पर्याप्त स्रोत–साधन नभएपछि नेपाल प्रहरी नेपाली सेनाको हतियार लिएर निर्वाचनमा खटिने भएको छ । नेपाल प्रहरीले करिब तीन हजार साना हतियार (पेस्तोल) उपलब्ध गराइदिन गृह मन्त्रालय हुँदै नेपाली सेनालाई पत्राचार गरेको हो ।
हरेक मतदानस्थलमा साना हतियारसहित प्रहरी खटाउने एकीकृत सुरक्षा योजनामा उल्लेख छ । त्यसअनुसार पर्याप्त हतियार नभएपछि सेनासँग सापट लिन लागिएको गृह मन्त्रालयले जनाएको छ । अघिल्लो निर्वाचनमा पनि नेपाल प्रहरीले सेनाकै हतियार प्रयोग गरेको थियो ।
बिचौलियाको चलखेलका कारण वर्षाैँदेखि नेपाल प्रहरीमा हतियार खरिद रोकिँदै आएको छ । जसकारण प्रहरीले समस्या झेल्दै आएको छ । जेन–जी आन्दोलनमा प्रहरीका केही हतियार लुटिएकाले पनि यसपटक प्रहरी अझै समस्यामा छ । अभावका कारण ठुलो संख्यामा सेनासँग हतियार माग गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
२१ फागुनमा हुन लागेको निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल तय भइसकेको छ । हरेक मतदानस्थलमा कनिष्ठ प्रहरी अधिकृत (असइ, सइ र वरिष्ठ सइ)को कमान्डमा प्रहरी खटिनेछन् । सुरक्षा मापदण्डमा उनीहरूलाई हतियारसहित खटाउनुपर्ने उल्लेख छ । मतदानस्थलको संख्याअनुसार हतियार अपुग भएपछि सेनासँग लिन लागिएको हो ।
निर्वाचनमा सेना र सशस्त्र प्रहरीसमेत खटिने भए पनि मतदानस्थलभित्र नेपाल प्रहरी र निर्वाचन प्रहरी (म्यादी) मात्र खटिन पाउनेछन् । सुरक्षासम्बन्धी कुनै समस्या आएमा मात्र सेना र सशस्त्र सहयोगका लागि खटिने सुरक्षा योजना छ ।
सेना र सशस्त्रले मोबाइल र स्ट्राइकिङ टोली खटाउनेछ । दुवै निकायले हरेक निर्वाचन क्षेत्रमा बेस बनाएर खटिने तयारी गरेका छन् । सशस्त्रले निर्वाचनलक्षित गस्ती सुरु गरिसकेको छ भने सेना औपचारिक रूपमा २१ माघदेखि खटिनेछ ।
विभिन्न जिल्लामा एसएसपी र एसपी खटाउने तयारी
निर्वाचनको समयमा प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा अनुगमनका लागि उच्च अधिकारीहरू खटाउने तयारी गरेको छ । तराईका चार जिल्लामा एसएसपी खटाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । झापा, सर्लाही, चितवन र रूपन्देहीमा एसएसपी खटाउन लागिएको छ । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बिच तीव्र प्रतिस्पर्धा रहेकाले सोही क्षेत्रलाई सुरक्षाका दृष्टिकोणले सबैभन्दा संवेदनशील मानिएको छ ।
सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाका अमेरश सिंहबिच टक्कर बढेको छ । सर्लाहीमै पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा छन् । त्यस्तै, चितवनमा रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् । त्यस्तै, रूपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू मैदानमा छन् । केही एसएसपीलाई दुई–तीन जिल्ला हेर्ने गरी खटाउन लागिएको छ । पहाडका पनि केही संवेदनशील जिल्लाहरूमा एसएसपी र एसपीलाई चुनावलक्षित गरी खटाउने तयारी भइरहेको छ ।
प्रहरी प्रवक्ता अविनारायण काफ्ले प्रहरी प्रधान कार्यालयलगायत निकायमा कार्यरत कर्मचारीलाई निर्वाचनका लागि विभिन्न जिल्लामा खटाउने तयारी भइरहेको बताउँछन् । उपत्यकाबाट करिब १२ हजार प्रहरीलाई उपत्यकाबाहिरका जिल्लामा खटाउन लागिएको छ । निर्वाचनमा ७५ हजार ४९७ प्रहरी परिचालन हुँदै छन् । त्यस्तै, नेपाल प्रहरीमातहत एक लाख ३८ हजार ९८० निर्वाचन प्रहरी पनि खटाउन लागिएको छ ।