रोचक बन्दै रुपन्देही २ को प्रतिस्पर्धा

विष्णु पौडेल, चुन्नप्रसाद पौडेल, सुलभ खरेल, विश्वदीप पाण्डेदेखि निकोलस भुसालसम्म चुनावी मैदानमा

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय चर्चामा रहने रुपन्देही २ को निर्वाचन यसपटक पनि रोचक बनेको छ । यस क्षेत्रबाट लगातार पाँचौँ जित निकाल्न कस्सिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई ‘ब्रेक’ लगाउने प्रयासका साथ कांग्रेसका चुन्नप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका सुभाष पाण्डे (विश्वदीप), नेपाल जनसेवा पार्टीबाट कमल भुसाल (डा. निकोलस भुसाल) मैदानमा उत्रिएका छन् । रुपन्देही २ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार यस क्षेत्रमा १९ दलका १९ र स्वतन्त्र २० गरी ३९ जना चुनावी मैदानमा छन् । 

रुपन्देही २ मा २७ देखि ७८ वर्षसम्मका उम्मेदवार छन् । ४१ जनाले उम्मेदवारी दर्ता गरेकामा एकजनाको खारेज र अर्का एकजनाले फिर्ता लिएका थिए । निर्वाचन अधिकृत न्यौपानेका अनुसार सार्वभौम नागरिक पार्टीबाट उम्मेदवार बनेकी कमलादेवी गुरुङको उम्मेदवारी खारेज भएको हो । कालोसूचीमा परेका कारण उनको उम्मेदवारी खारेज भएको न्यौपानेले बताए । राप्रपा उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छिन् । विदेशको स्थायी आवास अनुमति (पिआर) त्यागेको तीन महिना नपुगेकाले कानुनी रूपमा उम्मेदवारी दिन नपाउने भएपछि उनले फिर्ता लिएकी हुन् । यहाँ नौजना महिलाको उम्मेदवारी परेको छ । ६५ वर्षमाथिका चारजना उम्मेदवार छन् । २७ देखि ३५ वर्षसम्मका आठजनाले उम्मेदवारी दिएका छन् । 

चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारी दर्तासँगै आ–आफ्नै रणनीतिका साथ उम्मेदवारहरू मैदानमा भिडेका छन् । उनीहरू आन्तरिक भेलादेखि मतदाता भेटघाटमा व्यस्त छन् । आन्तरिक तयारीपछि चुनावी प्रचार कमान्डर तय गरी प्रचारलाई व्यापकता दिने तयारीमा प्रमुख दल छन् । 

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे चुनाव प्रचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन निर्वाचन परिचालन कमिटीदेखि निर्देशक कमिटीसम्म बनाउने गरी तयारीमा जुटेको बताए । रुपन्देहीका सबै क्षेत्रमा त्यस किसिमका कमिटी बन्ने उनको भनाइ छ । 

कांग्रेसले चुनाव प्रचारलाई व्यापकता दिन विभिन्न समिति गठनको तयारी गरेको छ । पार्टी केन्द्रीय सदस्य रामबहादुर कार्कीले कांग्रेस एकढिक्का भएर अगाडि बढेको भन्दै जित निकाल्ने दाबी गरे । कांग्रेस कार्यकर्ताले अघिल्लोपटक पार्टीको चुनाव चिह्नमा मत राख्न नपाएको, तर यसपटक आफ्नै चिह्नमा मत राख्न पाउने भएपछि निकै उत्साहका साथ अगाडि बढेको उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष डा. बुद्धि शर्मा चुनाव प्रचार–प्रसारलाई तीव्रता दिने क्रममा जिल्लाको विस्तारित बैठक सम्पन्न भएको बताउँछन् । छिट्टै क्षेत्रीय बैठक बस्ने र आवश्यक रणनीति बनाएर अगाडि बढ्ने उनले बताए । कार्यकर्तामा निकै उत्साह देखिएको भन्दै उनले चुनाव जित्ने गरी उच्च मनोबलका साथ अगाडि बढेको शर्माले बताए । 

नेकपा रुपन्देही संयोजक नारायण जिसी रुपन्देही २ मा जित निकाल्ने गरी पार्टी चुनावमा होमिएको बताउँछन् । चुनाव प्रचार–प्रसारका लागि पार्टीले उनलाई कमान्डर तोकेको छ । विभिन्न समिति तथा उपसमिति बनाएर चुनावी अभियानलाई तीव्रता दिने गरी अगाडि बढाइएको उनले बताए । 

यस्तो छ गत निर्वाचनको परिणाम 
रुपन्देही २ मा गत निर्वाचनमा एमालेका पौडेलले २७ हजार १६५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका गणेश पौडेलले २५ हजार ७९५ मत प्राप्त गरेका थिए । कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरले २२ हजार २७ मत प्राप्त गरेका थिए । रुपन्देही २ मा ८० हजार ४०५ मत खसेकोमा बदर मतको संख्या दुई हजार ८९७ थियो । 

एमाले नेता विष्णु पौडेलले ०७४ को निर्वाचना २२ हजार ६३ मतअन्तरले विजय हासिल गरेकोमा सो मतान्तरको तुलनामा गत निर्वाचनमा मतान्तर निकै कम रहेको थियो । पौडेलले ४४ हजार नौ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मतमा चित्त बुझाउनुपरेको थियो । विगतमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत भारी मतअन्तरले पराजित गरेका पौडेलले यसपटक जित निकालेमा यस क्षेत्रबाट उनको लगातार पाँचौँ जित हुनेछ । रुपन्देही २ बाट पौडेलले ०६४ यताका निर्वाचन जित्दै आएका छन् । 

रुपन्देही २ को निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिका र दुईवटा अन्य नगरपालिकाका गरी २३ वटा वडा पर्दछन् । बुटवलका १ देखि १३ सम्म, तिलोत्तमा नगरपालिकाका १ देखि ६ र सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका पर्दछन् । ७० हजार ७९३ महिला र ६४ हजार २५४ पुरुष तथा तीन अन्य गरी यस क्षेत्रमा एक लाख ३५ हजार ५० मतदाता छन् । यस क्षेत्रमा सबैभन्दा धेरै मतदाता रहेको वडा बुटवलको ११ नम्वर हो, जहाँ १७ हजार ९४३ मतदाता छन् । कम मतदाता रहेको वडामा बुटवलकै ५ नम्बर वडा पर्दछ । जहाँ जम्मा एक हजार ८२५ मतदाता छन् । यो क्षेत्रमा २४ मतदानस्थलमा १३८ मतदान केन्द्र तय गरिएको छ । 

सुझावित समाचार