छैटौँ टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि गण्डकीलाई

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

घरेलु टोली गण्डकी प्रदेशले छैटौँ टाइगर कप पुरुषतर्फको उपाधि हात पारेको छ । शनिबार सम्पन्न फाइनलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । उपाधिसँगै गण्डकीले नगद ६ लाख ६६ हजार ६६६ पाउँदा उपविजेता पुलिसले तीन लाख ६६ हजार ६६६ नगद पुरस्कार पाए । यसअघि शुक्रबार भएको फाइनलमा महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्डले उपाधि जितेको थियो । खेलको पहिलो सेट २३–२५ ले आफ्नो पक्षमा पारेको पुलिस त्यसपछिका लगातार तीन सेटमा पराजित हुन पुगेको थियो । पहिलो सेटमा पछि परेको अवस्थालाई उल्टाउँदै गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले आफनो पक्षमा पादै छैटौँ संस्करण सकिँदा दोस्रोपटक उपाधि हात पारेको हो । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजन भएको छैटौँ संस्करणको फाइनलसम्म आइपुग्दा दुवै टोली दोस्रोपटक उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रेका थिए । यसअघि पहिलो संस्करणको गण्डकी र पाँचौँमा पुलिसले उपाधि हात पारेको थियो । यसअघि समूह चरणमा समेत गण्डकीले पुलिसलाई पराजित गरेको थियो । फाइनलको हारसँगै पुलिसले समूह चरणका व्यहोरेको हारको बदला लिनसमेत चुकेको छ । 

पर्वत तेस्रो 
पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा पर्वतले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । खेलमा पर्वतले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै दुई लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार पाएको छ । 

मुस्तफा सर्वाेत्कृष्ट खेलाडी 
पुरुषतर्फ प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी गण्डकीका मुस्ताफा खान भएका छन् । उनले २६ हजार ६६६ नगद हात पारे । यस्तै, विधागत रूपमा सर्भरमा अद्नान खान, लिबिरोमा भीमबहादुर गाहा, सेटरमा बलराम गुरुङ, ब्लकरमा फहद राज, स्पाइकरमा फकर वाट्ट र प्रशिक्षकमा रमेश केसी उत्कृष्ट भए । उनीहरूले जनही समान ११ हजार ६६६ रुपैयाँ हात पारे ।

फाइनलमा पर्वत कि पुलिस भन्नेमा विवाद
आयोजकले शुक्रबार लिग चरणका खेल सकिएसँगै फाइनलमा पर्वत पुगेको घोषणा गरेकोमा पछि विवाद सिर्जना भएको थियो । विवादपछि आयोजकले आफ्नो यसअघिको निर्णय सच्याउँदै फाइनल पुग्ने टोली परिवर्तन गरेपछि पर्वतको साटो पुलिसले फाइनल खेलेको हो । 

पुरुषतर्फ सहभागी ६ टोलीमध्ये समूह चरणका खेल सकिँदा गण्डकी ११ अंकसहित शीर्ष स्थानमा रह्यो । पर्वत र नेपाल पुलिसको समान १० अंक रहे पनि सेटका आधारमा पर्वतले अन्तिम दुईमा स्थान बनाएको घोषणा आयोजकले गरेका थिए । आयोजकको निर्णयविरुद्ध पुलिसले असहति जनाउँदै सेट रेसियोमा आफू अघि रहेको र आफूले फाइनल खेल्न पाउने दाबी गर्दै निवेदन दिएको थियो । पुलिसको असहमति र निवेदनपछि आयोजकसहित रेफ्री संयोजक, प्राविधिक संयोजक र प्रतियोगिता संयोजकको संयुक्त बैठकले फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचनाप्रवाह हुन गएको भन्दै फाइनमा गण्डकीसँग पुलिसले प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए । संयुक्त बैठकपछि जारी विज्ञप्तिमा सेट रेसियोमा पुलिसअगाडि रहेको जनाउँदै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिस्पर्धा गर्ने, सेट रेसियोमा पुलिसको १.५७, पर्वतको १.४४ रहँदा अंक रेसियोमा पुलिसको १.१६ र पर्वतको १.१३ रहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

यस सम्बन्धमा प्रतियोगिता रेफ्री संयोजक टहल सिंह थापाले भिआइएसको सानो गल्तीका कारण फाइनलमा पुग्ने टोलीको छिनोफानो गर्दा कमजोरी भएको बताए । हतार–हतारमा निर्णय गर्नुपरेकाले सामान्य प्राविधिक कमजोरीका कारण त्यस्तो हुन गयो । निर्णय गर्ने समय हामीले टोलीले हारेको सेटले जितेको सेटलाई भाग गर्दा जसको धेरै अंक आउँछ उसलाई पहिलो मानेर गर्नुपर्ने थियो, तर गर्दा कमजोरी हुनपुग्यो । समूह चरणका पुलिसले ११ सेट जित र सात सेट हार्दा पर्वतले १३ सेट जित र नौ सेट हारेको थियो । 

सुझावित समाचार