खोटाङका एमाले नेता राईसहितकाे टाेली नेकपा प्रवेश

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले) खोटाङका नेता एवं केपिलासगढी गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णकुमार राईसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्।

नेकपा खोटाङले मंगलबार बाक्सिला बजारमा आयोजना गरेको कार्यक्रममा एमाले नेता राईसहित गाउँपालिका कमिटीका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला गाउँ कार्यसमिति अध्यक्ष दिनेश राईलगायतका १८ नेता कार्यकर्ताले एमाले परित्याग गरेका हुन्।

जनताको भवना बुझ्ने र जेन-जी आन्दोलनपछि सबैभन्दा पहिले पुनर्गठन भएको पार्टी भएकाले आफूले नेकपा रोजेको नेता राईले बताए। पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई नेकपाका केन्द्रीय अनुशासन आयोग अध्यक्ष एवं पूर्वसांसद टंक राई, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू रामकुमार राई ‘पासाङ’ र राजन राई, केन्द्रीय सदस्य भीम राई, जलशेर राईलगायतले स्वागत गरे।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टंक राईले जिल्लामा नेकपाको जित सुनिश्चित रहेको दाबी गरे। खोटाङमा नेकपाबाट डा. हरि रोका चुनावी मैदानमा छन्।


प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई स्वतन्त्रसहित १५ उम्मेदवार छन्। एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा कांग्रेस, एमाले र नेकपाका उम्मेदवारबिच नै प्रतिस्पर्धा हुने अनुमान छ। 
 

सुझावित समाचार