,’ उनले भने । यसपटक नेपाली टोलीमा पाँच नयाँ अनुहारका छन् । जसले पहिलोपटक विश्वकप खेल्दै छन् । आरिफ शेख, लोकेश बम, बसिर अहमद, शेर मल्ल र नन्दन यादवले विश्वकपमा डेब्यु गर्नेछन् । सन् २०२४ मा विश्वकप खेलेका १० खेलाडी यो विश्वकपमा देखिँदै छन् । अलराउन्डर सोमपाल कामी मात्रै तीनवटै विश्वकप खेल्ने एक्ला खेलाडी हुन् ।
सोमपाल सर्वाधिक अनुभवी
नेपाली राष्ट्रिय टोलीमा सबैभन्दा अनुभवी खेलाडी अलराउन्डर सोमपाल हुन् । सन् २०१४ मा तत्कालीन पारस खड्काको कप्तानीमा नेपालले विश्वकप खेल्दा सोमपाल युवा थिए । अहिले उनी टोलीकै महत्वपूर्ण खेलाडी मात्र नभएर सबैभन्दा सिनियर हुन् । १२ वर्षअघि र अहिलेको विश्वकप खेल्न पाउँदा आफू निकै उत्साहित भएको उनले बताए ।
‘त्यसवेला नेपालले पहिलोपटक विश्वमा नेपाली क्रिकेटबारे चिनाउन अवसरका रूपमा लिएको थियो । हङकङ र अफगानिस्तानमाथिको जितले सबैलाई ध्यानकेन्द्रित बनायौँ,’ सोमपालले १२ वर्षअघिको स्मरण गर्दै भने, ‘त्यसवेला हामीले नेपालमा पनि पनि क्रिकेट हुन्छ भनेर सबैलाई चिनायौँ ।’ अहिले टोलीमा आबद्ध सबै खेलाडीले सनसनी नतिजा निकाल्न कडा मिहिनेत गरेको उनले बताए । ‘दोस्रोपटक स्थान बनाउन सबैले मिहिनेत गरेका थिए, म मात्र नभएर सबै डे«सिङ रुममा भावुक बनेका थिए,’ उनले भने, ‘तेस्रोपटक विश्वकपमा फरक नतिजा निकाल्ने प्रयासमा छौँ ।’
अभ्यास खेलमा शतप्रतिशत नतिजा
आइसिसी टी–२० विश्वकपको पूर्वसन्ध्यामा बिहीबार भएको अभ्यास खेलमा नेपालले क्यानडामाथि ६ विकेटको जित निकालेको छ । चेन्नईमा भएको प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा १६२ रन जोड्दै सानदार जित निकाल्यो । नेपालले १२ बलअघि सफलता चुमेको हो । यसअघि नेपालले युएईलाई पहिलो अभ्यास खेलमा निराश बनाएको थियो । अब आगामी आइतबार नेपालले समूह ‘सी’मा आफ्नो पहिलो खेलमा दुईपटकको विजेता इंग्ल्यान्डविरुद्ध खेल्नेछ । क्यानडासँगको प्रतिस्पर्धामा आसिफ शेखले अर्धशतकीय योगदान दिएका थिए । उनले २८ बलमा तीन छक्का र ६ चौकाको सहयोगमा ५८ रन बटुले । लक्ष्य पछ्याउँदा नेपालले पहिलो विकेट २.२ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।
कुशलले ११ बलमा समान एक चौका र छक्का प्रहार गरी १२ रन जोडेका थिए । त्यसपछि आसिफले सन्दीप जोरासँग दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ अग्रसर गराए । आसिफ १९.६ ओभरमा रिटायर्ड हट भएका थिए । सन्दीपले ३० बलमा चार चौका र एक छक्का प्रहार गरी ४४ रन बनाए । अलराउन्डर गुल्सन झाले २५ बल सामना गरी पाँच चौकाको सहयोगमा ३१ रन जोडे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए ।
सन्दीप र कुशलले लिए दुई विकेट
यसअघि पहिलो ब्याटिङ गरेको क्यानडाको दोस्रो तथा छैटौँ विकेटका लागि उत्कृष्ट साझेदारी भएको थियो । यी दुई विकेटबिच बनेको रनकै सहयोगमा क्यानडाले नेपाललाई बलियो लक्ष्य दिएको हो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १४ रनमा दुई तथा कुशलले २६ रनमा दुई विकेट लिएका थिए ।
सोमपाल कामी र नन्दन यादवले समान एक विकेट हात पारे । क्यानडाको ब्याटिङमा दोस्रो ओपनर नवितले ३६ बलमा ४१ तथा श्रीयास मोभाले १९ बलमा ३८ रन जोडेका थिए । सोमपालले इनिङ्सको ३.२ ओभरमै नेपाललाई विकेट दिलाएका थिए । त्यसपछि दोस्रो विकेटका लागि ६३ रनको साझेदारी भएको थियो । छैटौँ विकेटका लागि क्यानडाले ४९ रन जोडेको थियो ।
हामी अब खेल्ने मात्रै होइन, अगाडि पनि बढ्छौँ : रोहित पौडेल, कप्तान, नेपाल
यसअघिका संस्करणमा समूह चरणबाटै बाहिरियौँ । अब त्यो दोहोरिनेछैन । पछिल्लो वर्षहरूमा टेस्ट राष्ट्रसँग खेलिसकेका छौँ । यति मात्रै होइन, वेस्ट इन्डिजविरुद्धको सिरिज नै जित्यौँ । हामी अब खेल्ने मात्रै होइन, अगाडि पनि बढ्छौँ । सम्भवत: हामी पनि यही विश्वप्रसिद्ध एउटा नयाँ इतिहास बनाएर फर्कनेछौँ । यसपटक नेपाली टोलीमा पाँच नयाँ अनुहारका छन् । जसले पहिलोपटक विश्वकप खेल्दै छन् । नयाँ पिँढीका लागि यो अवसर हो । सन् २०१४ मा नेपालले विश्वकप खेल्दा मैले टिभीमै हेरेँ ।