- न्यु डायमन्ड महिला टोलीले पुस–माघसम्म एनभिए, शेरबहादुर स्मृति र छैटौँ टाइगर कपको उपाधि जित्दा तीनपटक अवसरको फाइनलमा नेपाल पुलिस क्लब पराजित
न्यु डायमन्ड स्पोर्टस् क्लबले एक महिनाभित्र तेस्रो उपाधि जितेको छ । न्यु डायमन्डको महिला टोलीले शुक्रबार तेस्रो उपाधिका रूपमा छैटौँ टाइगर कप हात पारेको हो । तीनवटा ट्रफी उचाल्दा न्यु डायमन्डले तीनैपटक विभागीय टोली नेपाल पुलिसलाई हराएको हो । पोखरामा महिलातर्फ भएको फाइनलमा पुलिसमाथि ३–० को एकपक्षीय सानदार जित निकाली न्यु डायमन्डले एक महिनाभित्र उपाधिको ह्याट्रिक लगाएको हो ।
टाइगर कप पहिलोपटक जित्दा न्यु डायमन्ड २५–११, २५–२२ र २५–१६ ले विजयी रह्यो । गत २७ पुसमा न्यु डायमन्डले शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबलको उपाधि जित्दा फाइनलमा पुलिस २५–२२, २५–१८, १५–२५ र २७–२५ ले पराजित भएको थियो । २१ पुसमा राष्ट्रिय खेलकुद परिषद्मा भएको नवौँ एनभिएअन्तर्गत महिलातर्फको उपाधि भिडन्तमा न्यु डायमन्डले पुलिसमाथि २५–१८, २५–१९ र २५–१८ ले निराश पारेको थियो । नियमित प्रशिक्षणमा रहेको पुलिसले लगातार तेस्रो फाइनलमा न्यु डायमन्डलाई हराउन सकेन । अस्ट्रेलियाबाट प्रतिभा माली फर्किएपछि न्यु डायमन्डको टोली बलियो देखिएको हो । टोलीमा अन्तर्राष्ट्रियस्तरकै अनुभवी खेलाडीको आगमनमा न्यु डायमन्डले एनभिएदेखि लगातार उत्कृष्ट प्रदर्शन आइरहेको छ ।
न्यु डायमन्डकी सुमित्रा रेग्मीले प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी हुँदै २६ हजार ६ सय रुपैयाँ हात पारिन् । विधागत रूपमा सर्भरमा प्रतिभा माली, लिबिरोमा शान्तिकला तामाङ, सेटरमा प्रगति नाथ, ब्लकरमा सुनीता खत्री, स्पाइकरमा पथैया र प्रशिक्षकमा कुमार राई उत्कृष्ट बने । उत्कृष्टहरूले जनही ११ हजार ६ सय ६६ रुपैयाँ हात पारे ।
उपाधिका लागि गण्डकीसँग पुलिसले खेल्ने
छैटौँ टाइगर कप च्याम्पियनसिपको पुरुषतर्फ फाइनल खेल्ने टोली परिवर्तन भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले अंकतालिका सच्याएपछि अब उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा भिड्ने भएका हुन् । आयोजकले सेट रेसियोमा पुलिस अगाडि रहेको भन्दै फाइनलमा गण्डकी र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने शुक्रबार अबेर राति जानकारी गराएको हो । यसअघि आयोजकले गण्डकी र पर्वतबिच उपाधि भिडन्त हुने भनिएको थियो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भइरहेको च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ समूह चरणको अन्तिम खेलमा गण्डकीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेपछि आयोजकले गण्डकी र पर्वत दुवै फाइनलमा पुगेको घोषणा गरेको थियो । गण्डकी ११ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो । तर, पर्वत र पुलिसको समान १० अंक भएपछि आयोजकले धेरै सेट जितेको भन्दै पर्वतलाई दोस्रो स्थानमा राख्दै फाइनल पुर्याएको थियो । सेट रेसियोमा पर्वतभन्दा पुलिस अघि रहेकाले नियमअनुसार पुलिस फाइनलमा पुग्नुपर्ने थियो ।
यस विषयलाई आयोजकले शुक्रबार राति बैठक बसेर अंकतालिका सच्याउँदै फाइनल पुगेको टिम परिवर्तन भएको जानकारी गराएको हो । आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले प्रेस विज्ञप्ति जारी गर्दै सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिस्पर्धा हुने जानकारी गराएको हो ।