शुक्रबार : १० बजेसम्मका १० मुख्य खबर

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

३०२ मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति पहिचान, आयोगले कारबाही प्रक्रिया अघि बढायो

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मिथ्या–भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी र कारबाही प्रक्रियालाई तीव्रता दिएको छ।

आयोगअन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाइले ३०२ मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको पहिचान गरेको छ।

त्यस्ता ३०२ वटा हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

खगेन्द्र सुनारलाई सचेत गराउँदै रास्वपाले भन्यो– समावेशी समाज निर्माणको अभियानमा पार्टी अडिग रहनेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  धार्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा पार्टी अडिग रहने प्रस्ट पारेको छ। रास्वपाका उम्मेदवार रहेका खगेन्द्र सुनारले दिएको अभिव्यक्तिले पार्टीप्रति प्रश्न उठेपछि रास्वपाले यसमा पार्टीको धारणा सार्वजनिक गरेको हो । 

सुनारले सो विषयमा माफी मागिसकेको र पार्टीले पनि उनलाई सचेत गराएको महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘रास्वपा सधैँ विधिको शासन, सामाजिक न्याय, धार्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहनेछ।’ 

अब कसैले पनि सहिद बन्नु नपरोस् : बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सहिद दिवसको अवसरमा भावुक सन्देश दिँदै अब फेरि कसैले पनि सहिद बन्नु नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले ८५ वर्षअघि राणा शासनविरुद्ध आवाज उठाउँदा ज्यान गुमाएका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना अझै अधुरा रहेको उल्लेख गरेका छन्।

शाहका अनुसार राणा शासनको अन्त्य त भयो, तर राज्यको चरित्र परिवर्तन हुन सकेन। ‘व्यवस्था पटक–पटक फेरियो, तर सत्ताको सोच र व्यवहार उस्तै रह्यो’ उनले लेखेका छन्। उनका अनुसार यिनै कारणले नेपाली जनता पटक–पटक बलिदान दिन बाध्य भए, तर सहिदहरूले देखेको न्यायपूर्ण र जनमुखी राज्य अझै निर्माण हुन सकेको छैन।

झापा ५ का मतदाताले पपुलिजमको प्रभावमा परिणामलाई तलमाथि पार्दैनन् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा ५ मा पार्टी सुरक्षित रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा हुने प्रचारले केही हदसम्म प्रभाव पारे पनि झापा ५ मा पनि एमाले सुरक्षित रहेको पोखरेलको तर्क छ।

शुक्रबार च्यासलमा पत्रकार सम्मेलन गर्दै पोखरेलले राजनीतिक रूपमा जागरुक झापा ५ का मतदाताले लोकप्रियता र अराजकताको प्रभावमा निर्वाचन परिणामलाई तलमाथि नगर्ने जिकिर गरे।

‘झापा ५ का जनता राजनीतिक रूपमा जागरुक जनता हुन्। जसले पञ्चायतको विरुद्ध विद्रोहको शंखघोष गरे, त्यो ठाउँका जनता जसले हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे, त्यो ठाउँका जनता पपुलिजम र एनार्किजमको प्रभावमा परेर परिणामलाई नै तलमाथि पार्न सक्छन् भन्ने मान्यता पार्टीको छैन,’ उनले भने।

ललितपुरमा श्रीमतीको हत्या गरेर श्रीमान् पुगे प्रहरी कार्यालयमा

ललितपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।  गोदावरी नगरपालिका– ७, देउरालीडाँडा  बस्ने ३० वर्षीय विनोद तामाङले बिहीबार राति २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेका हुन्। 

मादक पदार्थ सेवन गरी विवाद हुँदा चिर्पटले हानेर उनले श्रीमतीको हत्या गरेका हुन्। हत्यापछि शुक्रबार बिहान उनी आफैँ प्रहरी चौकी टीकाभैरव पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी वृत्त चापागाउँकी डिएसपी शिला थापासहितको टोली घटनास्थलमा खटिएर शवको मुचुल्का गरी पाटन अस्पताल पठाएको छ। 

निर्वाचनका लागि गृहको विशेष तयारी : ल्यायाे वडातहसम्मकै समन्वय अभिवृद्धि गर्ने अवधारणा

गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिहरूलाई निर्वाचनका सबै प्रक्रियामा सहभागी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ।

निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै गृहले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडातहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ तयार गरी जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो।

देश सम्हाल्ने प्रतिबद्धता गर्दै गगनले भने– सक्षम नेतृत्व आवश्यक छ

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुट–उपगुट अन्त्य भइसकेको बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवासँग नियमित संवाद भइरहेको भन्दै सभापति थापाले पार्टीभित्र गुट–उपगुट अन्त्य भइसकेको दाबी गरेका हुन्।

जनकपुरधामस्थित कांग्रेसको मधेश प्रदेश कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति थापाले अब रुख चुनाव चिह्न भएका उम्मेदवारलाई जिताउन सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

वर्तमान अवस्थामा देशलाई सम्हाल्ने र सुधार्ने शक्ति नेपाली कांग्रेससँग मात्रै रहेकाे उनकाे भनाइ थियाे। देश सक्षम नेतृत्वको खोजीमा रहेको बताउँदै उनले त्यो जिम्मेवारी कांग्रेसले मात्र बहन गर्न सक्ने बताए।

सहकारीकाे मल व्यापारीको गोदाममा भेटियो

उदयपुरको कटारी क्षेत्रमा किसानहरूले सरकारी अनुदानको युरिया मल नपाइरहेका वेला सो क्षेत्रको मल सिन्धुलीको दुधौली बजारमा फेला परेको छ। कटारी नगरपालिका– १४ का किसानका नाममा दुर्गा भवानी कृषि सहकारी संस्थाले ल्याएको अनुदानको युरिया मल दुधौली बजारका एक व्यापारीको गोदाममा बिहीबार साँझ फेला परेको हो।

कटारीका लागि ल्याइएको अनुदानको रासायनिक मल सहकारीमार्फत नै कालोबजारी हुँदै दुधौली पुगेको खुलेको छ। कटारी बजारस्थित दुर्गा भवानी कृषि सहकारी संस्थाले ल्याएको अनुदानको मल तस्करी गरी दुधौली पठाइएको गोप्य सूचना पाएपछि किसान संघर्ष समितिका संयोजक गणेश थापाको नेतृत्वमा गएको टोलीले उक्त मल फेला पारी दुधौली प्रहरीको जिम्मा लगाएको हो।

प्रधानमन्त्रीले भनिन्– कुनै पनि आमाको काख रित्तिन नपरोस्

प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना गरेकी छिन्। शुक्रबार सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले सहिदहरूको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउँदै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति  श्रद्धाञ्जली अर्पण गरिन् । 

भाइसहित ट्याक्टरचालक खान गएका वेला यादवको गोली हानी हत्या

सिराहाको जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिका– ७ स्थित खेतबाट माटो ओसार्ने ट्याक्टरचालकसँगै सहोदर भाइ पनि घर गएका वेला करिब ४५ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या भएको छ । 

प्रहरीका अनुसार सिराहा– १ घर भएका यादवमाथि सिराहाको बाइपास सडकनजिकै रहेको मैनाबत्ती खोलाको पूर्वपट्टि शुक्रबार दिउँसो अज्ञात समूहले गोली हानेर हत्या गरेको हो । मृतक यादवका कान्छो भाइ अभयनाथ यादवले चलाएको मधेश प्रदेश ०१–००१ त २९५६ नम्बरको बकेट जडान गरिएको ट्याक्टरले उठाएको माटो अर्को ट्याक्टरमा हालेर भाइसमेत खाना खान घर गएका वेला उनीमाथि दिउँसो करिब डेढ बजेतिर गोली प्रहार भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

सुझावित समाचार