राष्ट्रिय योगासनमा रोशन र सोनम उत्कृष्ट

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

कञ्चनपुरका रोशन विष्ट र काठमाडौंकी सोनम वाङ्मो तामाङ सातौँ राष्ट्रिय योगासन प्रतियोगिताका उत्कृष्ट खेलाडी बनेका छन् । २४६ योगासन खेलाडीलाई पछि पार्दै रोशन ‘मिस्टर योगी’ र सोनम ‘मिस योगी’ बनेका हुन् । कपनस्थित दीक्षालय स्कुलमा आइतबार भएको प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । रोशन यसअघि पनि दुईवटा राष्ट्रिय प्रतियोगितामा मिस्टर योगी बनेका थिए । उनी लगातार मिस्टर योगी हुने पहिलो खेलाडी बनेका छन् ।

१० देखि १४ वर्ष उमेर समूह (पुरुष)तर्फ सत्यनारायण शाह पहिलो भए । सोही उमेर समूह (महिला)तर्फ सोनम वाङ्मो तामाङ पहिलो भइन् । १४ देखि १८ वर्ष उमेर समूह (पुरुष)तर्फ बुद्ध गुरुङ र महिलातर्फ प्रज्ञा गौतम पहिलो भए । यसैगरी, १८ देखि २८ वर्ष उमेर समूह (पुरुष)तर्फ रोशन विष्ट र महिलातर्फ चाँदनी परियार च्याम्पियन बनेको आयोजकले जनाएको छ । 

२८ देखि ३५ वर्ष उमेर समूह (पुरुष)तर्फ देवबहादुर थापा र महिलातर्फ मीनाकुमारी राउत प्रथम स्थानमा रहे । यसैगरी, ३५ देखि ४५ वर्ष उमेर समूह (पुरुष)तर्फ नीलकमल राय र महिलातर्फ सोही समूहमा सिर्जना श्रेष्ठले पहिलो स्थान रक्षा गरेका छन् । प्रतियोगिताका टेक्निकल डाइरेक्टर डा. संग्राम पुरीले सातौँ राष्ट्रिय योगासन प्रतियोगितामा पहिलोपटक डिजिटल डिसिजन प्रयोग भएको बताए । 

सुझावित समाचार