भग्नावशेषमै बागमती प्रदेश सभाको आठौँ वार्षिकोत्सव, विधायकी भूमिकामा पनि कमजोर

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

नेपालको संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको बागमती प्रदेश सभा आइतबार स्थापनाको आठौँ वर्षमा प्रवेश गर्दै छ । १८ माघ ०७४ मा पहिलो अधिवेशन सुरु गरेको प्रदेश सभाले आइतबार आठौँ वार्षिकोत्सव मनाउन लागेको हो । प्रदेश सभाको आठौँ वार्षिकोत्सव कार्यक्रम गत २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको प्रदेश सभा भवन परिसरमा हुँदै छ । 

वार्षिकोत्सव मनाउँदै गरेको बागमती प्रदेश सभा भौतिक संरचना मात्र होइन, आफ्नो मूल विधायकी भूमिकामै कमजोर देखिएको छ । संस्थागत संरचना विकासमा अपेक्षित प्रगति गर्न नसकेको प्रदेश सभा गत वर्ष भएको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट गम्भीर रूपमा प्रभावित भएको छ । भौतिक क्षतिसँगै संसद्को विधायकी भूमिका पनि कमजोर बनेको छ । जेन–जी आन्दोलनअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ३ मंसिरमा प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गरेका थिए । त्यसयता प्रदेश सभा बैठक बस्न सकेको छैन ।

स्थापनाको पहिलो कार्यकालमा तुलनात्मक रूपमा जिम्मेवार र जवाफदेही देखिएको प्रदेश सभा दोस्रो कार्यकालमा आइपुग्दा आफ्नो मुख्य भूमिकाबाट विचलित हुँदै गएको देखिन्छ । हालसम्म प्रदेश सभाबाट ९० वटा विधेयक पारित भएका छन् भने ८९ वटा कानुन राजपत्रमा प्रकाशित भइसकेका छन् । दोस्रो कार्यकालको सुरुवातमै संसद्मा पेस गरेर रातारात पारित गरिएको विवादित चिट्ठा विधेयक प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता पठाइएपछि अहिलेसम्म प्रदेश सभामै अलपत्र छ ।

हाल प्रदशेसभामा तीनवटा विधेयक सभा, समिति तथा सचिवालयमा विचाराधीन अवस्थामा रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सभामुख अप्सरा चापागाईंका अनुसार आठौँ वर्षमा हिउँदे र बर्खे अधिवेशन गरी प्रदेश सभाले पाँचौँ अधिवेशनमा ६ वटा बैठक सञ्चालन गर्दै नौ घण्टा २५ मिनेट मात्रै समय खर्च गरेको थियो भने छैटौँ अधिवेशनमा २४ वटा बैठक गर्दा ३९ घण्टा २१ मिनेट समय खर्च गरेको थियो । यसले सांसदहरूको ध्यान कानुन निर्माणभन्दा पनि विकासे योजना, बजेट वितरण र क्षेत्रगत प्रभाव विस्तारतर्फ बढी केन्द्रित हुन थालेका छन् भने प्रदेश सांसदहरू कानुन निर्माणभन्दा विकासे भूमिकातर्फ बढी आकर्षित भएको देखिन्छ । पछिल्लो समय संसद्मा पेस हुने विधेयकहरूमा दलस्तरीय छलफल र सांसदहरूको सक्रिय सहभागिता न्यून हुँदै गएको स्वयं उपसभामुख चौलागाईंको टिप्पणी छ । दलहरू स्वयं विधेयकमाथि छलफल गर्न इच्छुक नदेखिँदा संसद्को विधायकी भूमिका कमजोर बनेको उनी बताउँछिन् । 

उपसभामुख चापागाईंका अनुसार पहिलोको तुलनामा दोस्रो कार्यकालमा कानुन निर्माणको संख्या केही घटेको हो । ‘पहिलो कार्यकालमा धेरै आवश्यक कानुन बने । अहिले ती कानुनहरूको पुनरावलोकन आवश्यक छ,’ उनले भनिन्, ‘बैठक संख्या र छलफलको गुणस्तर पनि अपेक्षाअनुसार हुनसकेको छैन । यसमा सांसदहरूको चासो र चिन्ता हुनुपर्ने थियो, तर यस विषयमा कमजोरी भएको छ ।’ उनले विधायकी भूमिकालाई प्रभावकारी बनाउनेतर्फ प्रदेश सभा सुधारका प्रयासमा जुटेको दाबी गरिन् । 

प्रदेश सभाले नीतिगत चुनौतीसँगै गम्भीर भौतिक क्षति पनि व्यहोर्नुपरेको छ । गत २३ र २४ भदौको जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रदेश सभा सचिवालय तहसनहस भएको छ । सचिवालयको प्रतिवेदनअनुसार करिब ३२ करोड ५४ लाख ५७ हजार रुपैयाँबराबरको क्षति भएको छ । पुरानो सभाकक्ष, सचिवालय भवन, नयाँ भवन, संसदीय दलका कार्यालय र पुस्तकालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । आफ्नै भवन प्रयोग गर्न नसक्ने भएपछि हेटौँडा उपमहानगरपालिका– २ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी गरेको छ । सरकारले जेन–जी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर रंगरोगन तथा आवश्यक फर्निचरको व्यवस्था गरिएको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।

सुझावित समाचार