कञ्चनपुरमा ठुला र नयाँ दलबिच प्रतिस्पर्धा

मत माग्दै कांग्रेस, एमाले, नेकपा र रास्वपा जनताको आँगनमा

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठुला दल र नयाँ दलबिच प्रतिस्पर्धा हुने वातावरण सिर्जना भएको छ। ठुला राजनीतिक दलसहित नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबिच प्रतिस्पर्धा हुने वातावरण सिर्जना भएको हो। पछिल्लो जेन–जी विद्रोहसँगै ठुला दल कांग्रेस, एमाले, नेकपासँग रास्वपाले टक्कर दिने जनमत वृद्धि गरिरहेको छ। पछिल्ला दिनहरूमा जनस्तरमा ठुला दलसँग रास्वपाकै प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

जिल्लाको तीन निर्वाचन क्षेत्रमा १९ दलसहितका ११ स्वतन्त्र गरेर ५५ उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। पुरानैदेखि नयाँ एजेन्डा अघि सारेर दलहरू चुनाव आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रचारप्रसार समिति विस्तार, सम्पर्क कार्यालय सञ्चालनमा ल्याइरहेका छन्। जिल्ला, क्षेत्र, पालिका, वडादेखि बुथकेन्द्रसम्मै प्रचारप्रसार समिति बनाएर चुनावी तयारीमा जुटेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा संयुक्त, उज्यालो पार्टी नेपाल, प्रगतिशील पार्टीसहितका दल एवं स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । 

तीन वर्षअघि मात्रै ४ मंसिर ०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले, नेकपाबिचमै प्रतिस्पर्धा भएको थियो । चौथोमा रास्वपाले स्थान ल्याएको थियो । चौथोमा रहेको रास्वपाप्रति आकर्षण बढिरहेका वेला चारै दल कडा प्रतिस्पर्धामा देखिएका छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माअोवादी केन्द्रबिच चुनावी गठबन्धन भएको थियो । एमाले एक्लै चुनावी मैदानमा होमिएको थियो ।

सुझावित समाचार