सहिदको सपना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै समृद्धि र सुशासनको मार्गमा प्रदेशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सहिद दिवस २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जहानियाँ राणा शासनविरुद्धको आन्दोलनदेखि लोकतन्त्र, गणतन्त्र र सुशासन स्थापनासम्म भएका सबै आन्दोलनमा प्राण आहुति दिने सहिदहरूको योगदानकै कारण आजको राजनीतिक व्यवस्था सम्भव भएको उल्लेख गरेका छन् । 

मुख्यमन्त्री बानियाँले सहिदहरूको त्याग केवल इतिहासको विषय नभई वर्तमान र भविष्यका लागि मार्गदर्शक भएको बताएका छन् । मुख्यमन्त्री बानियाँले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दलगायतका सहिदहरू तथा विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन बलिदान गर्ने ज्ञात–अज्ञात सहिदहरू नेपाली समाजका लागि प्रेरणाको स्रोत भएको सन्देशमा उल्लेख गरेका छन् । सहिदहरूको सपना साकार पार्न प्रदेश सरकार नीति, कार्यक्रम र कार्यान्वयनमा प्रतिबद्ध भएर अघि बढिरहेको उनको भनाइ छ ।

सन्देशमा सहिदहरूको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा उतार्दै सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रको सुदृढीकरणमार्फत समाजवादको लक्ष्यतर्फ अघि बढ्नु आजको आवश्यकता भएको उल्लेख गरिएको छ । यसका लागि राजनीतिक दल, नागरिक समाज र आमनागरिकबिच एकता र सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री बानियाँले औँल्याएका छन् ।

सहिद दिवसको अवसरमा उनले राष्ट्रिय एकता, आपसी समझदारी, सामाजिक सदभाव र शान्तिपूर्ण वातावरण निर्माण गर्दै देशको समृद्धि र स्थायित्वका लागि सबैलाई एकजुट भएर अघि बढ्न आह्वान पनि गरेका छन् ।
 

सुझावित समाचार