साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उत्साहजनक देखिएको छ। नेप्से परिसूचक २७.१९ अंकले उकालो लाग्दै दुई हजार ७०८.७० विन्दुमा पुगेर बन्द भएको छ।
बजार बढेसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार आएको छ। अघिल्लो दिन बुधबार सात अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ११ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।
आज कुल ३२६ कम्पनीका तीन करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भए। कारोबारका क्रममा तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै, राधी पावर र कालिञ्चोक हाइड्रोपावरको सेयर नाै प्रतिशतभन्दा बढीले उकालो लाग्यो।
यद्यपि, सबै लगानीकर्ता लाभमा रहेनन्। सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले भने घाटा व्यहोर्नुपर्यो। सो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। त्यसपछि राधी विद्युतले ५७ करोड, एसवाई प्यानल नेपालले ५३ करोड, आँखु खोला जलविद्युतले ४० करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ३८ करोड रुपैयाँबराबरको सेयर कारोबार गरे।
ट्रेडिङ समूहबाहेक सबै समूहका उपसूचकहरू हरियाली देखिए। विशेषगरी हाइड्रोपावर, इन्भेस्टमेन्ट बैंक, जीवन बिमा, निर्जीवन बिमा तथा अन्य समूहका उपसूचक एक प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।