टी–२० विश्वकपका नौ फाइनल

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

भारत र श्रीलंकाले संयुक्त रूपमा आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दसौँ संस्करण ७ फेब्रुअरीदेखि आयोजना गर्दै छन् । प्रतियोगितामा २० राष्ट्र सहभागी छन् । यसपटक विश्वकपमा ५५ खेल हुनेछन् । आइसिसीले सन् २००७ मा पहिलोपटक विश्वकप सुरु गरेको थियो । दर्शकहरूलाई रोमाञ्चकता प्रदान गर्न आइसिसीले क्रिकेटकै छोटो विधाका रूपमा टी–२० विश्वकप गर्यो । पहिलो संस्करणमा वरीयता र छनोट खेलबाट आएका राष्ट्रबिच प्रतिस्पर्धा थियो । अहिलेसम्म विश्वकपको इतिहास हेर्दा भारत, इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपटक उपाधि जितेका छन् । दक्षिण एसियाली राष्ट्र श्रीलंका र पाकिस्तानले पनि एकपटक विश्वकप ट्रफी उचालेका छन् । अस्ट्रेलियाले पनि एकपटक विश्वकप जितेको छ । विश्वकपमा एसियाली राष्ट्रहरू सर्वाधिक सफल देखिन्छन् । अघिल्ला नौ फाइनल खेलका नतिजा यस्ता छन् ।

१. भारत–पाकिस्तान (२००७)
भारत १५७/५, पाकिस्तान १५२ (१९.३ ओभर)
भारत पाँच रनले विजयी

विश्वकपको पहिलो संस्करण फाइनलमा दक्षिण अफ्रिका भएको थियो । जहाँ उपाधि भिडन्तमा छिमेकी चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिडेका थिए । भारतका कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको भारतले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर १५७ रन बनाएको थियो । भारतका लागि ओपनर गौतम गम्भीरले ५४ बलमा ७५ रनको योगदान दिएका थिए । प्रत्युत्तरमा पाकिस्तानले १९.३ ओभरमा सबै विकेट गुमाएर १५२ रन जोड्दा भारतले सनसनी रूपमा पाँच रनको जित निकाल्यो । पाकिस्तानका मिस्वाउल हक अन्तिम ओभरमा क्याचआउट भएपछि पाकिस्तानको विश्व च्याम्पियन हुने सपना पूरा भएन । पहिलो संस्करणमा १२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । आइसिसीले फाइनलसम्म २७ खेल समावेश गरेको थियो ।

२. पाकिस्तान–श्रीलंका (२००९)
श्रीलंका १३८/६ पाकिस्तान १३९/२ (१८.४ ओभर)
पाकिस्तान आठ विकेटले विजयी

इंग्ल्यान्डले टी–२० विश्वकपको दोस्रो संस्करण आयोजना गरेको थियो । पाकिस्तानले ब्याक टु ब्याक फाइनल स्थान पक्का गर्यो । टी–२० विश्वकपको दोस्रो संस्करण पनि दुई एसियन राष्ट्रबिच नै भयो । पाकिस्तानका प्रतिद्वन्द्वी श्रीलंका थियो । श्रीलंकाले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर १३८ रन बनाएको थियो । विश्व च्याम्पियन हुन मध्यम लक्ष्य पाएको पाकिस्तानले केवल १८.४ ओभरमा दुई विकेट गुमाएर १३९ रन बनायो । पाकिस्तानले दोस्रो प्रयासमै विश्वकप ट्रफी उचाल्यो । पाकिस्तानका लागि कप्तान साहिद अफ्रिदीले ४० बलमा ५४ रन जोडेका थिए । श्रीलंकाका लागि कुमार सांगाकाराले ५२ बलमा ६४ रनको योगदान दिएका थिए ।

३. अस्ट्रेलिया–इंग्ल्यान्ड (२०१०)
अस्ट्रेलिया १४७/६, इंग्ल्यान्ड १४८/३ (१७ ओभर)
इंग्ल्यान्ड सात विकेटले विजयी

वेस्ट इन्डिजले आयोजना गरेको विश्वकपमा पहिलोपटक एसियन राष्ट्रले फाइनल स्थान बनाउन सकेनन् । अस्ट्रेलिया र इंग्ल्यान्ड उपाधि भिडन्तमा पुगेका थिए । बावर्डोस रगशालामा अस्ट्रेलियाले पाँच विकेट गुमाएर १४७ रन बनाएको थियो । इंग्ल्यान्डले आक्रामक रूपमा ब्याटिङ गरी १७ ओभरमा तीन विकेट गुमाएर १४८ रन जोड्दै विश्वकप उपाधि उचाल्यो । इंग्ल्यान्डले पहिलोपटक आइसिसीले आयोजना गरेको विश्वकप उपाधि जितेको हो । फाइनलमा अस्ट्रेलियाका लागि डेभिड हसीले ५४ बलमा ५९ रन जोडे । इंग्ल्यान्डलाई च्याम्पियन बनाउन क्रेजले ४९ बलमा ६३ रन बनाए । साबिक विजेता पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियाबाट पराजित भएको थियो ।

४. वेस्ट इन्डिज–श्रीलंका (२०१२)
वेस्ट इन्डिज १३७/७ श्रीलंका १०१ (१८.४ ओभर)
वेस्ट इन्डिज ३६ रनले विजयी

श्रीलंकाले पहिलोपटक आयोजना गरेको विश्वकपमा १२ राष्ट्रले २७ खेलमा प्रतिस्पर्धा गरेका थिए । टी–२० फम्यार्टमा अलराउन्डरले भरिएको वेस्ट इन्डिजले फाइनल स्थान बनाउँदा आयोजक श्रीलंका नै प्रतिद्वन्द्वी रह्यो । कोलम्बोमा भएको फाइनलमा वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । हेर्दा सहज देखिएको लक्ष्य पछ्याएको श्रीलंका १८.४ ओभरमा १०१ रनमा समेटिँदा वेस्ट इन्डिज ३६ रनले विजयी भयो । वेस्ट इन्डिजलाई विजेता बनाउन सुनील नारिनले नौ रन खर्चेर तीन विकेट लिएका थिए । वेस्ट इन्डिजका मार्लोन साइमुल्सले ५६ बलमा ७८ रन जोडे । श्रीलंकामा भेट्रान ब्याट्सम्यान महेला जयवद्र्धनेले ३६ बलमा ३३ रन बनाए । फाइनलमा श्रीलंकाली स्पिनर अजन्था मेन्डिसले पनि कसिलो बलिङ गरी १२ रनमा चार विकेट हात पारेका थिए ।

५. श्रीलंका–भारत (२०१४)
भारत १३०/४ श्रीलंका १३४/४ (१७.५ ओभर)
श्रीलंका ६ विकेटले विजयी

बंगलादेशले पहिलोपटक आयोजना गरेको विश्वकपको उपाधि भिडन्त पुन: एकपटक एसियाली राष्ट्रबिच भयो । ढाकामा भएको उपाधि भिडन्तमा भारतले २० ओभरमा चार विकेट गुमाएर १३० रनको झिनो योगफल बनायो । श्रीलंकाले आफ्नो उत्कृष्ट फर्म निरन्तरता दिँदा १७.५ ओभरमा चार विकेट गुमाएर १३४ रनले बाजी मार्यो । फेरि एकपटक विश्वकपमा दक्षिण एसियाली राष्ट्रहरूको दबदबा देखियो । फाइनलमा भारतका विराट कोहलीले ५८ बलमा ७७ रन बनाएका थिए । श्रीलंकाका लागि कुमार सांगाकाराले ३५ बलमा ५२ रनको म्याच विनिङ इनिङ्स खेलेका थिए । यसै विश्वकपमा नेपालले पहिलोपटक डेब्यु गरेको थियो । यसपटक आइसिसीले सहभागी संख्या बढाएर १६ पुर्याएको थियो ।

६. इंग्ल्यान्ड–वेस्ट इन्डिज (२०१६)
इंग्ल्यान्ड १५५/९, वेस्ट इन्डिज १६१/६ (१९.४ ओभर)
वेस्ट इन्डिज चार विकेटले विजयी

भारतले दोस्रोपटक विश्वकप आयोजना गर्दा इंल्यान्ड र वेस्ट इन्डिजबिच फाइनल समीकरण बन्यो । यी दुई टोलीले उपाधि जित्दा रेकर्ड बन्ने थियो । इंग्ल्यान्ड र वेस्ट इन्डिजले दुईपटक विश्वकप जित्ने रेकर्ड बनाउने तयारीमा थिए । इंग्ल्यान्डले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर १५५ रन बनाएको थियो । वेस्ट इन्डिजले इर्डन गार्डेन रंगशालामा १९.४ ओभरमा ६ विकेटको नोक्सानीमा १६१ रन जोड्दै दोस्रोपटक उपाधि उचाल्यो । वेस्ट इन्डिजका लागि मार्लोन साइमुल्सले ६६ बलमा ८५ रन बनाउँदा इंग्ल्यान्ड निरीह बन्यो । इंग्ल्यान्डका जोए रुटले ३६ बलमा ५४ रन जोडेका थिए ।

७. न्युजिल्यान्ड–अस्ट्रेलिया (२०२१)
न्युजिल्यान्ड १७२/४ अस्ट्रेलिया १७३/२ (१८.५ ओभर)
अस्ट्रेलिया आठ विकेटले विजयी

कोभिड–१९ को महामारीका कारण त्यसवेला कुनै पनि ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता भएन । यस्तो अवस्थामा युएईले टी–२० विश्वकप निकै सावधानीपूर्वक आयोजना गर्यो । विश्वकपको फाइनलमा पहिलोपटक न्युजिल्यान्ड र अस्ट्रेलियाले स्थान बनाए । न्युजिल्यान्डले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाएर १७२ रन जोडेको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियालाई विश्व विजेता बनाउन मिचेल मार्सले ५० बलमा ७७ रन जोडेका थिए । न्युजिल्यान्डको ब्याटिङमा केन विलयम्सनले विस्फोटक ४८ बलमा ८५ रन जोड्दा पनि काफी भएन । अस्ट्रेलियाका बलर जोस हेजलउडले १६ रनमा तीन विकेट हात पारे । आइसिसीले यसपटक १६ राष्ट्र र ४५ खेल समावेश गरेको थियो ।

८. भारत–इंग्ल्यान्ड (२०२२)
भारत १६८/६ इंग्ल्यान्ड १७०/० (१६ ओभर)
इंग्ल्यान्ड १० विकेटले विजयी

अस्ट्रेलियाले आयोजना गरेको विश्वकपको फाइनलमा पूर्वविजेताहरू पुगेका थिए । भारत र इंग्ल्यान्डले अन्तिम दुई स्थान सुरक्षित गरेका हुन् । तेस्रोपटक फाइनल खेलिरहेको भारतले पहिलो ब्याटिङ २० ओभरमा ६ विकेट गुमाएर १६८ रन जोडेको थियो । इंग्ल्यान्डले लक्ष्य पछ्याएको इनिङ्समा एक पक्षिय बनायो । इंग्ल्यान्डले केवल १६ ओभरमा कुनै पनि विकेट नगुमाएर १७० रन जोड्यो । विश्वकपमा पहिलोपटक उपाधि भिडन्त १० विकेटले जितेको यो नै पहिलोपटक रह्यो । इंग्ल्यान्डका लागि एलेक्स हालेसले ४७ बलमा ८६ रन जोडेका थिए । भारतका लागि हार्दिक पाण्ड्याले ३३ बलमा ६३ रन बनाए ।

९. भारत–दक्षिण अफ्रिका (२०२४)
भारत १७६/७ दक्षिण अफ्रिका १६९/८
भारत पाँच रनले विजयी

वेस्ट इन्डिज र अमेरिकाले पहिलोपटक विश्वकप आयोजना गरेका थिए । प्रतियोगिताको फाइनल वेस्ट इन्डिजमा भएको थियो । जसमा भारतले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर १७६ रन बनाएको थियो । फाइनलमा पहिलोपटक स्थान रक्षा गरेको दक्षिण अफ्रिकाले अन्तिम ओभरमा नर्भर हुँदा आठ विकेट गुमाएर १६९ रन मात्र जोड्दा भारत पाँच रनले विजयी भयो । भारतले दोस्रोपटक उपाधि जित्न १७ वर्ष प्रतीक्षा गरेको थियो । भारतका लागि विराट कोहलीले ५९ बलमा ७६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २७ बलमा ५२ रन जोडे । आइसिसीले पहिलोपटक सहभागी संख्या बढाउँदा २० पुग्यो । नेपालले १० वर्षपछि विश्वकपमा स्थान बनाउँदा समूह चरणमा दक्षिण अफ्रिकाबाट एक रनले पराजित भएको थियो ।

– आइसिसीको सहयोगमा

सुझावित समाचार