नागरिक उन्मुक्तिको पकड क्षेत्रमा कसले मार्ला बाजी ?

अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरी फरक कित्तामा, पाँच पूर्वसहकर्मी अलग–अलग पार्टीबाट प्रतिस्पर्धामा

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

गत चुनावमा कैलालीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा ‘क्लिन स्विप’ गरेको नागरिक उन्मुक्ति पार्टी यसपालिको चुनावमा प्रतिस्पर्धामा छैन । यसअघि नागरिक उन्मुक्तिमा रहेका पाँच नेता अहिले फरक–फरक पार्टीबाट चुनावी मैदानमा छन् ।

कैलाली १ लाई आधार बनाएर उदाएको नागरिक उन्मुक्ति नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । विगतमा यही क्षेत्रबाट फराकिलो मतान्तरसहित निर्वाचित अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका पति रेशमलाल चौधरी अहिले फरक कित्तामा छन् । पार्टी टुक्राटुक्रा भएर पाँच पूर्वसहकर्मी अलग–अलग पार्टीबाट प्रतिस्पर्धामा उत्रिएपछि कैलाली १ को चुनावी प्रतिस्पर्धा रोचक र पेचिलो बनेको छ । गत चुनावमा बलियो प्रभाव देखिएको नागरिक उन्मुक्ति विभाजन भएकाले पनि यो चुनावको नतिजा के होला भन्ने चासो बढेको छ ।

०७२ साउनमा थरुहट आन्दोलनका क्रममा नौजना मारिएको टीकापुर हत्या घटनापछि फरार रहेका रेशम फरार अवस्थामै ०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । पछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका रेशम टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएकाले संसद् छिर्न पाएनन् । ०७९ को चुनावको मुखमा उनले श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी स्थापना गरे ।

स्थानीय चुनावमा नाउपाले कैलाली १ अन्तर्गतका तीन पालिकामा प्रमुख, उपप्रमुख र एउटा पालिकामा प्रमुख जित्यो । रेशमले जितेकै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको रञ्जिता उम्मेदवार बनिन् र निर्वाचित भइन् । कैलाली २ र ३ बाट पनि प्रतिनिधिसभा र प्रदेश सभामा नागरिक उन्मुक्तिकै उम्मेदवार विजयी भए ।

नागरिक उन्मुक्ति गठन हुँदा २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये रामलाल डगौरा थारू नेपाली कम्युनिस्ट पार्टीबाट कैलाली १ मा उम्मेदवार बनेका छन् । टीकापुर नगरपालिका प्रमुखबाट राजीनामा दिएर उनी प्रतिस्पर्धामा उत्रिएका हुन् । अर्का संस्थापक केन्द्रीय सदस्य एवं कोषाध्यक्ष कोमल ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टीबाट तथा त्यसवेलाका जिल्ला अध्यक्ष र नाउपाबाटै ०७४ को चुनावमा जानकी गाउँपालिका अध्यक्षमा निर्वाचित प्रदीप चौधरी उज्यालो नेपाल पार्टीबाट प्रतिस्पर्धा गर्दै छन् । त्यसवेला नागरिक उन्मुक्तिमै आबद्ध विमलकुमार डगौरा श्रम संस्कृति पार्टीबाट र फागुराम थारू स्वतन्त्र उम्मेदवार बनेका छन् । यो क्षेत्रबाट रेशमले पनि उम्मेदवारी दिएका थिए, तर कर्तव्य ज्यान, जान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा अदालतबाट जन्मकैदको सजाय भएका व्यक्ति उम्मेदवार बन्न नपाउने भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको छ ।

१८ उम्मेदवार प्रतिस्पर्धामा
टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका तथा जानकी गाउँपालिकाका पाँच र भजनी नगरपालिकाका दुईवटा वडा पर्ने कैलाली १ मा एक लाख आठ हजार ४९१ मतदाता छन् । थारूबाहुल यो क्षेत्रमा करिब ६० प्रतिशत थारू समुदायका मतदाता रहेको अनुमान छ । यो क्षेत्रबाट दल र स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, उज्यालो नेपाल पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालको समर्थन पाएका स्वतन्त्र उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा हुने आकलन छ । कांग्रेसले जनकराज चौधरी र एमालेले द्वारिकाप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । चौधरी यो क्षेत्रबाट तत्कालीन फोरम लोकतान्त्रिकबाट ०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदीप चौधरीले विगतमा नागरिक उन्मुक्तिले उठाएको थारू समुदायको पहिचान, अधिकारसहितका मुद्दा लिएर आफू मतदाताको घरदैलो पुगिरहेको बताए । ‘जातीय पहिचान, अधिकार, सुशासन, विकास, समृद्धिलगायत मुद्दा अघि सारेका छौँ,’ उनले भने, ‘एजेन्डाका आधारमा फरक–फरक कित्तामा भए पनि विगतका सहकर्मीसँगको प्रतिस्पर्धालाई सामान्य रूपमा लिएको छु ।’ नेकपाका उम्मेदवार चौधरी विगतमा नागरिक उन्मुक्तिले उठाएका जातजातिको अधिकार, पहिचानको मुद्दा नछाडेको बताउँछन् । क्षेत्रविशेषमा मात्र प्रभाव रहेको पार्टीले राज्यसत्तामा पहुँच पुर्‍याएर मुद्दाहरू सम्बोधन गराउन गाह्रो हुने भएकाले नेकपासँग एकता गरिएको उनको भनाइ छ ।

नागरिक उन्मुक्तिका २१ जना संस्थापकमध्ये १२ जना अहिले नेकपामा रहेको रामलाल डगौरा थारूले बताए । ‘हामी आ–आफ्ना राजनीतिक मुद्दा लिएर जनतामा जाने हो । विगतमा कसले कति काम गर्‍यो जनताले मूल्याकंन गरेका होलान्,’ उनले भने, ‘वडाध्यक्ष हुँदै पालिका प्रमुख भएर काम गरेको अनुभव र सिकाइका आधारमा केन्द्रमा गएर काम गर्न चाहेको छु ।’ विगतका सहकर्मी प्रतिस्पर्धामा भए पनि आफूहरूबिचको सम्बन्ध सौहार्दपूर्ण नै रहेको थारूले बताए ।

कैलाली १ मा ०४८ यताका हरेक संसदीय चुनाव फरक–फरक पार्टीले जितेको इतिहास छ । ०४८ मा कांग्रेसका गंगाबहादुर कुँवर, ०५१ को मध्यावधिमा एमालेका हिमाञ्चल भट्टराई र ०५६ मा कांग्रेसकी सुशीला स्वाँरले जितेका थिए । ०६४ को संविधान सभा सदस्य चुनावमा तत्कालीन माओवादीका रूपा सोसी चौधरी निर्वाचित भएकी थिइन् ।

रेशमको उम्मेदवारी खारेजपछि स्वतन्त्रलाई समर्थन
राष्ट्रपतिबाट कैद माफी पाएर १५ जेठ ०८० मा रिहा भएपछि राजनीतिमा सक्रिय भएका रेशम श्रीमती रञ्जिता हटाएर पार्टी अध्यक्ष बने । तर, उनको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएन । श्रीमतीसँगको विवादका कारण उनले अहिले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गराएका छन् । उनले यही पार्टीबाट उम्मेदवारी दिएका थिए । रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी नेपालले फागुरामलाई समर्थन गरेको छ । रेशमको उम्मेदवारी खारेज हुन सक्ने आकलन गरेरै नाउपा नेपालले फागुरामलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको थियो । नाउपा नेपालका अध्यक्ष कबिर सोपले पार्टीले फागुरामलाई समर्थन गरेको बताए । यद्यपि, रेशमको उम्मेदवारी खारेजीको मुद्दा अदालतमा विचाराधीन छ ।

सुझावित समाचार