प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना गरेकी छिन्। शुक्रबार सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले सहिदहरूको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउँदै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन् ।
उनले भनेकी छिन्, ‘न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि नमन।’ उनीहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउँदै शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको सधैँ स्मरणमा रहनुपर्ने उल्लेख गरिन् ।