निर्वाचन सुरक्षा : विभिन्न जिल्लामा एसएसपी र एसपी खटाउने तयारी

शुक्रबार, १६ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचनको समयमा प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा अनुगमनका लागि उच्च अधिकारीहरू खटाउने तयारी गरेको छ । तराईका चार जिल्लामा एसएसपी खटाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । झापा, सर्लाही, चितवन र रूपन्देहीमा एसएसपी खटाउन लागिएको छ । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बिच तीव्र प्रतिस्पर्धा रहेकाले सोही क्षेत्रलाई सुरक्षाका दृष्टिकोणले सबैभन्दा संवेदनशील मानिएको छ ।

सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाका अमेरश सिंहबिच टक्कर बढेको छ । सर्लाहीमै पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा छन् । त्यस्तै, चितवनमा रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् । त्यस्तै, रूपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू मैदानमा छन् । केही एसएसपीलाई दुई–तीन जिल्ला हेर्ने गरी खटाउन लागिएको छ । पहाडका पनि केही संवेदनशील जिल्लाहरूमा एसएसपी र एसपीलाई चुनावलक्षित गरी खटाउने तयारी भइरहेको छ ।

प्रहरी प्रवक्ता अविनारायण काफ्ले प्रहरी प्रधान कार्यालयलगायत निकायमा कार्यरत कर्मचारीलाई निर्वाचनका लागि विभिन्न जिल्लामा खटाउने तयारी भइरहेको बताउँछन् । उपत्यकाबाट करिब १२ हजार प्रहरीलाई उपत्यकाबाहिरका जिल्लामा खटाउन लागिएको छ । निर्वाचनमा ७५ हजार ४९७ प्रहरी परिचालन हुँदै छन् । त्यस्तै, नेपाल प्रहरीमातहत एक लाख ३८ हजार ९८० निर्वाचन प्रहरी पनि खटाउन लागिएको छ । 

सुझावित समाचार